मनाङ सेमिफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

मनाङ सेमिफाइनलमा

२०औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा मनाङले त्रिभुवन आर्मीको दोस्रो रोजाइको टोलीलाई ३–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । अब मनाङले फाइन प्रवेशका लागि १ चैतमा थ्री स्टारविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक लाली रुपन्देही ११ र नेपाल पुलिसबीच हुनेछ ।

विशालको दुई गोल
आर्मीको पहिलो रोजाइको टोलीले सोमबारै मात्र तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । सिजनकै सातौँ नकआउट उपाधि जितेको आर्मीले तिलोत्तमा गोल्डकपमा दोस्रो रोजाइको खेलाडी पठाएको आयोजकले जनाएको छ । मनाङलाई अन्तिम चारमा पुर्‍याउने क्रममा विशाल राईले दुई गोल गरेका थिए । एक गोल विदेशी खेलाडी भिक्टरले गरे । आर्मीको दोस्रो रोजाइको टोलीविरुद्ध मनाङले अग्रता लिन ४१ मिनेट कुर्नुपरेको थियो । खेलको ४१औँ मिनेटमा विशालले मनाङलाई १–० को अग्रता दिलाए । आर्मीको डिफेन्स निकै बलियो देखियो । मनाङले खेलको ८३ औँ मिनेटमा विशाल राईले गरेको दोस्रो गोलसँगै खेलमा २–० को अग्रता लियो । खेलको अन्तिम इन्जुरी समयमा भिक्टरले मनाङको जित ३–० ले पक्का पारे ।

थापालाई रातो कार्ड
खेलको ६७औँ मिनेटपछि मनाङ दस खेलाडीमा सीमित भएको थियो । डोना थापाले खेलको ६७औँ मिनेटमा आर्मीका खेलाडीलाई मुक्का बर्साएपछि रेफ्रीले उनलाई दोस्रो पहेलो कार्ड स्वरूप रातो कार्ड देखाए । खेलको ३५औँ मिनेटमा चेतावनीका रूपमा उनले एक पहेलो कार्ड पाइसकेका थिए । खेलमा आर्मीले चारपटक नजिकबाट गोल प्रयास चुकाएको थियो ।

तपाईको प्रतिक्रिया