logo

bar

आइसिसीले भन्योः ‘धरम केसीको मनोनयन वैधानिक’

लक्ष्मण खनाल युएई, २१ चैत | चैत २१, २०७४

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)को विधान व्याख्या समितिले साउदीबाट आइसिसी सदस्यमा मनोनित धरम केसीको मनोनयन वैधानिक भएको ठहर गरेको छ ।

संघको विधान व्याख्या समितिले चैत्र १६ मा आइसिसी, मध्यपूर्व र एनसीसी साउदीलाई सो कुराको जानकारी गराउँदै पत्रचार गरेको थियो ।

आइसिसीका महासचिवमार्फत ६ जनवरी २०१८ मा धरम केसीको मनोनयन वैधानिकता भए वा नभएको निर्णय दिन समितिलाई प्राप्त पत्रको बारेमा छलफल र व्याख्यामार्फत सो निर्णय गरिएको हो ।

पत्रमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट निजलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा २ अक्टोबर २०१७ मा मनोनयन र सपथग्रहणसमेत गराइएको देखिन्छ । विधानको दफा १७.५.४ को व्यवस्थाअनुसार नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट २८ जनवरी २०१८ मा अनुमोदन भएपश्चात मात्र विधानको दफा २९.२ अनुसार यो संशोधित व्यवस्था लागू भएको देखिन्छ । २८ जनवरी २०१८ मा क्रियाशील बनेको विधान संशोधनले अक्टोवर २०१७ मा नै भइसकेका मनोनयनहरूलाई प्रभाव पार्ने न्याय संगत पनि हुँदैन । यसरी विधानको विधिवत संशोधनपूर्व नै मनोनयन भएको विषय भएकाले र यसअगाडि पनि आइसिसीको बैठकबाट हुने गरेका निर्णयहरू र सो बमोजिम भएका पत्रचारहरूलाई समेत हेर्दा श्री धरम केसीको मनोनयन वैधानिक नै रहेको पाइएकाले यो समितिको ठहर रहेको छ ।’

विधान व्याख्या समितिमा एनआरएनका पूर्वअध्यक्ष जिवा लामिछाने संयोजक तथा हेमराज शर्मा र शिव रिजाल सदस्य छन् ।

अब सो समितिको प्रतिवेदन नै निर्णयक भएको र सोहीअनुसार धरम केसीको बारेमा आएका कुराहरु स्पष्ट भएको मध्यपूर्वका उपसंयोजक गोपाल कँडेलले नयाँ पत्रिकालाई बताए ।

यसअघि एनआरएन साउदी अरेबियाको ३० मार्च २०१८ मा बसेको बैठकले आइसिसीको आठौँ विश्व सम्मेलनको समीक्षा प्रस्तावमा एनआरएन साउदी अरबका संरक्षक तथा आइसिसी सदस्य धरम केसीले पदीय जिम्मेवारी र कर्तव्य पालन गर्न नसकेको आरोप लगाउँदै पदमुक्त गर्ने निर्णय गरेको थियो ।

साथै, बैठकले आइसिसी सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको थियो ।

एनआरएन साउदीले गरेको निर्णयबारे जवाफ दिँदै मध्यपूर्व उपसंयोजक कँडेलले आइसिसीका सम्बन्धमा कारबाही गर्ने निर्णायक अधिकार एनसिसीलाई नहुने र केही समस्या आए विभिन्न विभाग वा विधानतः छानविन गरी निर्णायक हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु