प्रदेश १ मा ४ प्रतिशत विद्युत् चुहावट घट्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश १ मा ४ प्रतिशत विद्युत् चुहावट घट्यो

प्रदेश १ का नौ जिल्लामा चालू आर्थिक वर्ष ०७४-७५ को माघसम्ममा विद्युत् चुहावट ४ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण केन्द्र तथा ग्राहक सेवा केन्द्रले विद्युत् चुहावट घटाएर १३ दशमलव ७४ प्रतिशत राखेको छ । आर्थिक वर्ष ०७३-७४ मा चुहावट १७ दशमलव ६५ प्रतिशत थियो । चालू वर्षको माघसम्ममा ३ दशमलव ९१ प्रतिशत विद्युत् चुहावट कम भएको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएको थियो । सोमध्ये ४७ करोड ५३ लाख युनिट बिक्री भएको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जानकारी दिएको छ । सो प्रणालीबाट ७ करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ।

विराटनगर वितरण केन्द्रले १४ दशमलव ०५ प्रतिशत रहेको चुहावटलाई ४ दशमलव २१ प्रतिशतले घटाएर ९ दशमलव ८४ प्रतिशत कायम गरेको छ । ८ दशमलव ९५ प्रतिशत रहेको विद्युत् चुहावटलाई दुहवी वितरण केन्द्रले ३ दशमलव ०७ प्रतिशतले घटाएर ५ दशमलव ८८ प्रतिशत कायम गरेको छ ।

विराटनगर र दुहवी कार्यालयअन्तर्गत ठूला औद्योगिक ग्राहक छन् । दमक वितरण केन्द्रले ४ दशमलव ७३ प्रतिशतले चुहावट घटाएको छ । केन्द्रले असारसम्मको २३ दशमलव २२ प्रतिशतको चुहावटलाई घटाएर १८ दशमलव ४९ प्रतिशतमा झारेको हो । मोरङको रंगेली वितरण केन्द्रको चुहावट भने अझै ३२ दशमलव ३० प्रतिशत छ । असारसम्ममा ३६ दशमलव ४२ प्रतिशत चुहावट रहेकोमा माघसम्ममा ४ दशमलव १२ प्रतिशत मात्रै घटेको छ । इनरुवा वितरण केन्द्रको ३६ दशमलव ५९ प्रतिशतको चुहावट १० दशमलव ०७ प्रतिशतले घटेर २६ दशमलव ५२ प्रतिशत पुगेको कार्यालयले बताएको छ ।

यसैगरी, वेलबारी वितरण केन्द्रको २६ दशमलव १३ प्रतिशत चुहावट १ दशमलव २४ प्रतिशतले घटाएर २४ दशमलव ८९ प्रतिशतमा सीमित गरेको छ । विद्युत् चोरी नियन्त्रण गर्न चालिएका कदम, ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण र केन्द्र प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतालगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैरप्राविधिक चुहावटमा कमी आएको छ, ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौँ, जसले गर्दा प्राविधिक चुहावटमा क्रमिक रूपमा कमी आइरहेको छ’, उनले भने, ‘चुहावट नियन्त्रण अभियानलाई हामी अझै शसक्त रूपमा अगाडि बढाउँछौँ ।’

गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले बताए । ‘माघसम्मको तथ्यांक हेर्दा विद्युत् चुहावट नियन्त्रणमा हामीलाई दिइएको टार्गेट पूरा भएको छैन । गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ,’ उनले भने, ‘तर, हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौँ ।’ क्षेत्रीय कार्यालयलाई गत आवमा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ ।

तपाईको प्रतिक्रिया