logo

bar

जुम्लाको दुर्गम माथि ल्होर्प गाउँ छाउगोठमुक्त

मानदत्त रावल/नयाँ पत्रिका जुम्ला, ६ चैत | चैत ०६, २०७४

सहरमै महिलाले समस्या भोगिरहेका वेला जुम्लाको दुर्गम पातारासी– ५ माथि ल्होर्प गाउँलाई छाउगोठमुक्त गरिएको छ । स्थानीय बासिन्दाको पहलमा सोमबार गाउँलाई छाउगोठमुक्त गरिएको हो ।

छाउगोठमा बस्दा शारीरिक र मानसिक रूपमा कष्ट सहनुपर्ने तथा हिंसा हुने गरेका कारण छाउगोठमुक्त अभियान सञ्चालन गरिएको स्थानीय बासिन्दाले बताएका छन् । ‘आज प्रत्येक महिना सात दिन बस्नुपर्ने जेलबाट मुक्त गरिएकोजस्तो भएको छ,’ स्थानीय दीपा बुढाले भनिन् । यहाँ महिनावारी भएका महिला सात दिन छाउगोठमा बस्ने गरेका छन् । मुक्त अभियानकी संयोजकसमेत रहेकी बुढाले भनिन्, ‘अब घरभित्रै बस्छौँ ।’

पातारासी गाउँपालिका र सर्वोदय नेपाल, जुम्लाको समन्वयमा स्थानीय बासिन्दाले छाउगोठ मुक्त गाउँ घोषणा गरेका हुन् । यो अभियानलाई गाउँपालिकाभरी नै संचालन गरिने प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।

नेतृत्व गर्ने दम्पत्ती सम्मानित
माथि ल्होर्पलाई छाउगोठ मुक्त बनाउने अभियानमा नेतृत्व गरेका दुई जोडी दम्पत्ती सम्मानित भएका छन् । स्थानीय प्रकाश र सुष्मा बोहरा तथा दिपक र पुष्पा बुढालाई सम्मानित गरिएको हो । दिपक मष्टोका धामी हुन् । उनले अभियानलाई सघाएपछि छाउगोठ मुक्त बनाउन सजिलो भएको जनाएको छ । उनीहरुलाई वडा अध्यक्ष डिलबहादुर बुढाले ढाँका टोपी र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु