मेयर चौधरीमाथि भएको आक्रमणको जिम्मा नेकपाले लिएन - Naya Patrika
eNaya Patrika
  • ePaper

मेयर चौधरीमाथि भएको आक्रमणको जिम्मा नेकपाले लिएन

विप्लव नेतृत्वको माओवादीले घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमण आफूहरूबाट नभएको जनाएको छ । ‘चौधरीमाथि भएको गोली एवं खुकुरी प्रहार घटना सुनियोजित हो’ नयाँ पत्रिकासँग टेलिफोनमा कुराकानी गर्दै जिल्ला सचिवालय सदस्य विनोद विष्टले भने ‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारवाही गर्ने पक्षमा छैन् ।’

उनका अनुसार पार्टीले अहिले कालोमोसो दल्ने, जनसहभागितामा भ्रष्टाचारीलाई कारवाही गर्ने लगायतका काम गरिरहेको छ । पार्टीले हतियार उठाएर कसैमाथि आक्रमण गर्ने कार्यक्रम नरहेको उनले बताए ।

पार्टीले नगर प्रमुख चौधरीमाथि कारवाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भएपनि उक्त आक्रमण आफूहरुले नगरेको उनले बताएका छन् । यस आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई पक्राउ गरी सोधपुछका लागि ईलाका प्रहरी कार्यालय सुखडमा राखेको छ ।

राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयमसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

विप्लव माओवादीले कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेका सबैलाई विना सर्त रिहाई गर्नुपर्ने, घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने लगायतका माग गरेको छ ।

घरमै बसिरहेका बेला सोमबार साँझ नगर प्रमुख चौधरीमाथि आक्रमण भएको थियो । घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिह कार्कीले बताए ।

चौधरीको कम्मर मुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ । उनलाई कोहोलपुरबाट १० बजेर १० मिनेटमा आर्मीको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए । प्रहरील से २ प ३६७१ नम्बरको मोटरसाइकल नगर प्रमुखको घरबाट बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु