राष्ट्रिय सभाले आज तिमल्सिनालाई अध्यक्षमा निर्वाचित घोषणा गर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

राष्ट्रिय सभाले आज तिमल्सिनालाई अध्यक्षमा निर्वाचित घोषणा गर्ने

राष्ट्रिय सभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ । अध्यक्षका लागि एमालेका सांसद गणेशप्रसाद तिमल्सिनाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाले घोषणा गर्न लागेको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नै नउठाएपछि तिमल्सिना निर्विरोध भएका थिए । राष्ट्रिय सभा ५९ सदस्यीय हुने व्यवस्था छ । जसमध्ये एमाले २७, कांग्रेस १३, माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम र राजपाका दुई/दुईजना सांसद छन् । तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

को हुन् तिमल्सिना ?
पर्वतका तिमल्सिना ०३६ सालको विद्यार्थी राजनीतिबाट पूर्णकालीन पार्टी राजनीतिमा लागेका हुन् । उनी ०३६ सालमा कम्युनिस्ट पार्टीको युवा संगठन रेडगार्ड स्क्वायडको सचिवमा चुनिए । ०३७ सालमा अनेरास्ववियुको पश्चिमाञ्चल क्षेत्रीय कमिटीको सदस्य भएका तिमल्सिनाले ०४० सालमा नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए ।

०४१ सालमा उनी पोखरास्थित पृथ्वीनारायण बहुमुखी क्याम्पसको स्ववियु सचिवमा निर्वाचित भए । ०४२ देखि ०४६ साउनसम्म उनी जेल परे । उनले पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज र काठमाडौंको नख्खु तथा भद्रगोल जेलमा चार वर्ष बिताए । प्रधानमन्त्री केपी ओली र तिमल्सिना पोखरामा झन्डै ६ महिना सँगै जेल बसेका थिए । ०४६ सालको जनआन्दोलनमा उनी जेलमुक्त भइसकेका थिए ।

त्यसपछि उनलाई पार्टीले पर्वतमा खटायो । त्यहाँ उनको नेतृत्वमा आन्दोलन चर्किएपछि तत्कालीन स्थानीय प्रशासनले उनको टाउकोको मूल्य ५० हजार रुपैयाँ तोकेको थियो । उनी पार्टीको निर्देशनमा मुस्ताङमा पनि खटिए । ०५४ सालको स्थानीय निर्वाचनमा पर्वतमा गाविस अध्यक्ष भएर जिविस सभापतिमा निर्वाचित भए । त्यसअघि ०४७ सालमा केपी ओली नेतृत्वमा गठित युवा संघ नेपालको सदस्य हुँदै उनी सचिवसम्म भए । ०५४ सालमा नेपालगन्ज महाधिवेशनबाट उनी वैकल्पिक केन्द्रिय सदस्य बने । जनकपुरमा सम्पन्न सातौ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भए पनि केन्द्रीय सल्लाहकारमा मनोनीत भए । बुटवलको आठौँ महाधिवेशन र काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट उनी केन्द्रिय सदस्य भए । हाल उनी एमालेको पोलिटब्युरो सदस्य छन् ।

उपाध्यक्षको निर्वाचन ४ चैतमा
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आगामी ४ चैतमा हुने भएको छ । राष्ट्रिय सभाको अध्यक्ष एमालेले लिने भएपछि उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति छ । अध्यक्ष पुरुष हुने भएकाले उपाध्यक्ष महिला हुनेछिन् । उपाध्यक्षमा विना पोखरेल, शशिकला दाहाल र युटोन लामामध्ये एकजना हुन सक्ने माओवादी केन्द्रका सांसद दीनानाथ शर्माले बताए ।

तर, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारमा सहभागी हुन वार्ता जारी रहेकाले उपाध्यक्षको नाम फाइनल नगरिएको उनको भनाइ छ । फोरमले तीन मन्त्रीसहित उपसभामुख वा राष्ट्रिय सभाको उपाध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ । राजपाले सोहीअनुसार भागन्डा हुनुपर्ने दाबी गरेको शर्माले बताए । एमाले र माओवादीले फोरमलाई दुई मन्त्रीसहित एक राज्यमन्त्री दिनेगरी छलफल अगाडि बढाएका छन् । फोरमसँगको वार्ता टुंगिएपछि मात्र माओवादीले उपाध्यक्षको नाम टुंगो लगाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु