logo

bar

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा पोखरेल

नयाँ पत्रिका बुटवल, ६ चैत | चैत ०६, २०७४

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल चयन भएका छन् । चुनावी प्रक्रियामा गए पनि पटक–पटकको छलफलपछि मतदान सुरु हुनुअघि सहमतिमै पोखरेल चयन भएका हुन् ।

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल

कांग्रेस नेता बालकृष्ण खाणको उपस्थितिमा भएको छलफलपछि पोखरेललाई दलको नेता चयन गरिएको हो । नेतामा चयन भएपछि पोखरेलले प्रदेशमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रदेशको समग्र विकासमा कांग्रेसले प्राथमिकता दिने उनले बताए । सरकारका राम्रा कामको समर्थन एवं नराम्रा कामको आलोचना र खबरदारी गर्ने पोखरेलले बताए ।

आकांक्षी धेरै हुँदा सकस
दलको नेता बन्न कांग्रेसमा धेरै आकांक्षी भएकाले चयनमा धेरै कठिन भएको थियो । गत ४ र ५ फागुनमा दुई दिनसम्मको छलफलमा झन्डै आधा सांसदहरू संसदीय दलको नेता बन्न चाहेपछि सहमति जुटाउन निकै कठिन भएको थियो । सहमति गर्न कठिन भएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । डाक्टर बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।

संस्थापन पक्षका धेरै आकांक्षीले उम्मेदवारी दर्ता गर्नु र मिलाउन कांग्रेस नेता बालकृष्ण खाणलाई समेत गाह्रो भएपछि दुईपटकसम्म निर्धारण गरिएको निर्वाचनको कार्यक्रम स्थगित भएको थियो । तेस्रोपटक सोमबारलाई निर्वाचन कार्यक्रम तय गरिएकामा मतदान सुरु गर्नुभन्दा केही समयअघि सहमति जुटेको हो । कांग्रेस संसदीय दलको नेता बन्न ६ फागुनमा ५ सांसदले उम्मेदवारी दिएका थिए । संसदीय दलको बैठकमा नेता बन्न ८ सांसदले चाहना व्यक्त गरेपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।

प्रदेश ५ मा कांग्रेसका १९ सांसद छन् । सुरुमा १४ फागुनलाई तय गरेको निर्वाचन कार्यक्रम २६ फागुनलाई सारिएको थियो । तर, २६ गतेको निर्वाचन कार्यक्रम पनि अन्तिममा स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु