‘किरात प्रदेश’ माग्नेलार्इ प्रचण्डले भने-साझा नाम खाेज्नु ! - Naya Patrika
eNaya Patrika
  • ePaper

‘किरात प्रदेश’ माग्नेलार्इ प्रचण्डले भने-साझा नाम खाेज्नु !

प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने माग उठेको छ । काठमाडाैँस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजक किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक किरात राई संघले वाम गठबन्धनका प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूलाई बधाई दिने कार्यक्रममा सो विषय उठान भएको हो । आयोजकले नै कार्यक्रमको मुख्य उद्धेश्य प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नु रहेको बताएको थियो ।

सोही कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश ६ ले जसरी सर्वसहमति कायम गरी नामाकरण गर्न अाग्रह गरे ।  उनले इतिहास , संस्कृति, भूगोल, जातिय बनोट आदीलाई ठीक ढङ्गले प्रतिनिधित्व गर्ने गरी साझा नाम खोज्नु पर्ने बताए । प्रचण्डले प्रदेशको नामाकरणका सवालमा जनताको भावना र इतिहासलाई विशेष जोड दिइने पनि स्पष्ट पारे ।

प्रचण्डले प्रदेशलाई अप्ठ्यारो परेको बेला केन्द्र सहजीरकणको भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले राजनीतिक, आर्थिक, सांस्कृतक ऐतिहासीकरुपले धनी मानिएको प्रदेश १ बाट राष्ट्रले निकै ठूलो अपेक्षा राखेको पनि बताए । प्रचण्डले छेउमै रहेका मुख्यमन्त्री शेरधन राईलगायतसँग देश र जनताको अपेक्षाअनुसार काम गर्न पनि आग्रह गरे । पहिलो र दोस्रो संविधानसभाबाट संविधान निर्माण गर्ने बेला प्रदेशको नामांकन, राजधानीलगायतका विषयमा सहमति कायम हुन नसकेकाले जनतालाई नै छाडेको प्रष्टिकरण दिए ।

फरक प्रसंगमा प्रचण्डले भोलि या पर्सीसम्ममा केन्द्रको सरकारको बिस्तारले पूर्णता पाउने खुलासा गरे । उनले सरकारले पूर्णता पाएपछि जनतामाझ गरिएका कबुल गरिएका स्थायीत्व विकास र समृद्धिको यात्रा पूरा गर्ने पनि प्रतिवद्धता जाहेर गरे । एमाले नेता सुवासचन्द्र नेम्वाङले कसैको पनि शिर निहुरिन नदिनेगरी काम गर्ने पनि स्पष्ट पारे । उनले भने,‘तपाईहरुको माग हामीलाई राम्रोसँग थाहा छ, त्यसैले तपाईहरुको शिर निहुरिन नदिने गरी काम गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया