अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपतिकाे शपथग्रहण - Naya Patrika
eNaya Patrika
  • ePaper

अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपतिकाे शपथग्रहण

राष्ट्रपतिमा भण्डारी पुनः निर्वाचित

खसेको मतको ७७% भण्डारीलाई

विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार दुई सय ७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले खसेको ५१ हजार पाँच सय १२ मतभारको करिब ७७ प्रतिशत ल्याइन् । यो कुल मतदाताको मतभार अर्थात् ५२ हजार पाँच सय एकको करिब ७५ प्रतिशत हो ।

भण्डारीले संघीय संसद् सदस्यबाट १९ हजार तीन सय ५५ मतभार पाइन् । ऐनअनुसार संघीय संसद्को एक सांसदको मतभार ७९ भएकाले भण्डारीलाई संघीय संसद्का २४५ सांसदले भोट हालेको स्पष्ट हुन्छ । त्यस्तै भण्डारीले प्रदेश सभा सदस्यबाट १९ हजार नौ सय २० मतभार पाइन् । प्रदेश सभाको एक सांसदको मतभार ४८ भएकाले भण्डारीलाई प्रदेशका ४१५ सांसदले मत दिए ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारीलक्ष्मी राईले ११ हजार सात सय ३० मतभार पाइन् । उनले संघीय संसद्का सदस्यबाट ६ हजार एक सय ६२ मतभार अर्थात् ७८ सांसदको मत पाइन् । त्यस्तै प्रदेश सभा सदस्यबाट पाँच हजार पाँच सय ६८ मतभार अर्थात् प्रदेश सभाका ११६ सांसदको मत पाइन् ।

कुल ८८० मतदातामध्ये ८६२ जना मतदानमा सहभागी भए । मतदान गर्नेमा संघीय संसद्का ३२६ र प्रदेश सभाका ५३६ सांसद छन् । संघीय संसद्का पाँच र प्रदेशका १३ गरी १८ सांसद अनुपस्थित रहे । राष्ट्रपतिमा पुनः निर्वाचित भण्डारीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र मंगलबार नै बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण गर्नेछिन् ।

राष्ट्रपति निर्वाचन
जम्मा मतदाता : ८८०
जम्मा खसेको मत : ८६२
सदर मत : ८५४
बदर मत : ८ (संघ– ३ मत, प्रदेश– ५ मत)
नखसेको मत – १८

संघीय संसद्तर्फ
जम्मा मतदाता – ३३१
खसेको मत – ३२६

प्रदेश सभातर्फ
जम्मा मतदाता –५४९
खसेको मत – ५३६

कसलाई कति मत ?
विद्या भण्डारी
पाएको जम्मा मतभार : ३९,२७५
भण्डारीले पाएको संघको मतभार : १९,३५५ (२४५ सांसद)
भण्डारीले पाएको प्रदेशको मतभार : १९,९२० (४१५ सांसद)

कुमारीलक्ष्मी राई
पाएको जम्मा मतभार : ११,७३०
राईले पाएको संघको मतभार : ६१६२ (७८ सांसद)
राईले पाएको प्रदेशको मतभार : ५५६८ (११६ सांसद)

कांग्रेस उम्मेदवारलाई आफूबाहेक अन्य दलका ३ सांसदको मत
संघीय संसद्मा कांग्रेसका ७६ सांसद छन् भने प्रदेशमा ११३ सांसद छन् । तर, राष्ट्रपति निर्वाचनमा कांग्रेसका संघीय संसद्का ७५ सांसदले मात्र भोट हाले भने प्रदेश सभाका ११२ सांसदले भोट हाले । तर, कांग्रेसकी उम्मेदवार राईले पाएको मतभारअनुसार संघमा कांग्रेसलाई ७८ सांसदले भोट हाले भने प्रदेश सभाका ११३ सांसदले भोट हाले । जुन मतदान गर्ने कांग्रेसका उम्मेदवारभन्दा संघमा ३ र प्रदेशमा ३ मत बढी हो । यसबाट कांग्रेस उम्मेदवारलाई आफ्नो दलबाहेक संघ र प्रदेशमा ३–३ गरी ६ जना सांसदले मत दिएको पाइएको छ ।

१८ जनाले भोट हालेनन्
राष्ट्रपति निर्वाचनमा १८ जना सांसद अनुपस्थित भए । संघीय संसद्का पाँचजना र प्रदेश सभाका १३ सांसदले राष्ट्रपति निर्वाचनमा भाग लिएनन् । नयाँ शक्ति, नेमकिपाका संघ तथा प्रदेशका सबै सांसदले निर्वाचनमा भाग लिएनन् भने प्रदेश सभामा मात्र प्रतिनिधित्व पाएको विवेकशील पार्टीका सांसद पनि निर्वाचनमा सहभागी भएनन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय दलको मान्यताप्राप्त दलका केही सांसदले समेत भोट हालेनन् । भोट नहाल्नेमा संघिय संसदतर्फ कांग्रेसका १, राजपाका २ जना छन् । अरु २ जना भने स्वतन्त्र हैसियतका सांसद हुन् ।

प्रदेशसभाका कांग्रेसका १, राजपाका ३, संघिय समाजवादी फोरमका १, नयाँ शक्तिका ३, विवेकशिल साझाका ३ र नेमकिपाका २ सांसद अनुपस्थित रहे ।

संघिय संसदका ५ सांसद अनुपस्थित
डा. बाबुराम भट्टराई – नयाँ शक्ति नेपाल (स्वतन्त्र)
जितेन्द्रनारायण देव– नेपाली कांग्रेस
रमेशप्रसाद यादव– राजपा नेपाल
रेशम चौधरी– राजपा नेपाल
प्रेम सुवाल – नेमकिपा (स्वतन्त्र)

प्रदेशसभाका १३ सांसद अनुपस्थित
हिमबहादुर शाही कांग्रेस
बिना पन्त राजपा
कृष्ण बहादुर चौधरी राजपा
मनिष कुमार सुमन राजपा
हरिशरण आचार्य नयाँ शक्ति
धनमाया पोखरेल लामा नयाँ शक्ति
प्रेम बहादुर तामाङ नयाँ शक्ति
रमेश पौडेल विवेकशिल साझा
सोभा शाक्य विवेकशिल साझा
विराज भक्त श्रेष्ठ विवेकशिल साझा
सिर्जना सैजु नेमकिपा
सुरेन्द्र गोसाई नेमकिपा
प्रल्हाद गिरी गोस्वामी संघिय समाजवादी फोरम

जसको मतदाता नामावलीमा नाम थिएन
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका ३ जना राष्ट्रिय सभा सदस्यले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाएनन् । सर्वोच्च अदालतले उनीहरूको सपथ केहि समय रोकेपछि मतदाता नामावलीमा उनीहरू छुटेका हुन् । संघिय संसदतर्फका ३३४ मध्ये युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई बाहेक ३३१ मतदाता थिए भने प्रदेशसभातर्फ ज्यान मार्ने उद्योग अन्तर्गत ५ बर्ष जेल सजाय सुनाइएका मनाङबाट निर्वाचित प्रदेश सांसद दिपक मनाङ्गे बाहेक ५४९ सांसद मतदाता थिए । राष्ट्रपति निर्वाचनमा कुल मतभारको बहुमत ल्याउने राष्ट्रपतिमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ । कुल मतभारको बहुमत अर्थात ५२ हजार पाँच सय एकको बहुमत प्राप्त गरेपछि भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी प्रमुख निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले बताए ।

नेपालकी तेस्रो राष्ट्रपति
एमाले र माओवादीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी विद्यादेवी भण्डारी मंगलबार नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । यसअघि ११ कात्तिक ०७२ मा नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी त्यसबेला एमाले उपाध्यक्ष थिइन् । नेपालमा गणतन्त्र घोषणापछि ६ साउन ०६५ मा कांग्रेसका तत्कालिन सहमहामन्त्री डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

तीन दलले बहिष्कार गरे राष्ट्रपति निर्वाचन
नयाँ शक्ति, विवेकशील साझा र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन् । मुलुकको संवैधानिक प्रमुख राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्ति हुनुपर्नेमा एउटा पार्टीभित्र पनि गुटको व्यवस्थापन गर्ने पद बनाइएकाले निर्वाचन बहिष्कार गरेको ती दलको दाबी छ ।

तपाईको प्रतिक्रिया