logo

bar

प्रदेश ४ : कार्यपालिका सदस्यहरूले मागे अध्यक्षसरह तलब

रोहितराज पराजुली/नयाँ पत्रिका कास्की ६ चैत | चैत ०६, २०७४

वडाध्यक्षबराबरको सुविधा पाउनुपर्ने माग गर्दै प्रदेश ४ का  स्थानीय तहका कार्यपालिका सदस्यले दिए सभामुखलाई ज्ञापनपत्र

प्रदेश ४ अन्तर्गतका स्थानीय तहका कार्यपालिका सदस्यहरूले वडाध्यक्षसरह सुविधा पाउनुपर्ने माग गरेका छन् । उनीहरूले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश ४ का ७ जिल्लाका कार्यपालिका सदस्यहरू सभामुख नेत्रनाथ अधिकारीलाई सेवा–सुविधा माग गरी तीनबुँदे ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले उपसभामुख सिर्जना शर्मालाई समेत सोमबार तीनबुँदे ज्ञापनपत्र बुझाएका छन् । सहभागीहरूका तर्फबाट पोखरा–लेखनाथ महानगरपालिकाका कार्यपालिका सदस्य ओम गौचनले सभामुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

माग पूरा गर्न चेतावनी
कार्यपालिका सदस्यहरूले आफूहरूले शान्तिपूर्ण रूपमा माग राखेको र त्यसलाई पूरा नगरे एकताबद्ध भएर सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएका छन् । पूरा नगरेमा सशक्त रूपमा के गर्ने भन्ने पत्रमा उल्लेख गरेका छैनन् । अहिलेको कार्यशैली र व्यवस्थाले कार्यपालिका सदस्यहरूप्रति गर्दै आएको विभेद र असमानताप्रति प्रत्येक पालिकाका र कार्यपालिकाका सदस्यहरू चुप लागेर बस्ने अवस्थासमेत नरहने ज्ञापनपत्रमा उल्लेख छ ।

यस्ता छन् तीन माग
१. प्रदेश सभाले कार्यपालिका सदस्यलाई वडाध्यक्षसरहको जिम्मेवारीसहितको सेवा–सुविधा र पारिश्रमिकको व्यवस्थाका साथै नगर सभा सदस्यहरूको पनि कार्यअनुरूपको सेवा–सुविधा दिनुपर्ने

२. नेपालको संविधानअनुसार महिला, दलित, अल्पसंख्यक र पिछडीएका वर्गको प्रतिनिधित्व गर्दै राज्यले वडा अध्यक्षसरहको समान अधिकारको व्यवस्था कार्यपालिका सदस्यहरूलाई सम्मानित गरेकोमा प्रदेश सभाले सोही अनुसार सम्बोधन गर्नुपर्ने

३. प्रदेश सभाले कार्यपालिकाका सदस्य र नगर सभा सदस्यको कार्य क्षेत्राधिकारलाई फराकिलो बनाउनुपर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु