के हो मिसोफोनिया ? - Naya Patrika
eNaya Patrika
  • ePaper

के हो मिसोफोनिया ?

हरेक मानिसको फरक–फरक स्वभाव, बानी र व्यवहार हुन्छ । कसैलाई एउटा कुरा मन पर्छ, कसैले त्यही कुरा मन नपर्न सक्छ । जस्तो कि कसैलाई ब्ल्याकबोर्डमा चक घोट्दा, सिमेन्टको भुइँमा कोतरेर सफा गर्दा, खाना खाँदा, श्वास लिँदा आउने आवाज सहन गाह्रो हुन्छ । धेरैलाई यो थाहा नहुन सक्छ कि ‘किन यस्तो हुन्छ ?’ हो, यस्तै विभिन्न प्रकारका ध्वनि सुनेर हुने असहजपनलाई मिसोफोनिया भनिन्छ । मिसोफोनिया प्राचीन ग्रिक शब्दबाट आएको शब्द हो, जसको अर्थ हो, ‘असह्य आवाज’ । मस्तिष्कको असामान्य अवस्थाका कारण यस्तो हुने गर्छ । यसमा विभिन्न मनोवैज्ञानिक तथा शारीरिक लक्षण देखा पर्छन् ।

आदर्श प्रधान, मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी

यसरी हुन्छ मिसोफोनिया
मानिसले आफूलाई मिसोफोनिया भएको थाहा नभएकै कारण अरूले यस्ता प्रकृतिका आवाज निकाल्दा गाह्रो अनुभूति गर्छ । एमआरआई परीक्षणबाट पनि थाहा हुन्छ कि मस्तिष्कको एउटा अंशले मानिसको संवेदनालाई भावनासँग जोड्ने काम गर्छ । मिसोफोनियाका वेला मस्तिष्कमा हुने इन्टेरियर इस्युलर कर्टेक्स अत्यधिक सक्रिय हुन्छ । मानिसको आवाजप्रतिको संवेदनशीलताले दैनिक जीवनमा समेत ठूलो असर पु¥याइरहेको हुन्छ । यस्ता आवाजका कारण तनाव, क्रोधसमेत बढाउने गर्छ । जसले मानसिक समस्यासमेत उत्पन्न हुन सक्छ । त्यस्तै, एन्जाइटी डिसअर्डरको कारणले पनि मिसोफोनिया हुने विभिन्न शोधले देखाएका छन् ।

समाधान
मिसोफोनियाको उपचार टिनिटस रिट्रेनिङ, कग्नेटिभ बिहेभियर, एक्सपोजर थेरापी र परामर्शबाट गरिन्छ ।  यस्तो समस्याबाट टाढा रहन त्यस्ता आवाज आउने ठाउँमा नजानुहोस्, जसले तपाईंलाई असहज बनाउँछ ।

नियमित माइन्डफुलनेस ध्यान गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै, हरेक कुरालाई सहज तरिकाले ग्रहण गर्ने क्षमताको विकासले मिसोफोनियाको समस्याबाट बाहिर निस्कन सघाउ पु¥याउँछ । यद्यपि, आवाजकै कारण अत्यधिक कठिनाइ महसुस भएको अवस्थामा मनोचिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ ।

तपाईको प्रतिक्रिया