एटिसी र ककपिटबीच यसरी हुन्छ संवाद - Naya Patrika
eNaya Patrika
  • ePaper

एटिसी र ककपिटबीच यसरी हुन्छ संवाद

त्रिभुवन विमानस्थलको राडारको एन्टेना आफ्नै तालमा घुमिरहेको छ । एन्टेनाले संकलन गरेका खबरहरू राडारको डिस्प्ले डायलमा हेर्न प्राविधिकहरू व्यस्त छन् । यत्तिकैमा डायलमा अंकित नेपालको दक्षिणी सीमारेखामा एउटा प्रकाशबिन्दु चम्किन्छ । प्रकाशको यो बिन्दुलाई प्राविधिकहरू ‘जहाज’ भन्छन् ।

प्रकाशको त्यो बिन्दुलाई आफ्नो नियन्त्रणमा लिएर प्राविधिकहरू डिस्प्ले डायलको केन्द्रभागतिर आकर्षित गराउँछन् । प्रकाशबिन्दु डायलको केन्द्र भागतिर अघि बढ्छ, अघि बढ्छ र अन्त्यमा केन्द्रबिन्दुमै विलीन हुन्छ । प्रकाशबिन्दु डायलको केन्द्रबिन्दुमा हुने विलयसँगै त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दछ ।

यस्तो रोचक प्रक्रियामा पनि प्राविधिकहरू दंग पर्ने फुर्सद पाउँदैनन् । उनीहरू त आन्तरिक उडानका जहाजहरू तथा नेपाली आकाशमा प्रवेश गरिसकेका अन्तर्राष्ट्रिय उडानका जहाजहरूको मार्ग, उचाइ र गतिलाई नियन्त्रण गर्न व्यस्त रहन्छन् ।

सडकमा गाडी निश्चित मार्गबाट गुडेजस्तै जहाज पनि आकाशमा निश्चित मार्गबाट उड्छन् । त्यसैगरी, हावामा कावा खाँदै उडेका देखिने जहाजहरूलाई हवाई ट्राफिकले निर्देशित गरिरहेका हुन्छन् ।

उडानका क्रममा विमानस्थलका प्राविधिक र विमानभित्रका प्राविधिकबीच हुने संवाद समन्वयको भरमा विमान उडिरहेको हुन्छ । एउटा विमानस्थलबाट उडेको विमान अर्को विमानस्थलमा अवतरण नगरुन्जेलसम्म भिएचएफ (भेरी हाई फ्रिक्वेन्सी) सञ्चार प्रणालीको माध्यमबाट यस्तो संवाद चलिरहन्छ ।

नेपालको दक्षिणी सीमारेखामा एउटा प्रकाशबिन्दु चम्किन्छ । प्रकाशको सो बिन्दुलाई प्राविधिकहरू ‘जहाज’ भन्छन् । प्रकाशको त्यो बिन्दुलाई आफ्नो नियन्त्रणमा लिएर प्राविधिकहरू डिस्प्ले डायलको केन्द्रभागतिर आकर्षित गराउँछन् । प्रकाशबिन्दु डायलको केन्द्र भागतिर अघि बढ्छ, अघि बढ्छ र अन्त्यमा केन्द्रबिन्दुमै विलीन हुन्छ । प्रकाशबिन्दु डायलको केन्द्रबिन्दुमा हुने विलयसँगै त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दछ ।

उडान प्राविधिकहरूका अनुसार कुनै पनि एअरलाइन्स कम्पनीले उडानपूर्व भर्ने उडान योजना (फ्लाइट प्लान) तयार गर्नुपर्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आइसिएओ)ले निर्धारण गरेको स्वरूपमा उडान योजनाको फारम तयार गरिएको हुन्छ ।

एयरलाइन्स कम्पनीले भर्ने यही फारमबाट निर्देशित भएर नै जहाज उडेदेखि अवतरण नगरुन्जेलसम्म विमानस्थल र जहाजभित्रका प्राविधिकले आ–आफ्नो भूमिका पूरा गर्दछन् ।

