logo

bar

एक करोडको सामुदायिक भवन बनाउन महायज्ञ

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापा, २४ चैत | चैत २४, २०७४

हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित ऐतिहासिक सिंहवाहिनी देवीको मन्दिरमा श्रीमद् मत्स्य महापुराण धनधान्याञ्चल विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । मन्दिरमा ५ देखि १३ वैशाखसम्म महायज्ञ आयोजना गरिने भएको हो ।

अनाथ, असहाय र बृद्धबृद्धाको सेवा–सम्मान गर्न र विभिन्न कार्यक्रम सम्पन्न गर्ने बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्नका लागि सहयोग जुटाउने उद्देश्यले पुराण आयोजना गरिएको हो । सिंहवाहिनी देवीको मन्दिर परिषरलाई सुन्दर तथा फराकिलो बनाएर अन्य संरचना तयार गर्दै पुष्प बाटिका, धार्मिक आश्रम, जलाशय लगायत निर्माण गर्ने पुराण आयोजक समितिको लक्ष्य छ । पुराणबाट संकलित रकमले जग्गा खरिद गर्नेसमेत आयोजक समितिले जनाएको छ ।

महायज्ञ सञ्चालन समितिका अध्यक्ष तेजप्रसाद रेग्मीका अनुसार पुराणको मुख्य उद्देश्य क्षेत्रफल बिस्तार गरी भवन बनाउने नै हो । ‘पुराणपछि न्यूनतम १ कट्ठा जग्गा खरिद गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसपछि हामी १ करोड रुपैयाँको लागतमा भवन बनाउन सुरु गर्छौं, भवन निर्माण सम्पन्न हुन तीन वर्ष लाग्नेछ ।’

पुराणमा ५० लाख रुपैयाँ संकलन र ८ लाख रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ । खर्च कटाएर बचेको रकम मन्दिरको समितिलाई हस्तान्तरण गरिने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । सिंहवाहिनी मन्दिरलाई पर्यटन बोर्डले समेत सूचिकृत गरिसकेको छ । हाल मन्दिर ५ कट्ठा १२ धुर क्षेत्रफलमा छ । पुराणपछि भवन बनाउन रकम अपुगहुँदा स्थानीय सरकार, प्रदेश सरकार हुँदै केन्द्र सरकारसम्म पनि आफूहरु पुग्ने आयोजक समितिका अध्यक्ष रेग्मीले बताए । सिंहवाहिनी मन्दिरमा लगाइएको यो चौथो पुराण हो । यसअघि ०६३, ०६६ र ०७० सालमा पुराण आयोजना गरिएको थियो ।

यसपटकको पुराणमा युवा पण्डित अर्जुन भट्टराईले संगीतमय कथा प्रवचन तथा पण्डित प्रशान्त अधिकारीले पाठपारायण गर्ने बताइएको छ ।

रगत आउने वृक्ष

मन्दिर परिषरमा एउटा अचम्मको वृक्ष छ । दिनहुँ सयौँको संख्यामा मन्दिर आउने भक्तजन उक्त वृक्षमा पनि पूजा गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कुँवरका अनुसार उक्त वृक्षलाई कोट्याउँदा मान्छेको रगतजस्तै पदार्थ निस्किन्छ ।

 

‘खनेर जरामा हेर्दा जराभित्र पनि रातो नै भेटियो,’ उनले भने, ‘हालसम्म यस वृक्षको नाम पत्ता लाग्न सकेको छैन, विज्ञहरु बोलाएर देखाउँदा पनि नाम पत्ता लगाउन सकेनन् ।’ सिंहबाहिनी माताको दर्शनपछि मनोकांक्षा पूरा हुने विश्वासका साथ यहाँ बाहै्रमास श्रद्धालुको घुइँचो हुन्छ ।

यस्तो छ मन्दिरको इतिहास

विसं. १९९० को दशकतिर घना जंगलले ढाकिएको यो क्षेत्रमा मानव आवतजावतका लागि निकै कष्टकर थियो । कमै मान्छेले यस क्षेत्रबाट यात्रा गरे पनि अनौठा र चमत्कारिक घटनाका बारेमा वर्णन गरिएको जनश्रुति छ । पूर्णिमाको रात नाग–नागीनहरुको नृत्य तथा सहवास हुने र औँशीको रातमा मन्दिर परिसरमा झलमल्ल उज्यालो हुने स्थानीय बताउँछन् ।

विसं. २०१० सालतिर मन्दिर क्षेत्र वरपर सन्थाल जातीको बसोबास रहेको बताइएको छ । सोही समय रक्सा मुर्मुको हजुरबुबाले मन्दिर क्षेत्रको भागमा खेती गरेको स्थानीय बताउँछन् । जंगल फाँडेर राँगाले खेत जोत्ने क्रममा हलोको सियोबाट एक्कासि सिंह उत्पति भइ राँगा र मानिस दुबैलाई मारेर अलप भएको बृद्धबृद्धा बताउँछन् ।मृतकको दाहसंस्कारपछि उक्त स्थानलाई घेरा हालेर सिंहबाहिनीदेवीको पूजा अर्चना सुरु गरिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु