बिहे गरिन् अशिष्माले - Naya Patrika
eNaya Patrika
  • ePaper

बिहे गरिन् अशिष्माले

अभिनेत्री अशिष्मा नकर्मीले लगनगाँठो कसेकी छिन् । उनले सोमबार काठमाडौं, नयाँ बानेश्वरका युवक नवीनचन्द्र प्रधानसँग कालिमाटीस्थित एक पार्टी प्यालेसमा नेवारी परम्पराअनुसार बिहे गरेकी हुन् ।

अन्तराल फिल्मबाट ठूलो पर्दाको अभिनय यात्रा सुरु गरेकी अशिष्माले त्यसअघि नै नेवारी भाषाका केही फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

हिरोइनका रूपमा अशिष्माको करिअरले भने उचाइ लिन सकेको छैन । परिवारको इच्छाअनुसार आफूले मागी विवाह गरेको दाबी अशिष्माको छ । चार्टर्ड एकाउन्टेन्टका रूपमा कार्यरत नवीन अमेरिकामा बस्ने गरेको बताइन्छ ।

फिल्म, म्युजिक भिडियो अभिनयका साथै लाखे भाजु नामक नेवारी फिल्ममार्फत निर्माताका रूपमा पनि करिअर अघि बढाउँदै गरेकी अशिष्माले बिहेपछि फिल्मकर्मलाई निरन्तरता दिने सम्भावना निकै न्यून रहेको बताउँदै आएकी छिन् ।

आफ्नो भाइमार्फत नवीनसँग भेट भएको र पारिवारिक सल्लाहमा बिहे गर्ने निर्णय गरेको अशिष्माको दाबी छ । बिहेमा अशिष्माको परिवार तथा केही निकट सञ्चारकर्मी तथा फिल्मकर्मीलाई मात्र निम्त्याइएको थियो ।

तपाईको प्रतिक्रिया