झापाका ज्वेलर्स सञ्चालकको हत्या, नौ दिनपछि शव फेला - Naya Patrika
eNaya Patrika
  • ePaper

झापाका ज्वेलर्स सञ्चालकको हत्या, नौ दिनपछि शव फेला

बिर्तामोडमा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका साजन मुखियाको हत्या भएको छ । हत्या भएको नौ दिनपछि उनको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको प्रहरीले जनाएको छ । बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोर्सनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक २६ वर्षीय मुखिया २० फागुनदेखि बेपत्ता थिए । प्रहरीले उनको शव मेची राजमार्गदेखि सय फिट तल बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पारेको हो ।

साजन मुखियाको हत्यामा संलग्न तीनजनालाई मंगलबार सार्वजनिक गर्दै प्रहरी । तस्बिर:नयाँ पत्रिका

 

दिउँसो १ बजे पसलबाट नजिकैको सुन बजार गएका साजन फर्केर नआएपछि सोही दिन उनकी श्रीमती रविनाले प्रहरीमा निवेदन दिएकी थिइन् । ‘बजार गएर आउँछु, पसलमा सामान लिन एउटा मान्छे आउँदै छ, तिमीले सामान दिनु भनेर फोन गर्नुभएको थियो,’ रविनाले भनिन्, ‘त्यसपछि उहाँको मोबाइल बन्द भयो ।’ निवेदनपछि प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोले अनुसन्धान टोली गठन गरी सुरक्षाकर्मी परिचालन गरेको थियो । १० वर्षदेखि बिर्तामोडमा बसेर सुनचाँदीकै कारोबार गर्दै आएका मुखिया नेपाल सुनचाँदी व्यवसायी संघ झापाका साधारण सदस्यसमेत हुन् । श्रीमती रविनाका अनुसार सामान्य लेखपढ गरेका साजन सामाजिक सञ्जालसमेत चलाउँदैनथे । मुखियाको हत्याको विरोधमा बिर्तामोडका व्यवसायीले मंगलबार एक दिनका लागि बजार बन्द गराएका छन् । सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा बजार बन्द गरिएको हो ।

तीन पक्राउ
हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बिर्तामोडका २९ वर्षीय पारसकुमार देव, १९ वर्षका दीपेश पौडेल र तेह्रथुमका २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओली छन् । पारस बिर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक हुन् । दीपेश र प्रकाशले सोही ज्वेलर्समा काम गर्ने गरेको प्रहरीको भनाइ छ । मंगलबार पारस र दीपेशलाई बिर्तामोडबाट तथा प्रकाशलाई तेह्रथुमबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद
कोइरालाले बताए ।

हत्याको कारण
साजनले छोटो समयमा सुनको कारोबारबाट मनग्गे आम्दानी गरेकाले इष्र्याका कारण पारसले साजनको हत्या योजना बनाएको प्रहरी बताउँछ । साजनले अधिक आर्थिक आर्जन गर्दा पारसको व्यापारमा गिरावट आएकाले हत्याको योजना बुनेको बुझिन्छ । ‘साजनको हत्या गरेपछि उसको कारोबार पनि आफैँ गर्न पाउँछु भनेर पारसले आफ्नै पसलमा काम गर्ने प्रकाश भन्ने चिरञ्जीवी ओली र दीपेश पौडेललाई पैसा दिएर थप प्रलोभन देखाएर हत्या गरेको पाइयो,’ एसपी केसीले भने । प्रहरीका अनुसार पारस र साजनबीचमा आर्थिक लेनदेन पनि थियो । घटनामा संलग्न अन्यको पनि खोजतलास भइरहेको बताइएको छ । साजनको शव पोस्टमार्टमपछि मंगलबार नै अन्त्येष्टि गरिएको छ । साजनका ६ वर्षका छोरा देवा र श्रीमती रविना छिन् । रविना गर्भवती छिन् । पक्राउ परेका माथि मानव अपहरण तथा शरीर बन्धक, खुनडाका र संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूमाथि २० वर्षसम्म कैद हुन सक्ने प्रहरीको भनाइ छ ।

यसरी पत्ता लाग्यो हत्यारा
अनुसन्धानको सुरुवातमा प्रहरीले साजनको मोबाइलको कल डिटेल्स अध्ययन गरेको थियो । श्रीमतीसँग फोनमा कुरा गर्नुभन्दा अघि साजनले प्रकाश, दीपेश र पारससँग कुरा गरेको पाइएपछि प्रहरीले अनुसन्धानलाई त्यतै मोडेको थियो । त्यसैका आधारमा हत्यामा संलग्न व्यक्तिसम्म पुगिएको प्रहरीले जनाएको छ ।

यसरी भयो साजनको हत्या

साजन मुखिया

२० फागुन दिउँसो १ बजे ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारस देवलाई भेट्न भन्दै साजन आफ्नो पसलबाट निस्किए । साजन र पारस मिल्ने साथी थिए । प्रहरीका अनुसार बिर्तामोडस्थित एभरेस्ट बैंकनजिकै भेट हुनेबित्तिकै पारसले साजनलाई अर्कैको नाममा रहेको मे७प ८७५४ नम्बरको स्कुटरमा चढाए । उनले सुन किन्ने बहानामा साजनलाई भेट्न बोलाएका थिए । पारसले बिर्तामोड–५ तमुटोलमा रहेको आफ्नो पुरानो घरमा साजनलाई लगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पासरले घरमा पहिले नै प्रकाश र दीपेशलाई तयारी अवस्थामा राखेका थिए । घरको पहिलो तलाको उत्तरपूर्वपट्टिको कोठामा साजनलाई बन्धक बनाएर प्रकाश, दीपेश र पारसले पालैपालो कुटपिट गरे । ‘त्यसपछि कार्टुन बाँध्न प्रयोग गरिने प्लास्टिकको सेतो चोया डोरीले साजनको दुवै हात पछाडि बाँधिदिए,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा झापाका प्रहरी प्रमुख एसपी विष्णु केसीले भने, ‘घाँटीमा पनि सोही डोरीले बाँधेर कर्तव्य गरी मारेको पाइयो ।’

अपहरण गरेको आधा घन्टाभित्र बिर्तामोडमै साजनको हत्या भएको प्रहरीले जनाएको छ । साजनकी श्रीमतीले प्रहरीमा निवेदन दिँदासम्ममा साजनको हत्या भइसकेको खुलेको छ । हत्यापछि उनीहरूले साजनको साथमा रहेको नगद, सुनको ढिक्का र सुनका अन्य गरगहनासमेत लुटेको एसपी केसीले बताए । त्यसलगत्तै उनीहरूले साजनको शवलाई जुटको बोरामा हालेर बोराको मुख बाँधे । पारसले प्रयोग गर्ने भारतीय नम्बरको गाडीमा शवलाई लुकाएर राखे । साँझ ६ः३० बजे प्रकाश र दीपेशले साजनको शव रहेको सो गाडीलाई इलामतर्फ लगे । गाडी दीपेशले चलाए । इलामको रोङ गाउँपालिका–३ कोल्बुङ पुर्‍याएर साजनको शवलाई बोरासहित ठाडो भिरबाट तल खसाएको प्रहरीको भनाइ छ । ‘सडकबाट सय मिटर तल बोराभित्र सडेको अवस्थामा शव भेटियो,’ एसपी केसीले भने ।

तपाईको प्रतिक्रिया