logo

bar

एकदिवसीय राष्ट्र हुनुको सान

श्रीलोचन राजोपाध्याय काठमाडाैँ, ५ चैत | चैत ०५, २०७४

सन् २००१/०२ तिर हो, तत्कालीन नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष जयकुमार नाथ शाहले ‘अबको केही वर्षभित्र नेपाल पनि एकदिवसीय राष्ट्र हुनेछ’ भनेको । १७ वर्षअघि शाहले नेपाली खेलपत्रकारसँग एकदिवसीय मान्यताको कुरो गरिरहँदा बंगालदेशले टेस्ट मान्यता प्राप्त गरेको थियो ।

सन् २००० को प्रारम्भिक समयमा भारत, पाकिस्तान, श्रीलंकापछि क्रिकेटमा राम्रो प्रगति गरेको राष्ट्रमा बंगलादेश र नेपाललाई लिइन्थ्यो । नेपालको तुलनामा बंगलादेशले छिट्टै एकदिवसीय र टेस्ट मान्यता प्राप्त गर्न सफल भएको थियो ।

बंगलादेशपछि नेपाल मात्र एसोसिएट क्षेत्रमा राम्रो गरिरहेको राष्ट्र थियो । सम्भवतः यसै कारणले होला, शाहले ठोकुवा गरेरै नेपालले सन् २०००को पहिलो दशकमै एकदिवसीय मान्यता पाउने बताएका थिए । ‘अब एकदिवसीय पाउने पालो नेपालको हो,’ यसै वर्षको असोजमा निधन भएका क्यानका पूर्वअध्यक्ष शाह वेला–वेलामा भनिरहन्थे, ‘बंगलादेश र नेपाल एकै स्तरका हुन् ।’

नेपालले त्यसवेला न त एकदिवसीय मान्यता नै प्राप्त गर्न सक्यो न अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट नतिजा नै निकाल्न सक्यो । बरु क्रिकेटको मैदानमा भन्दा भित्रै असाध्यै नराम्रो फोहोरी खेलले स्थान लियो ।

जसले गर्दा क्यान आइसिसीको प्रतिबन्धमा छ । अर्कोतिर नेपालभन्दा धेरैपछि क्रिकेटमा पाइला राखेको अफगानिस्तानले अन्तर्राष्ट्रिय यात्रामा टेस्ट र एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्न सफल भयो ।

शाहले आफू जिउँदो हुँदासम्म नेपाल एकदिवसीय राष्ट्र भएको देख्न र सुन्न पाएनन् । उनी बितेको ६ महिनापछि नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिम बनेको छ । जिम्बावेमा चलिरहेको विश्वकप एकदिवसीय छनोटमै नेपालले त्यो दुर्लभ सफलता चुमेको हो ।

सुरुमा प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउनु र नेदरल्यान्डले हङकङलाई हराएपछि नेपाल एकदिवसीय राष्ट्र बन्न सफल भएको हो ।

यो सफलता हात पार्न नेपाललाई पूरै ३० वर्ष लाग्यो । ढिलै भए पनि नेपाल अब आइसिसीको ३४औँ एकदिवसीय मान्यताप्राप्त क्रिकेट टोली हो ।

नेपाली क्रिकेट इतिहासमै ऐतिहासिक फड्को दिलाउनमा कप्तान पारस खड्काको कुशल नेतृत्व नै मुख्य कारण हो भन्दा आपत्ति नहुन सक्छ । पारसले क्रिकेटको नेतृत्व गरेको आठ वर्षमा नेपाली क्रिकेट र समर्थकले देखेको सपना पूरा गराउन सफल भए ।

स्वयम् पारस पनि आफूहरूको एकदिवसीय राष्ट्र बन्ने सपना पूरा भएको बताउँछन् । ‘हामीले देखेको एउटा सपना पूरा भएको छ, त्यो थियो, एकदिवसीय टिम बन्नु,’ आइसिसीसँग कुराकानी गर्दै पारसले भने, ‘यस उपलब्धिलाई दीर्घकालीन बनाइराख्नुपर्छ ।’

