उत्तर कोरियासँगको वार्ता महत्वपूर्ण हुन सक्नेः ट्रम्प - Naya Patrika
eNaya Patrika
  • ePaper

उत्तर कोरियासँगको वार्ता महत्वपूर्ण हुन सक्नेः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता विश्वका लागि महत्वपूर्ण हुन सक्ने बताएका छन् ।

उत्तर कोरियासँग वार्तापछि दुई राष्ट्रबीचको सम्बन्धसमेत सुधार हुने ट्रम्पले जनाएका छन् । ‘उत्तर कोरियासँग हुने भनिएको वार्तालाई सकारात्मक रूपमा लिएको छु,’ ट्रम्पले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सोमबार कुराकानी गर्दै भने, ‘यो वार्ताले सिंगो विश्वलाई हितकारी बनाउने विश्वास लिएको छु ।’

जापान र दक्षिण कोरियासँग वार्ता
ट्रम्पले उत्तर कोरियासँग वार्तामा बस्नुअघि जापान र दक्षिण कोरियाका उच्चनेतासँग विशेष वार्ता गरेको जानकारी दिएका छन् । ‘उत्तर कोरियासँगको वार्ता सामान्य होइन, यसले इतिहास रच्ने विश्वास छ,’ ट्रम्पले भने, ‘मैले आफ्नो तयारीस्वरूप पनि जापान र दक्षिण कोरियाका माथिल्लो स्तरका नेतासँग पनि वार्ता गरेको छु ।’ जापान र दक्षिण कोरियाका समकक्षी नेता पनि उत्तर कोरियासँगको वार्ताबाट सकारात्मक र उत्साहित भएको ट्रम्पले बताए ।

मे महिनामा हुन सक्छ वार्ता
अन्तर्राष्ट्रिय एजेन्सीहरूले अमेरिका र उत्तर कोरियाबीच आउँदो मे महिनामा वार्ता हुन सक्ने दाबी गरेका छन् । तर, अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने स्थानको खुलासा भएको छैन । यता, उत्तर कोरियाली नेता उनसँग वार्तामा बस्नुअघि ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग छुट्टै छलफल गर्न सक्ने एजेन्सीहरूले जनाएका छन् ।

प्रतिबन्धबारे पुनर्विचार
पछिल्लो डेढ वर्षमा लगातार आणविक हातहतियार परीक्षण गरेका कारण उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाएको अवस्था छ । विशेषतः अमेरिकाले नै उत्तर कोरियामाथि दीर्घकालीन रूपमा विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको छ । नेता किमले गरेको आणविक परीक्षण नगर्ने वाचा र अमेरिकासँगको वार्ताले अब उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धबारे पुनर्विचार हुन सक्ने अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन् । अमेरिकासँगको वार्ता सकारात्मक भए उत्तर कोरियामाथिको प्रतिबन्ध हट्न सक्छ ।

तयारीपछि मात्र वार्ता
यता, राष्ट्रपति ट्रम्पका प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियासँग आगामी दिनमा हुने भनिएको वार्ताका लागि व्यापक तयारी गरिरहेको उत्तर क्लिन्टनलाई फर्काएका छन् । ‘उत्तर कोरियासँग आगामी दिनमा हुने वार्ताका लागि हामीले तयारी सुरु गरिसकेका छौँ,’ उनले भने ।

ट्रम्प उत्साहित
उत्तर कोरियासँगको वार्तालाई लिएर ट्रम्प उत्साहित बनेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

‘हामी पनि उत्तर कोरियासँग वार्ता गर्न चाहिरहेका थियौँ, यसबीच उसको प्रतिबद्धता पनि सार्वजनिक भयो,’ उनले भने, ‘यस वार्तालाई विश्वले नै ठूलो चासोका साथ हेर्नेछ ।’ उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया तथा जापानसँग सम्बन्ध विस्तार गर्नका लागि ठूलो कदम चालेको ट्रम्पको भनाइ छ । ‘उत्तर कोरियाली नेताले आफ्नो छिमेकीसँग सम्बन्ध सुधार गर्न ठूलो निर्णय लिएको अनुभव गरेको छु,’ ट्रम्पले भने ।

किमको प्रतिबद्धता
उत्तर कोरियाली नेता किम उन जोङले आगामी दिनमा जथाभावी आणविक हातहतियार उत्पादन तथा क्षेप्यास्त्र परीक्षण नगर्ने प्रतिबद्धता जनाएका छन् । उनको प्रतिबद्धतासँगै ट्रम्पले उत्तर कोरियासँग वार्तामा बस्न सहमति जनाएका हुन् ।

‘उत्तर कोरियाले वाचा गरेको छ, आउँदा दिनमा जथाभावी हातहतियार निर्माण नगर्ने र क्षेप्यास्त्रसमेत प्रयोग नगर्ने प्रतिबद्धता जनाएको छ, यसले अमेरिकालगायत विश्वलाई नै खुसी बनाएको छ,’ ट्रम्प भन्छन्, ‘उत्तर कोरियाको सकारात्मक सोचसँगै हामी पनि नरम बनेका हौँ ।’ ट्रम्पले अगाडि थपे, ‘उत्तर कोरियाले आणविक हातहतियार परीक्षण रोक्ने आश्वासन दिएको छ, उसले आगामी दिनमा परीक्षण गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई वार्ताप्रति उत्साह जागेको छ ।’

वार्ताको तयारी पुगेनः  क्लिन्टन
अमेरिकी पूर्वविदेशमन्त्री तथा डेमोक्र्याटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले उत्तर कोरियासँग हुने वार्ताका लागि पर्याप्त तयारी नभएको दाबी गरेकी छिन् ।

ट्रम्प प्रशासनले पर्याप्त तयारी नगरी हचुवाका भरमा उत्तर कोरियासँग वार्तामा बस्न लागेको आरोप क्लिन्टनले लगाएकी छिन् । ‘उत्तर कोरियासँग गर्ने भनिएको वार्ताका लागि आवश्यक तयारी नै भएको देखिँदैन,’ उनी भन्छिन्, ‘उत्तर कोरियासँग वार्ता त्यति सहज छैन, वार्तामा धेरै पक्षमा संवेदनशीलता अपनाउनुपर्छ, त्यसबारे केही विचार नै भएको जस्तो लाग्दैन ।’ संवेदनशील वार्तालाई सघाउनका लागि गर्नुपर्ने कूटनीतिक तयारी ट्रम्प प्रशासनले गर्न सक्नेमा आफू विश्वस्त नभएको उनले बताइन् । अमेरिकी एक पत्रिकासँग गरेको कुराकानीमा क्लिन्टन भन्छिन्, ‘किमसँग आणविक हतियारका विषयमा वार्ता गर्नुपूर्व धेरै कुरामा विचार गर्नुपर्छ, त्यस वार्ताको संवेदनशीलताबमोेजिम तयारी पनि गर्नुपर्छ ।’

ट्रम्प प्रशासनको कमजोरीका कारण अमेरिकी विदेश मन्त्रालयलाई पछिल्लो समय आएर कमजोर बनेको आरोप लगाउँदै क्लिन्टनले अहिलेकै अवस्थामा उत्तर कोरियासँग वार्ता सफल हुनेमा आफू विश्वस्त नभएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु