नगरप्रमुख चौधरीको दायाँ तर्फको मृगाैला नजिकै गोली भेटियो, थप उपचार हुँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

नगरप्रमुख चौधरीको दायाँ तर्फको मृगाैला नजिकै गोली भेटियो, थप उपचार हुँदै

तस्बिर : चन्द्रकला क्षेत्री/ नयाँ पत्रिका

सोमबार राति अज्ञात समूहको आक्रमणमा परेका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली भेटिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको चाँडै अप्रेसन गरेर गोली निकाल्ने तयारी भइरहेको हाल काठमाडौँमै रहेका एमाले कैलालीका अध्यक्ष तथा प्रदेश नम्बर ७ का सामाजिक मन्त्री दीर्घबहादुर सोडारीले नयाँ पत्रिकालाई बताए । चिकित्सकलाई उद्धृत गर्दै नगरप्रमुख चौधरी खतरामुक्त रहेको पनि उनले बताए ।

चौधरीको टाउकोमा पनि खुकुरी प्रहार भएको छ । उनलाई सोमबार राति नै उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा गोली लागेको ठाउँमा गोली रहे नरहेको पत्ता लाग्न नसकेपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा उनलाई काठमाडौं लगिएको थियो ।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले नगर प्रमुख चौधरीमाथि पहिलो खुकुरी र पछि गोली प्रहार भएको थियो । चौधरीमाथि आक्रमण गरेपछि दुई जना मोटरसाईकलमा र अरू दुई जना मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । सोमबार राति नै से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घर नजिकैबाट बरामद गरेको थियो ।

यसैबीच घट्नाको कैलालीमा रहेका एमाले, माओवादी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीले नगर प्रमख चौधरीमाथि आक्रमण गर्ने दोषि पत्ता लगाएर कारवाही गर्नुपर्ने माग गरेका छन् ।

दोषिमाथि कारवाही गर्न र मान्छे बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गर्दै थारूवादी संगठनहरू थारू कल्याणकारी सभा, थारू नागरिक समाज, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, थारू विद्यार्थी समाज र थारू महिला समाजले पनि विज्ञप्ति जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया