६ किलोमिटर सडक खन्न आठ वर्ष - Naya Patrika
eNaya Patrika
  • ePaper

६ किलोमिटर सडक खन्न आठ वर्ष

रुकुम(पूर्व)को भुमे गाउँपालिकामा ६ किलोमिटर सडक खन्न ८ बर्ष लागेको छ । ६ किलोमिटर दुरी रहेको बालुवा–डालिवाङ सडक खण्डको काम सकिन ८ बर्ष लागेको हो । उक्त सडक निर्माणको काम २०६६ सालमा सुरु भएको थियो । तर बजेट अभावका कारण ६ किलोमिटर सडक खन्न नै ८ बर्ष लागेको हो । सडक निर्माणका लागि बजेटको अभाव भएपछि उक्त सडक खण्ड २, ३ वर्ष सम्म अलपत्र समेत परेको थियो ।

बजेट अभावले नै सडक निर्माणमा बिलम्व भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु बुढामगरले बताए । ‘निर्माणका काम सुरु हुँदा छिट्टै काम सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ, उनले भने–तर सम्बन्धित निकायहरुबाट बजेट नआईदिँदा सडक निर्माणमा निकै ढिला भयो ।’ सडक निर्माण सम्पन्न भए संगै उद्घाटन समेत गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रामसुर बुढाले सडकको उद्घाटन गरे ।

आधा करोड बढी रकम खर्च
उक्त ६ किलोमिटर सडक खन्नका लागि आधा करोड बढी रकम खर्च भएको छ । उपभोक्ता समितिका अनुसार तत्कालिन जिल्ला विकास समितिको ५ लाख, गाविसको ५ लाख, संसद विकास कोषको १७ लाख, गाउँपालिकाको साढे २२ लाख र जनश्रमदान साढे ४ लाख गरी ५४ लाखमा सडक निर्माण भएको हो । बर्षैसाल थोरै थोरै काम हुने गरेको तथा भौगोलिक बनावटका कारण सडक निर्माणमा बढी रकम लागेको उपभोक्ता समितिका अध्यक्ष मगरले बताए । यो सडक हाल स्थानीय तह भैसकेपछि रिङ रोडको अवधारणा अनुसार भुमेकै सेरावाङ सम्म पुर्याइने छ । उक्त ठाउँसम्म सडक पुर्याउनका लागि बजेटको समस्या रहेको बताईएको छ ।

पहिलोपटक गाउँमा गाडि पुगेपछि स्थानीय हर्षित
सडक निर्माण कार्य सम्पन्न भई उद्घाटन भएसंगै गाउँमा पहिलो पटक गाडि पुगेपछि त्यसठाउँका स्थानीय हर्षित भएका छन् । आवत जावत तथा सामान ढुवानीका लागि पैदल हिड्नुपर्ने बाध्यतामा रहेका भुमेका डालिवाङ लगाएत ठाउँका स्थानीय पहिलो पटक गाउँमा गाडि पुगेपछि हर्षित भएका हुन् । गाउँमा सडक पुगेसंगै जीप तथा ट्याक्टर पुग्न थालेका छन् । जसबाट मानिसलाई आवत जावत गर्न तथा सामान ढुवानी गर्न सहज भएको स्थानीय श्रीकृष्ण बुढाले बताए । गाउँमा पहिलो पटक सडक पुगेपछि आफुहरुले आफ्नो ठाउँलाई केहि सुगम भएको महशुस गरेको उनको भनाई छ ।

पाँच वर्षमा सबैै वडामा सडक विस्तार हुन्छ
गाउँपालिका अध्यक्ष बुढाले गाउँपालिकाका सबै वडामा सडक पुर्याइने बताए । सडक उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाले ५ वर्ष भित्रमा गाउँपालिकाका सबै वडामा सडक विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन् । निर्माण भएका सडकको स्तर बृद्धि गर्ने र सडक नपुगेका सबै वडामा सडक पुर्याउने उनको भनाई छ । सबै वडामा सडक नपुगेका कारण स्थानीय सहित आफुहरुलाई समेत अप्ठ्यारो भएको भन्दै अबको ५ वर्षपछि कसैले पनि यस्तो अप्ठ्यारो भोग्नु नपर्ने अध्यक्ष बुढाको दाबी छ ।

तपाईको प्रतिक्रिया