पारसले भनेझैँ सिधा सीधा अर्थ हो, अबको चार वर्षसम्म नेपालले माथिल्लो स्तरमा प्रदर्शन गरिरहनुपर्छ । आइसिसीले नेपाललाई चार वर्ष (सन् २०२२)सम्म मात्र अस्थायी रूपमा एकदिवसीय मान्यता प्रदान गरेको छ ।

राम्रो नतिजा निकाल्न सकिएन भने नेपाल पनि हङकङ, पपुवा न्युगिनी, क्यानडा, केन्या र बर्मुडाकै स्तरमा पुग्न बेर लाग्ने छैन । क्यानडा, बर्मुडा र केन्या कुनै समय एकदिवसीय विश्वकप खेलिसकेका राष्ट्र हुन् ।

त्यसैले अब चार वर्षसम्मको अवसरलाई नेपाली क्रिकेटले चुकाउन नहुने तर्क पारस गर्छन् । अब प्रसंग जोडौँ, विश्वकप छनोटमा आठौँ स्थान प्राप्त गर्ने क्रममा नेपाली टोलीभित्रका खेलाडीको भूमिका कस्तो रह्यो ? यसलाई सरसर्ती विश्लेषण गरिएको छ ।

निखारिँदै सन्दीप लामिछाने
इन्डियन प्रिमियर लिग (आइपिएल)मा आबद्ध भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चा कमाएका सन्दीप लामिछानेले आफूलाई एकपछि अर्को खेलमा निखार्न सफल भएका छन् । अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको नजरमा विश्वकै वल्ड क्लार्क अफ स्पिनर उपाधि पाएका सन्दीपले छनोट खेलमा आफूलाई त्यही स्तरमै प्रमाणित गरे ।

विश्वमै नाम चलेका बलरबीच सन्दीपले आफू पनि के कम भनी प्रदर्शन गर्न चुकेनन् । यही प्रदर्शनकै कारण सन्दीपले प्रतियोगितामा ६ खेलबाट १३ विकेट लिन सफल भए । प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा सन्दीप अहिलेको अवस्थामा चौथो स्थानमा छन् ।

एकदिवसीय मान्यता पाउने पहिलो खुड्किलोका रूपमा रहेको पपुवा न्युगिनीविरुद्ध सन्दीपले २९ रन खर्चेर चार विकेट लिन सफल भए । सन्दीपको ब्याटबाट २७ रन आएको छ ।

अलराउन्डर सोमपाल कामी
नामिबियादेखि जिम्बावेसम्मको यात्रामा सोमपाल कामीले आफूलाई एक भरपर्दो अलराउन्डरका रूपमा प्रस्तुत गरेका छन् । प्रत्येक खेलमा सोमपालको ब्याटिङमा चमकता आएको देखिन्छ । छनोट खेलमा सोमपालले ब्याटिङ र बलिङमा उत्तिकै योगदान दिएका छन् ।

६ खेलमा उनले १ सय १२ रन बटुले । यसै प्रदर्शनका आधारमा सोमपाल सर्वाधिक रन बनाउनेको सूचीमा ३० भित्र अटाएका छन् । १ सय ७३ बल सामना गरेका सोमपालले ६४.७३ को स्ट्राइकमा ब्याटिङ गरे । त्यस क्रममा ११ चौका र एक छक्का पनि प्रहार गरे ।

सोमपालले यसपटकको यात्रामा नेपाललाई सुरुवाती विकेटको सफलता दिलाउन अगाडि नै देखिए । उनले ६ खेलमा ४.६० को इकोनोमीमा ८ विकेट लिए । नेदरल्यान्डसँगको सातौँ स्थानका लागि भएको खेलमा उनले २४ रन खर्चेर चार विकेट लिनुका साथै ब्याटबाट ३६ रनसमेत बटुले ।

एक्सपोज हुँदै रोहितकुमार पौडेल
नामिबियामा सम्पन्न डिभिजन–२ बाट मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले डेब्यु गर्ने अवसर पाए । रोहितले यस मौकालाई छुटाएका छैनन् । विश्वकप छनोट यात्रासम्म पनि रोहितले शीर्ष तथा मध्यक्रम चुकेको अवस्थामा योगदान दिए ।

समूह बीको अन्तिम तथा चौथो खेलमा रोहितले हङकङविरुद्ध ४८ रनको इनिङले नेपाल आज यो अवस्थामा पुगेको हो । ६ खेलमा १ सय ८१ बल सामना गरेका रोहितले ९७ रन बनाएका छन् ।

मध्यक्रममा आरिफ सेख
डिभिजन–२मा जस्तै आरिफले विश्वकप छनोटमा जस्तो मध्यक्रम भूमिका हुनुपर्ने थियो, त्यसैलाई अनुसरण गरेका छन् । साझेदारीमा र टिमको स्कोर अगाडि बढाउनमा उनले विशेष योगदान दिएका छन् ।

६ खेलमा ६३.५२ को औसतमा ब्याटिङ गरेका अरिफले समग्रमा १ सय ८ रन जोडे । टेस्ट मान्यताप्राप्त जिम्बावेविरुद्ध पहिलो खेलमै उनले ५० रनको अर्धशतकीय इनिङ खेल्दै नेपाललाई सम्मानजनक योगफल पु-याए ।

सदावहार पारस खड्का
अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीबाट एकैनासको प्रदर्शन गर्ने व्यक्ति भनेकै कप्तान पारस खड्का हुन् । ब्याटिङमा खराब प्रदर्शन हुँदा बलिङमा प्रेरणादायी प्रदर्शन पारस गर्छन् । नेपालको सफलतामा उनले आफूलाई कुनै न कुनै भूमिकामा सिद्ध गर्छन् । साँचो अर्थमा यसपटकको विश्कप छनोटको पहिलो तीन खेलसम्म पारसले नै ब्याटिङको कमान्ड सम्हाले ।

स्कटल्यान्ड र अफगानिस्तानविरुद्ध लगातार अर्धशतकीय इनिङ खेल्दै उनले आफूलाई अन्य ब्याट्सम्यानलाई प्रेरणाको स्रोत बनाए । यही असाधारण प्रदर्शनका कारण नै पारस आइसिसीको ड्रिम टिमको ११ खेलाडीमा अटाए ।

प्रतियोगितामा पारसले कुल ६ खेल खेल्दै २ सय ३१ रन बनाएका छन् । समग्रमा २ सय ६३ बल सामना गरेका उनले ३४ चौका र दुई छक्का प्रहार गर्न सफल भए । छनोटमा पारसले ८७.८३ को औसतमा ब्याटिङ गरेका थिए ।

भरपर्दा दीपेन्द्रसिंह ऐरी
जिम्बावेको भूमिमा ऐतिहासिक सफलता चुम्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीको भूमिका पनि महत्वपूर्ण रह्यो । यसपटक उनले आफूलाई एक राम्रा अलराउन्डर खेलाडीका रूपमा प्रस्तुत गरेका छन् ।

टिममा ब्याटिङ र बलिङमा एकनास प्रदर्शन गर्ने खेलाडीमा उनी पनि पर्छन् । ब्याटिङमा उनले ६ खेलमा ७०.७९ को औसतमा १ सय ४३ रन जोडे । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी २५औँ स्थानमा छन् ।

यता, बलिङमा पाँच इनिङमा ४.३० को औसतमा ७ विकेट लिए । पपुवा न्युगिनीविरुद्धको प्लेअफमा उनले अर्धशतक बनाउनुका साथै चार विकेट लिएका थिए ।

असफल ओपनर ज्ञानेन्द्र र अनिल
छनोट प्रतियोगितामा एउटै पक्ष नराम्रो रह्यो । नेपालका ओपनर पूरै फेल भए । मुख्य प्रशिक्षक जगत टमाटाले ज्ञानेन्द्र मल्ल र अनिलकुमार शाह असफल हुँदाहुँदै पनि उनीहरूलाई निरन्तर ओपनिङ जोडीकै रूपमा खेलाए ।

जिम्बावेविरुद्ध ३२ रन बनाउनुबाहेक ज्ञानेन्द्रले अन्य खेलमा सम्झनलायक प्रदर्शन गर्न सकेनन् । हङकङसँगको खेलमा अनिलकुमारले सर्वाधिक २६ रन बनाए । अन्य खेलमा उनले दोहोरो अंक पनि पार गरेनन् ।

तपाईको प्रतिक्रिया