logo

bar

प्रदेश ५ मा तीन मन्त्री थपिए

विष्णु घिमिरे/नयाँ पत्रिका बुटवल, ६ चैत | चैत ०६, २०७४

एमालेबाट दुई र माओवादीबाट एक थपिए, अझै भएन पूर्ण –

प्रदेश ५ को सरकारमा तीन मन्त्री थपिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार विस्तार गरेको मन्त्रिपरिषद्मा एमालेबाट दुई र माओवादीबाट एक मन्त्री थपिएका हुन् । तीन मन्त्री थपिएसँगै सरकार गठन भएको एक महिनापछि ६ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । एमालेका तर्फबाट लीला गिरी तथा आरती पौडेल र माओवादीका तर्फबाट सुदर्शन बराल सरकारमा सहभागी भएका हुन् ।

कसले के पाए जिम्मेवारी ?
विस्तारित मन्त्रिपरिषद्मा एमालेका लीला गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकोे जिम्मेवारी दिइएको छ । एमालेकै सांसद आरती पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीबाट सरकारमा सहभागी भएका सुदर्शन बराललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । गिरी रुपन्देही, पौडेल बाँके र बराल गुल्मीका हुन् । उनीहरूले सोमबार नै प्रदेश प्रमुख उमाकान्त झाबाट शपथ लिएका छन् ।

फोरम पनि सरकारमा सहभागी हुने सम्भावना
प्रदेश–५ मा ३ फागुनमा तीन सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कुलप्रसाद केसी र भौतिक पूर्वाधार विकासमन्त्रीमा बैजनाथ चौधरीको मन्त्रिपरिषद् बनेको थियो । सरकार गठन भएको एकमहिनापछि सरकार विस्तार भए पनि अझै पूर्णता पाएको छैन । केन्द्रमा संघीय समाजवादी फोरम सरकारमा सहभागी भएमा प्रदेश–५ मा पनि उसको सहभागिता हुने सम्भावना छ । फोरमले दुईजना मन्त्रीको दाबी गरेको र एक मन्त्रालयसम्म दिएर मिलाउने सम्भावना रहेको एक नेताले बताए ।

आकांक्षी धेरै, मन्त्री थपिने
६ सदस्यीय मन्त्रिमण्डल गठन भए पनि सरकारले अझै पूर्णता पाएको छैन । एमाले र माओवादीबाट मन्त्रीका आकांक्षी धेरै रहेका कारण नेता व्यवस्थापन गर्न पनि मन्त्रिमण्डल बढाउने सम्भावना छ । फोरमको सहभागिताको सम्भावना रहेकाले फेरि विस्तार गरिँदा केही आकांक्षी समेट्ने गरी विस्तार गरिने भएको छ । एमालेबाट कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमल श्रेष्ठ, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेलगायत आकांक्षी छन् । त्यस्तै, माओवादीबाट रुपन्देहीका दधिराम न्यौपाने, पाल्पाका तुलाराम घर्तीमगर, दाङकी दामा शर्मा, प्युठानका कृष्णध्वज खड्कालगायत आकांक्षी छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका मन्त्रालयको ढाँचा नै ठीक नभएको र केही परिमार्जन हुन सक्ने बताइसकेका छन् । उनका अनुसार ६ वटा ढाँचा वैज्ञानिक नदेखिएको र आवश्यकताका हिसाबले व्यवस्थापन गर्न सकिने बताएका थिए । उनले प्रदेश–५ मा सहरी विकास तथा पर्यटन मन्त्रालयको पनि आवश्यकता पर्न सक्ने बताए ।

यस्ता छन् नयाँ मन्त्रीका प्रथम निर्णय

उद्योग मन्त्री
प्रदेश–५ सोमबार थपिएका मन्त्रीहरूले पदभार ग्रहणसँगै विभिन्न निर्णय गरेका छन् । उद्योग, पर्यटन, वन, तथा वातावरणमन्त्री लीला गिरीले औद्योगीकरण र पर्यटन प्रवद्र्धनसँगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गरेका छन् । मन्त्री गिरीले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवं स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरी कार्यान्वयन कार्य योजना बनाउने निर्णय गरेका छन् ।

सामाजिक विकास
सामाजिक विकास मन्त्री सुदर्शन बरालले मन्त्रालयका काम व्यवस्थित गर्न तीनवटा महाशाखा निर्माण गर्ने निर्णय गरेका छन् । पदवहालीपछि मन्त्री बरालले अझै पनि जनतामा स्वास्थ्यको पहुँच नपुगेले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने बताए । उनले शिक्षा, रोजगारलाई पनि प्राथमिकता दिएर काम गर्ने प्रतिक्रिया दिएका छन् ।

भूमि व्यवस्था
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेकी आरती पौडेलले मन्त्रालयका कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाउने निर्णय गरेकी छिन् । पदभार ग्रहणपछि नयाँ पत्रिकासँग कुरा गर्दै उनले मन्त्रालयअन्तर्गतका विभिन्न विभाग समेटिने गरी संयन्त्र बनाउने निर्णयमा हस्ताक्षर गरेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु