logo

bar

भिजिट भीषामा युएई पुगेका नेपाली युवाहरु अलपत्र

लक्ष्मण खनाल युएई, १५ चैत | चैत १५, २०७४

राम्रो जागिर र कमाईको प्रलोभनमा परि भिजिट भीषामा युएई आएका नेपाली युवाहरु अलपत्र परेका छन् । उनीहरुको खान बस्न र जागिरको व्यवस्था गर्ने जिम्मा लिएका चितवन घर भई युएईको अबुधावीमा बस्दै आइरहेका सालिकबहादुर केसी सम्पर्क बाहिर भएपछि उनीहरु अलपत्र परेका हुन् ।

दुई महिनादेखि केसीले जागिर लगाउने भन्दै अबुधावीमा उनीहरुलाई राखेका थिए । केही समयपछि उनी नै सम्पर्कबिहीन भएपछि संघसंस्था दुतावास गुहारेको कञ्चनपुर घर भएका वीरबहादुर देउवा बताउँछन् ।

देउवाका अनुसार गत जनवरी १० मा चितवनका श्याम कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेटिङ्ग मिलाएर १० जना नेपाली युवाहरु युएई पठाएका थिए । उनीहरुले भीषा, टिकट र सेटिङ्गको लागि प्रति व्यक्ति दुईलाख चालिस हजारका दरले रकम बुझाएका थिए । उनीहरुले युएईमा रहेका सालिकबहादुर केसीको आग्रहमा उक्त रकम बुझाएको बताउँछन् । उनको साथमा कञ्चनपुरकै जयबहादुर बोहरा, विरेन्द्र बोहरा, किसन गुरुङ्ग, डोटिका भिम बहादुर बोहरा, सल्यानका कमल खत्री, कृष्णप्रसाद ओली, झमन सिङ डाँगीलगायतका युवाहरु रहेका छन् ।

सालिकबहादुर केसीले मासिक २५ सय युएई दिहरामसहित खाना बस्न सुविधा भएको जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुल गरेका थिए । अहिले सालिकबहादुर केसी सम्पर्क बाहिर रहेपछि उनीहरुको खाना बस्न समेत समस्या भएको छ । उनीहरु भन्छन्,–‘दलाल भाग्यो खाना समस्या भएको छ, बस्ने कोठाको पनि दलालले भाडा तिरेको रहेनछ । अब कसो गर्ने? साथीभाई नेपाली दाजुभाइहरुसंग यता उता गरेर छाक टरेका छौँ ।’

त्यसरी भिजिट भिषामा आएकाहरु मध्य ३ जना आफैँ टिकट काटेर नेपाल फर्किएको, ३ जना जागिरमा लागेको वीरबहादुरले बताए । सालिकबहादुर २ महिनासम्म सम्पर्कमा रहेपनि उसको क्रियाकलापबाट शंका लागेपछि एनआरएन युएईलाई खबर गरेको र उक्त कुरा थाहा पाएपछि सालिकबहादुरले गाली गर्ने धम्क्याउने गरेको वीरबहादुर बताउँछन् ।

सालिकबहादुर सम्पर्क बाहिर रहेपछि उनीहरुले नेपाली दुतावास पुगेर निवेदन दिएकोे बताए । उनीहरुले नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयाललाई निवेदन दिएको र उनको निर्देशनमा श्रम काउन्सेलर भेषबहादुर कार्कीले पटक पटक सालिकबहादुरलाई सम्पर्कमा ल्याउने कोशिस गर्दा पनि सम्पर्क नभएको उनीहरु बताउँछन् । उनीहरुका अनुसार कार्कीले बिहीबार सम्मको समय दिएका छन् ।

तपाईको प्रतिक्रिया