कुष्ठरोगीलाई अस्पतालमै दुर्व्यवहार - Naya Patrika
eNaya Patrika
  • ePaper

कुष्ठरोगीलाई अस्पतालमै दुर्व्यवहार

कुष्ठरोगीको उपचार गर्न स्थापना गरिएको पोखराको हरियोखर्क अस्पतालमा अहिले बिरामीबाटै दुर्व्यवहार हुने गरेको गुनासो आउने गरेको छ । उपचारका लागि आउने नयाँ तथा पुराना बिरामीले अस्पतालमा भर्ना नपाउने र दुव्र्यवहारसमेत हुने गरेको गुनासो गरेका हुन् ।

अस्पतालको तथ्यांकअनुसार अहिले प्रतिमहिना औसत १० नयाँ कुष्ठरोगका बिरामी उपचारका लागि आउने गरेका छन् । आइएनएफ नेपालले सञ्चालन गरेको सो अस्पतालमा विगतमा २ सयसम्म कुष्ठरोगीको उपचार हुनेमा अहिले २० जनाले बेड पाउने गरेका छन् । गैरसरकारी संस्था आइएनएफलाई कुष्ठरोगको उपचार गराउने अस्पताल सञ्चालन गर्न सरकारले पोखरामा ४ सय २० रोपनी जग्गा उपलब्ध गराएको थियो । सरकारले जग्गा उपलब्ध गराएपछि सन् १९५७ मा सो अस्पताल स्थापना भएको हो । कुष्ठरोगीलाई २० बेड छुट्याएर कान, छाला र हाड तथा ढाडका बिरामीलाई राखिएको छ ।

कुष्ठरोगी विस्थापित गर्दै
अस्पतालले कुष्ठरोगी विस्थापित गर्ने नीति लिएको बिरामीको गुनासो छ । आफूहरूलाई अहिले अस्पतालले निकै दुर्व्यवहार गरिरहेको छ । एक बिरामीले भने, ‘गुनासो गरे त्यसको भोलिपल्ट नै उपचार छोडेर बाहिरिनुपर्छ ।’ फलोअप उपचार गराइरहेका एक कुष्ठरोग लागेका व्यक्तिले पहिले गाउँघरमा भोगेको पीडा अहिले अस्पतालमै भोग्नुपर्ने अवस्था आएको बताए । ‘पहिले गाउँमा बिरामीलाई ओडारमा राखियो, कोरी भन्दै दुव्र्यवहार गरियो, अहिले अस्पतालले नै कुष्ठरोगीलाई छुट्टै सारेर त्यस्तै गरेको अनुभव भएको छ,’ उनले भने ।

अहिले अस्पतालमा कुष्ठरोगलगायत छाला, कान, मेरुदण्ड र पक्षघातका बिरामीको उपचार हुन्छ । अस्पतालले ‘आर्थिक दिगोपनमा आइएनएफको अभियान’अन्तर्गत भैँसीपालन, माछापालन, कुखुरापालन र तरकारी खेतीलगायत कार्यक्रम सञ्चालन गरेको छ । आइएनएफ नेपालका अप्रेसनल डाइरेक्टर ढाकाराम बुढामगरका अनुसार आइएनएफअन्तर्गत बाँके र सुर्खेतमा साइमिङ अस्पताल सञ्चालनमा छन् ।

बिरामीप्रति संवेदनशील छौँ
डा. दीपक महर्जन, मेडिकल डाइरेक्टर
हरियोखर्क अस्पताल, पोखरा
बिरामीलाई दुव्र्यवहार र समय नपुगी डिस्चार्ज भन्ने कुरा म सोच्न पनि सक्दिनँ । त्यस्तो हुन दिएका छैनौँ । बिरामीले कसरी भन्नुभयो त्यो मैले बुझ्न सकिनँ । उहाँहरू आफैँ बिरामीका कारण तनावमा हुनुहुन्छ, यस्तो वेला साना कुराले पनि उहाँलाई पक्कै छुन्छ । यो संस्था पुरानो भए पनि पछिल्लो व्यवस्थापनले धेरै सुधार गरेको छ । बन्द गर्ने कि भन्ने अवस्थामा पुगेको अस्पताललाई बचाएर यहाँसम्म ल्याएका छौँ । दाताहरूको सहयोग कम हुँदा पनि आन्तरिक आम्दानी बढाएर बिरामीलाई केही गर्नुपर्छ भनेर लागिपरेका छौँ । जहाँसम्म अरू बिरामीलाई प्राथमिकतामा राखेको भन्ने छ, त्यसो हुँदै होइन । बरू उहाँहरूले गर्दा कुष्ठ प्रभावितले नै थप सुविधा पाउनुभएको छ । कुष्ठ प्रभावितलाई अरू रोग पनि लाग्छ । यहीँ अन्य डाक्टर पनि हुने र धेरै रोगको यहीँ परीक्षण भएपछि सजिलो भएको छ । यो पक्षलाई सकारात्मक रूपमा लिनुपर्छ । अस्पतालको आधार र पहिचान नै कुष्ठ प्रभावितको सेवा गर्ने हो ।

हामी झनै सुविधासम्पन्न बनाउन खोज्दै छौँं
ढाकाराम बुढामगर
अप्रेसन डाइरेक्टर
आइएनएफ नेपाल
अस्पताललाई अझै व्यवस्थित गर्न खोज्दै छौँ । बिरामीलाई पर सारिएको कुरा पनि सत्य होइन । ठाउँभन्दा सेवालाई हेरिनुपर्छ । कम्तीमा २० बेड कुष्ठ प्रभावितलाई छुट्याउने भनेका हौँ, धेरै बिरामी लिन्नौँ भनेका छैनौँ ।

अहिले पनि नयाँ पुराना गरेर ३२ जना कुष्ठरोगी उपचार गराइरहेका छन् । दाताको सहयोग कम हुँदा पनि सञ्चालन गर्न सक्ने संयन्त्र बनाउन खोजेका छौँ । नाचगान टेलिभिजनको प्रबन्ध पनि गर्दै छौँ । अहिले अप्रेसन गर्ने स्थल त्यहीँ भएकाले नाचगान रोकिएको हो । बिरामीकै लागि थप तीन प्लास्टिक सर्जन भित्राएका छौँ । आम्दानी र सेवा दुवै बढाउने हो ।

निकाल्ने डरमा बोल्न मान्दैनन् बिरामी
अस्पतालले उपचार नगरी निकाल्ने डरमा बिरामी आफ्ना समस्या राख्नसमेत डराउने गरेका छन् । ‘जसलाई भनेको थियो, उसैलाई गएर देखा भन्छन्,’ बिरामीले भक्कानिँदै भने, ‘बाहिर कुरा कसले लगेको हो, अब हामीलाई होइन घाउ त्यसैलाई लगेर देखा भने, कतिलाई समय नभई डिस्चार्ज गरियो।’

कुष्ठ प्रभावितले आफ्ना अधिकार खोज्न भन्दै बनाएको संस्था एसोसिएसन फर आइडिया नेपालका पदाधिकारी नै अहिले कुष्ठ प्रभावितको अवस्थाबारे बोल्न चाहँदैनन् । ‘बोल्यो कि अस्पतालमा बिरामीलाई तनाव हुन्छ । आफैँ उपचार गर्न गइरहनुपर्छ । हामीले भन्यो भने फेरि कहाँ गएर उपचार गर्ने ?’ एक पूर्वपदाधिकारीले भने, ‘आग्रह छ, अब हामीसँग यस विषयमा नसोध्नुहोला ।’

तपाईको प्रतिक्रिया