गम्भीर प्रकृतिका बिरामीलाई बेलबारी नगरपालिकाले २५ हजारका दरले सहयोग गर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

गम्भीर प्रकृतिका बिरामीलाई बेलबारी नगरपालिकाले २५ हजारका दरले सहयोग गर्ने

मोरङको बेलबारी नगरपालिकाले गम्भीर प्रकृतिका पाँच प्रकारका रोगका बिरामीको उपचारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले क्यान्सर, मुटुरोगी, मिर्गौला प्रत्यारोपण, बोनम्यारो प्रत्यारोपण र स्पाइनल इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको उपमेयर ढाकाकुमारी पराजुलीले जानकारी दिइन् ।

सहयोगका लागि नगरपालिकाले बिरामीलाई सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । उपमेयर पराजुलीले गम्भीर प्रकृतिका रोगबाट पीडितहरूको खोजी तथा रिपोर्ट संकलनको कार्य भइरहेको बताइन् । नगरपालिकाले सहयोग उपलब्ध गराउने निर्णयपश्चात् अहिलेसम्म ११ जना पीडितले नगरपालिकामा सहयोगका लागि सम्पर्क गरेका छन् । नगर कार्यपालिकाले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णण गरेपछि विपन्न नागरिक खुसी भएका छन् ।

आधिकारिक अस्पतालमा उपचार गरेको प्रमाणसहित नगरपालिकामा सम्पर्क गरे पनि बिरामीलाई सहयोग उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । यसैबीच बेलबारी नगरपालिकामा प्राकृतिक प्रकोपपीडितका सहयोगका लागि छुट्टै राहत कोषको समेत स्थापना गरिएको छ । राज्यको मात्रै नभई जनसहभागिताका आधारमा राहत कोष स्थापना गर्नका लागि विभिन्न संघसंस्थासँग छलफल भइरहेको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया