बाग्लुङमा क्यानोनिङ सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

बाग्लुङमा क्यानोनिङ सुरु

पर्यटन प्रर्वद्धनका लागि बाग्लुङमा क्यानोनिङ खेल सुरु भएको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको सहस्र झरनामा क्यानोनिङ खेल विधिवत् रूपमा सञ्चालनमा आएको हो । साहसिक पर्यटन खेलका रूपमा रहेको यो खेल जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याइएको वडा नम्बर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताएका छन् ।

प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान नपुग्दा बोहोराफाँट र स्यालाको सिमानामा रहेको सहस्त्र झरनाबारे धेरैलाई जानकारी छैन । क्यानोनिङ खेलबाट यस क्षेत्रको प्रवद्र्धन तथा पर्यटन क्षेत्र पनि विकास हुने भण्डारीले बताए । पोखरा क्यानोनिङको टोली र स्थानीय युवाहरूको सहभागितामा कार्यसम्पन्न गरिएको भण्डारीले बताए । १ सय ४५ मिटर अग्लोे सहस्र झरनामा माथिबाट डोरीमार्फत झरेर उक्त क्यानोनिङ खेलको मजा लिन सकिन्छ । झरनालाई जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

पर्याप्त मात्रामा पूर्वाधार विकास नहुँदा बाग्लुङ जिल्लामा आन्तरिक र बाह्य पर्यटक बढनुका साथै खेलको पनि विकास हुने गलकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति गुमानसिंह भण्डारीले बताएका छन् । ‘यस क्षेत्रलाई खेलको विकाससँगै धार्मिक गन्तव्यको रूपमा पनि विकास गर्न जरुरी रहेको छ, पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्ने स्थानीयको माग रहेको छ,’ उनले भने । खेल खेल्नका लागि सहज बनाउन ७ लाखको लागतमा पूर्वाधार निर्माणको कार्य थालिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए । क्यानोनिङ खेलपछि अब प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने तयारी भइरहेको भण्डारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया