logo

bar

सातामा ३० अंक बढ्यो नेप्से

नयाँ पत्रिका काठमाडाैँ, २५ चैत | चैत २५, २०७४

गत साता नेप्से परिसूचक ३० अंक बढेको छ । पाँच कारोबार दिन नै खुला रहेको बजार, दुई कारोबार दिन नेप्से ओरालो लागेको थियो भने तीन कारोबार दिन बढेको थियो । अर्थमन्त्री तथा गभर्नरले स्टक ब्रोकर तथा लगानीकर्ताहरूसँग भेट गरी नेप्सेको नीतिगत र संस्थागत सुधारका लागि कार्य गर्ने समाचारले लगानीकर्ताहरूको मनोबल बढेको छ ।

अर्थमन्त्रीले सेयर मूल्य वृद्धिका लागि नभई नेप्सेको संस्थागत सुधारका लागि कार्य गर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपश्चात् लगानीकर्ताहरू उत्साहित भएका छन् । यसका साथै लगानीयोग्य पुँजी अभावको समस्या कम हुनुले बजार सकारात्मक दिशातर्फ बढ्न टेवा पुगेको देखिन्छ । फागुन महिनामा वाणिज्य बैंकहरूले कर्जाको तुलनामा दोब्बर निक्षेप संकलन गर्न सफल भएका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले विदेशी बैंकबाट ऋण लिन सक्ने व्यवस्थाले पनि लगानीयोग्य पुँजी अभावको समस्या केही समाधान हुने देखिन्छ । गत साताको अन्तिम दुई कारोबार दिन भने नेप्से २० अंकभन्दा बढी बढेको थियो ।

बजार सकारात्मक हुँदा लगानीकर्ताको सम्पत्ति पनि बढेर १४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेको १४ दिने आरएसआई गत साताको अन्तिम कारोबार दिन ४६ दशमलव ८२ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

गत साता १ सय ८१ कम्पनीको २७ हजार ६ सय ३३ पटकको कारोबारमा १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार रकम गत साताको तुलनामा १० दशमलव १७ प्रतिशत कम हो । अघिल्लो साता १ सय ८० कम्पनीको २७ हजार ५ सय २२ पटकको कारोबारमा १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँबराबरको ५८ लाख ९५ हजार ३० कित्ता खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार २ सय २० दशमलव २९ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार २ सय ५० दशमलव ३९ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा ५४ दशमलव १५ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११ दशमलव २ अंक बढेर २ सय ६६ दशमलव ८९ बिन्दुमा पुगेको छ ।

गत साता ५ कम्पनीहरूले कुल २ करोड ३७ लाख ९९ हजार ३ सय ५४ दशमलव ४३ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ४१ हजार ४ सय ७७ कित्ता, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ करोड ११ लाख १५ हजार ४ सय ६७ कित्ता, ज्योति विकास बैंक लिमिटेडले २३ लाख २ हजार ८ सय ७२ दशमलव ४३ कित्ता र सहयोगी विकास बैंक लिमिटेडले ८ लाख ४९ हजार ४ सय ७७ कित्ता बोनस सेयर सूचीकृत गरेका छन् ।

नेपाल बंगलादेश बैंक लिमिटेडले भने यस दिन ८६ लाख ८८ हजार ५ सय ७ कित्ता बोनस र १ हजार ५ सय ५४ कित्ता हकप्रद सेयर सूचीकृत गरेको छ

गत साता कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । बिमा समूहको परिसूचक सो साता सर्वाधिक ३ सय ८४ दशमलव ९९ अंक बढेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक १ सय ३ दशमलव ५५ अंक, जलविद्युत् समूहको ७९ दशमलव २० अंक, विकास बैंक समूहको ७८ दशमलव ३८ अंक, होटेल समूहको ५६ दशमलव ९३ अंक, वाणिज्य बैंक समूहको ३९ दशमलव ७३ अंक, वित्त समूहको १४ दशमलव ४० अंक र व्यापार समूहको २ दशमलव ७० अंक बढेको छ ।

गत साता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अगाडि रहेको छ । कारोबार संख्याका आधारमा राधी विद्युत् कम्पनी लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा जनता बैंक नेपाल अगाडि रहेको छ । सो साता नबिल बैंकको ७ करोड ६७ लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने जनता बैंकको १ लाख ५० हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । सो साता राधीको २ हजार १ सय १५ पटक सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया