logo

bar

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालय !

नरजन तामाङ हुम्ला | चैत २४, २०७४

सरकारले यस आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा लिएर कामकारबाही अगाडि बढाउने बताइरहेको छ । ५ कक्षासम्मको सादा पुस्तकलार्इ विस्थापित गरी रंगिन पुस्तक हुने पनि बताइसकेको छ । तर, आवश्यक दरबन्दीकाे अभावमा गुज्रिरहेका छन्- हुम्लाका अधिकांश सरकारी विद्यालय ।

हुम्लामा ५५ वटा माध्यामिक तह, ५४ वटा निम्न माध्यमिक तह र ९० वटा प्राथामिक तहका विद्यालयहरु छन् । माध्यमिक अन्तर्गत एक विद्यालय बराबर ५ जना दरबन्दी हुनुपर्ने शिक्षा निमावलीमा व्यवस्था छ ।

तर, हुम्लाका अधिकांश शिक्षण संस्थामा सो नियम लागु नभइ कागजमै सिमित भएकाे देखिन्छ । हाल जिल्लाभर सञ्चालित माविमा १ सय २५ जना शिक्षक आवश्यक पर्छ । जहाँ २४ जना दरबन्दीका र १७ जना राहत शिक्षकका शिक्षक छन् । मावि तहमा मात्रै तत्काल ४१ जना दरबन्दीका शिक्षकको अपुग देखिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत विष्णुबहादुर शाहीले बताए । निम्नमाध्यामिक विद्यालयमा १ सय ६३ शिक्षक आवश्यक पर्छ तर, ७५ जना दरवन्दी र १७ जना राहतका शिक्षक छन् ।

त्यसैगरी, ९० वटा प्राथामिक तहको कक्षा सञ्चालन हुने विद्यालयसहित निम्नमाध्यामिक र माध्यमिक विद्यालयसँगै जोडिएको प्रावि तहका विद्यलायको कुल संख्या १ सय ३८ छ । प्राथमिक तहमा ४ सय १४ दरवन्दी आवश्यक रहेकोमा ३ सय १७ जना शिक्षकको भरमा थामिएको छ । प्रावि तहमा ५४ दरबन्दी आवश्यक रहेको शाखा अधिकृत शाहीले बताए । उनका अनुसार हाल प्रावि तहमा ३ सय १९ दरबन्दी र ४१ जना राहत शिक्षक छन् । अन्य प्रथामिक विद्यालयमा बाल विकास केन्द्रका सहजकर्ताले विद्यालय सञ्चालन गर्ने गरेको उनले बताए ।

१३ प्रथामिक तह बाल विकासको भरमा

जिल्लाको १३ वटा प्राथमिक तहका सामुदायिक विद्यालयहरु दरबन्दी विनै बाल विकास शिक्षकको भरमा सञ्चालन हुँदै आएको पाइएको छ । विद्यालयमा विद्यार्थीहरुको संख्या पुगेपछि जिल्ला शिक्षा कार्यालयले दरबन्दी विनै विद्यालय सञ्चालनको अनुमति दिएको थियो । विद्यालय बाल विकास शिक्षकको भरमा विद्यालय सञ्चालन हुँदै आएको शाखा अधिकृत शाहीले स्विकारेका छन् ।

शैक्षिक योग्याता विनाकै शिक्षक

शैक्षिक योग्यता विनाकै शिक्षकहरुले बाल विकास केन्द्रको सहजकर्ताको काम गर्ने गरेका छन् । कक्षा ८ पास गरेकाले पनि बाल विकास केन्द्रको सहजकर्ताका रुपमा काम गदै आएका पाइएको छ ।
जिल्लामा शैक्षिक योग्यता विनाकै शिक्षकहरुले पढाउन थालेपछि विद्यालयमा समस्या हुने गरेको हो ।

सिमकोट गाउँपालिकाको दोभान, कालाशिल्ता प्रावि कक्षा ४ सम्म खार्पुनाथ गाउँपालिका वडा नम्बर २ को सरस्वती प्रावि कक्षा ४ सर्केगार्ड गाउँपालिका वडा २ सुर्योदय र ईश्वर प्रावि ३ कक्षासम्म बाल विकास केन्द्रको सहजकर्ताका भरमा विद्यालय सञ्चालन हुँदै आएको शाहीले बताए । चंखेली गाँउपालिकाको शान्ति, महादेव र विद्या ज्योति प्रावि बिना दरवन्दी वाल बिकासका सहजकर्ताद्धारा कक्षा सञ्चालित छ ।

त्यस्तै अदानुचुुली गाँउपालिकाको पागर पानी प्रावि र ताँजाकोट गाँउपालिकाको जनता, महादेव, कैलाश र जगतमाला प्राविमा पनि ३ कक्षासम्मको पढाई भइरहेको छ । त्यहाँका विद्यालय पनि शिक्षक दरबन्दी बिनानै अनुमति दिइएको छ ।

तपाईको प्रतिक्रिया