छोरीको हत्या भएको भन्दै आमाले दिइन् जाहेरी - Naya Patrika
eNaya Patrika
  • ePaper

छोरीको हत्या भएको भन्दै आमाले दिइन् जाहेरी

ललितपुरको महालक्ष्मी नगरपालिका–३ मा घरेलु श्रमिकका रूपमा कार्यरत १७ वर्षीया छोरीको हत्या भएको भन्दै उनकी आमाले मोरङ प्रहरीमार्फत किटानी जाहेरी दिएकी छिन् । मोरङ कटहरी गाउँपालिका–१ घर भएकी गुल्जार चौधरीले ललितपुर महालक्ष्मी–३ का विनय दाहाल, उनका ससुरा विराटनगर महानगर–७ का केशव दुलाल र सासू ६० वर्षीया गीता सिलवालविरुद्ध कर्तव्य ज्यान आरोपमा २८ फागुनमा जिल्ला प्रहरी कार्यालय मोरङमार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी हुन् ।

एक वर्षअघि घरमा काम गर्न लगिएकी छोरीलाई चोरी गरेर प्रहरीमा थुनेकाले छुटाउन आउनुपर्‍यो भन्दै आफूलाई हवाईजहाजबाट २६ फागुनमा ललितपुर बोलाइएको उनको भनाइ छ । तर, आफू पुग्दा ललितपुरका विनय दाहालले झुन्डिएर मरेको भन्दै दबाबमा पहिले कागजमा सही गर्न लगाई पछि छोरीको शव जिम्मा लगाएर पठाएको उनले किटानी जाहेरीमा उल्लेख गरेकी छिन् । गुल्जारीले दाहालले नै आफ्नी छोरीको हत्या गरेको किटानी गरेकी छिन् । मोरङका एसपी अरुण बिसीले वादीले दिएको जाहेरी महानगरीय प्रहरी परिसर ललितपुरमा चढाएकाले आफूहरूले बुझेर सम्बन्धित ठाउँमा पठाइदिएको जानकारी दिए ।

दाहालको घरमा गर्थिन् काम
एक वर्षअघि १७ वर्षीया छोरी आइसालाई विनय दाहाल र उनकी श्रीमती विनाले केशव दुलाल र गीता सिलवालमार्फत घरमा काम लगाइदिने भनी लिएर गएका थिए । तर, २६ फागुनमा आमा गुल्जारीलाई छोरीले चोरी गरेकाले प्रहरीले पक्राउ गरेर थुनामा राखेको भन्दै छुटाउन ललितपुर बोलाइयो । उनलाई दाहालका ससुरा केशव दुलालले लिएर गएका थिए । त्यहाँ पुगेपछि गुल्जारीलाई कागजमा सही गराएपछि तिम्री छोरी झुन्डिएर मरेको हो भन्दै सातदोबाटो प्रहरीको रोहवरमा जिम्मा लगाएर पठाइएको थियो ।

गुल्जारीले ललितपुरबाट छोरीको शव ल्याएको देखेपछि आफन्त र स्थानीयले हत्या भएको शंका गर्दै पोस्टमार्टम गराउन माग गरेका थिए । तर, मोरङ प्रहरीले एक ठाउँमा भएको शव परीक्षण अर्कै ठाउँमा गर्न नमिल्ने भन्दै कि त सातदोबाटो प्रहरीमार्फत नै पुनः परीक्षण गराउनु कि त दाहसंस्कार गर्न सुझाएको थियो । त्यसपछि आक्रोशित आफन्त र गाउँलेहरूले आइसाको शवसँगै दाहालको ससुराली घर रातभर घेराउ गरेका थिए । प्रहरीको रोहवरमा पुनः अनुसन्धानका लागि सातदोबाटो प्रहरीमा जाहेरी दिने सहमति भएपछि मात्र २८ फागुनमा आफन्तले दाहसंस्कार गरेका थिए ।

गुल्जारीले आफ्नी छोरी झुन्डिएर मरेको भए किन चोरी गरेर थुनामा परेको भनेर झुक्याएर आफूलाई ललितपुर लगिएको भन्दै जाहेरीमा प्रश्न गरेकी छिन् । प्रहरीमा पुग्नासाथ सबै कुरा नभनीकन किन झुक्याएर छोरीको शव जिम्मा लगाउने कागजमा सही गराइयो ? छोरी झुन्डिएर मरेको भए किन अभिभाकलाई नबोलाईकन डोरी काटियो ? छोरी झुन्डिएर मरेको भए शरीरमा निलडाम र रगत कसरी देखाप¥यो र गाला किन सुन्निएको थियो ? जाहेरीमा उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया