logo

bar

आईसिसी सदस्य धरम केसीलाई पदमुक्त गर्न एनआरएन साउदीको सिफारिस

लक्ष्मण खनाल युएई, १७ चैत्र | चैत १७, २०७४

गैर आवासीय नेपाली संघ साउदी अरेबियाले अफ्नो तर्फबाट आईसिसी सदस्यमा मनोनित सदस्य धरम केसीलाई एनआरएन साउदीको पदीय जिम्मेवारीबाट मुक्त गर्दै आईसिसी सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको छ ।

एनआरएन साउदी अरेबियाको ३० मार्च २०१८ मा बसेको बैठकले आईसिसीको आठौँ विश्व सम्मेलनको समीक्षाबारेको प्रस्तावमा एनआरएन साउदी अरबका संरक्षक तथा आईसिसी सदस्य धरम केसीले आफ्नो गरिमामय पदीय जिम्मेवारी र कर्तव्य पालन गर्न नसकेको आरोप लगाउँदै पदमुक्त गरेको उल्लेख छ ।

नयाँ पत्रिकालाई प्राप्त निर्णय पत्रमा एनसिसी साउदी अरेबियालाई नै बदनाम हुने गरी गरिएको क्रियाकलापबाट संस्था आलोचित बनेको र थप आलोचित हुनबाट जोगाउन केसीलाई पदमुक्त गर्न सिफारिस गरिएको उल्लेख छ ।

कारबाही होइन विचाराधीन विषय हो : मध्यपूर्व
आईसिसी सदस्य धरम केसीको विषय कारबाहीको नभई विचाराधीन भएको र यसको टुंगो नलागेको मध्यपूर्व सहसंयोजक गोपाल कँडेलको भनाइ छ ।

केसीलाई पदमुक्त गरिएको विषयको जिज्ञासामा कँडेलले यो विषय आईसिसीले छिट्टै टुंगो लगाउने भन्दै आईसिसी सदस्य पद मनोनित नभई निर्वाचित भएको बताए ।

‘म दलालहरुको बाटोको ढुंगा भएँ’ : धरम केसी
यता, धरम केसीले भने आफू दलालहरुको बाटोको ढुंगा भएको बताए ।

एनआरएन साउदी अरेवियाले जिम्मेबारी मुक्त गर्न आइसिसिलाई सिफारिस गरिएको विषयमा नयाँ पत्रिकाले सोधेको जिज्ञासामा उनले वैदेशिक रोजगारीका प्रमुख मुख्य गन्तव्यहरुमा रहेका एनआरएनहरुको नेतृत्वमा म्यानपावर व्यवसायीहरु पुगेको र त्यसको अपवादको रुपमा रहेको साउदी अरेवियाको एनआरएनहरुले समेत दलालको चाकरी गर्न थालेको आरोप लगाए ।

उनले एनआरएनका हरेक बैठकमा दलाली गर्नेहरुको खुलेर पक्षपोषण गर्नेहरुले आफू बाटोको पत्थर ठानेको बताए ।

वैदेशिक रोजगारीमा रहेका पीडित कामदारहरुको न्याय, उद्दार र क्षतिपूर्तितर्फ ध्यान जानै नदिने, कानुनी प्रक्रियामा जानै नदिने र दलाली गर्नेहरुको दलाल जोगाउने रणनीतिका विरुद्ध आफू सधैँ लडिरहेकाले यस्तो षड्यन्त्र गरिएको उनले दावी गरे ।

पदमुक्त गरिएको विषयमा एनसिसीलाई नै सोध्नु भन्ने उनको उत्तर थियो ।

तपाईको प्रतिक्रिया