उडान योजनाको फारममा जहाजको चिनारी उल्लेख गरिन्छ । मोटर गाडीहरूको नम्बर बा.अ.ञ ३४३० भएजस्तै जहाजको नम्बर ९ एनएसिएफ हुन सक्छ । बागमती अञ्चलमा दर्ता भएको गाडीमा बा.अ.ञ भएजस्तै नेपालमा दर्ता भएको जहाजमा ‘९ एन’ राखिएको हुन्छ ।

‘९ एन’ नेपालको जहाजको राष्ट्रिय पहिचान हो । भारतीय जहाजको राष्ट्रिय पहिचान ‘आई सी’ हुन्छ भने थाई जहाजको राष्ट्रिय पहिचान ‘एच एस’ हुन्छ । ‘लन्डनमा पनि ‘९ एन’ लेखिएको जहाज देखियो भने त्यो नेपाली जहाज रहेछ भन्ने ठोकुवा गरे हुन्छ,’ प्राविधिकहरू भन्छन् ।

उनीहरूका अनुसार ‘९ एन’ राष्ट्रिय पहिचान हो भने त्यसपछि लेखिने संकेत मुलुकभित्रका जहाजको क्रमांक हो । उडान योजना तयार गर्दा नै जहाज उड्ने नियम पनि निर्धारण गरिन्छ । जहाज उडानका दुईवटा नियम हुने कुराको जानकारी दिने प्राविधिकका अनुसार उडानका क्रममा नदी, पहाड, टावर हेर्दै जहाज चलाइने नियम भिएफआर (भिजुअल लाइट रुल) भनिन्छ ।

अगाडिको कुरा आँखाले नहेरी उपकरणको सहायताले जहाज चलाइने नियमलाई आइएफआर (इन्सुमेन्ट्रल फलाइट रुल) भनिन्छ । रातमा र कुहिरो लागेको बखतमा जहाज चलाउँदा आइएफआरको परिपालन गरिन्छ । उज्यालो दिनमा जहाज चलाउँदा भिएफआरको प्रयोग गरिन्छ । तर, सबै अन्तर्राष्ट्रिय उडानहरूमा भिएफआरको अनुशरण गरिन्छ ।

उडान भर्ने जहाजमा के–कस्ता उपकरण छन् भन्ने कुरा पनि उडान योजनामा खुलाउन लगाइन्छ । सम्बन्धित विमानस्थलबाट जहाज कति बजे उड्ने हो र कति बजे कुन विमानस्थलमा अवतरण गर्ने हो भन्ने कुरा पनि उडान योजनाको अर्को महत्वपूर्ण प्रश्न हो ।

सबै देशमा उडान समय ग्रिनविच समयअनुसार निर्धारण गरिएको हुन्छ । ग्रिनविच समय नेपाली समयभन्दा ५ घन्टा ४५ मिनेट ढिला छ ।

जहाज उडान सुरु गरेको केही समयमा आफ्नो उचाइमा पुग्छ र समान्यतया त्यही उचाइभन्दा तलमाथि नभई गन्तव्यतर्फ अघि बढ्छ । अवतरणको तयारी गर्नुपूर्वसम्म जहाजले कुन उचाइमा र कुन गतिमा उडिरहने भन्ने सर्त पनि पहिल्यै तय हुनुपर्दछ ।

प्राविधिकका अनुसार हेलिकोप्टरहरू सामान्यतया आफ्नो गतिमा ८० नटिकल माइल प्रतिघन्टाको दरले उड्छन् भने एयरबसहरू ५०० नटिकल माइल प्रतिघन्टाका दरले उड्छन् । सडकमा किलोमिटर (केएम)को गुणा हुन्छ भने हावामा नटिकल माइल (एनएम)को गणना हुन्छ । १.६ किलोमिटर बराबर १ नटिकल माइलको हिसाब गरेर जहाजको प्रतिघन्टा गति निकालिन्छ ।

अब अर्को महत्वपूर्ण पक्ष मार्ग (रुट)को कुरा अगाडि आउँछ । जस्तो, पोखरा जाने बस थानकोट–मुग्लिङ–डुम्रेको बाटो जान्छ भने दिल्ली जाने जहाज काठमाडौं–भरतपुर–भैरहवा हुँदै भारततिर जान्छ । नेपालमा आउने सबै अन्तर्राष्ट्रिय जहाजहरू सिमराको आकाश भएर मात्र आउँछन् ।

तर, नेपालबाट बाहिर जाने जहाजका लागि चारवटा मार्ग निर्धारण गरिएको छ । जसअनुसार मुम्बई र बनारस जाने जहाज सिमराको बाटो, बैंकक र सिंगापुर जाने जहाज जनकपुरको बाटो, हङकङ र जापान जाने जहाज विराटनगरको बाटो तथा दिल्ली र पाकिस्तान जाने जहाज भरतपुर–भैरहवाको बाटो भएर विदेशतिर लाग्छन् ।

सबै हवाईमार्ग विमानस्थलको माथि–माथिबाट निर्धारण गरिएका हुन्छन् र सबै मार्गको सांकेतिक नाम पनि राखिएको हुन्छ । सिमरा मार्गको नाम– जी ३३६, विराटनगरको बाटोको नाम आर ३३४, जनकपुरको बाटोको नाम आर ३२५ र भैरहवाको बाटोको नाम बी ३४५ राखिएको छ ।

जहाजले कति इन्धन बोक्छ भन्ने कुरालाई पनि महत्व दिइन्छ । ‘तर कति लिटर भनिँदैन, कति घन्टाका लागि भनेर सोधिन्छ,’ प्राविधिकहरू भन्छन् । सामान्यतः गन्तव्यसम्म पुग्नका लागि आवश्यकभन्दा दोब्बर बढी समयका लागि जहाजले इन्धन बोक्ने गर्दछन् ।

यसका अतिरिक्त जहाजको रङ कस्तो छ ? यात्रु कति बोक्ने हो ? आकस्मिक अवतरण गर्नुपरे वैकल्पिक विमानस्थल कुन हो ? जहाज कति घन्टा उड्ने हो ? भन्नेजस्ता कुराको पनि निर्धारण गरेर एअरलाइन्स कम्पनीले भरेको फारमअनुसार नै एयर ट्राफिक सर्भिस, रिपोर्ट अफिस (एटिएसआरओ)ले सम्बन्धित एअरलाइन्सलाई उडानको अनुमति दिन्छ ।

पूर्वस्वीकृत उडान योजनाका आधारमा चालकले जहाज चलाउँछन् भने ट्राफिकहरूले पनि त्यही निर्देशनका आधारमा जहाजलाई नियन्त्रण गर्दछन् । यस क्रममा विमानस्थलमा सञ्चालित तीनवटा निकायले जहाजको रेखदेख र नियन्त्रण गर्छन् । चालू भएदेखि जहाजले ५ नटिकल माइलको दूरीमा रहुन्जेलसम्म विमानस्थलको टावरले रेखदेख र नियन्त्रण गर्दछ ।

उडान योजना स्वीकृत भएपछि उडानभन्दा १०–१५ मिनेटपूर्व जहाजचालकले विमानस्थलको टावरमा सम्पर्क राख्छन् । टावरले तत्कालीन अवस्थाको मौसम, तापक्रम, हावाको प्रेसरलगायत सवालमा चालकलाई संक्षिप्त जानकारी दिएपछि पार्किङबाट जहाज गुड्ने बाटो (रन वे)सम्म पु-याउने अनुमति दिइन्छ ।

यात्रु अथवा सामान भरिएपछि तत्कालीन अवस्थामा चलिरहेको हावाको बहावको विपरीत दिशाबाट जहाजलाई उड्ने अनुमति दिइन्छ । हावाको बहावलाई चिरेर उचाइ लिन सजिलो हुन्छ भनेर यसो गरिने कुरा प्राविधिक बताउँछन् ।

पूर्वस्वीकृत उडान योजनाका आधारमा चालकले जहाज चलाउँछन् भने ट्राफिकहरूले पनि त्यही निर्देशनका आधारमा जहाजलाई नियन्त्रण गर्दछन् । यस क्रममा विमानस्थलमा सञ्चालित तीनवटा निकायले जहाजको रेखदेख र नियन्त्रण गर्छन् ।

चालु भएदेखि जहाजले ५ नटिकल माइलको दूरीमा रहुन्जेलसम्म विमानस्थलको टावरले रेखदेख र नियन्त्रण गर्दछ । ५ नटिकल माइलदेखि ५० नटिकल माइलसम्म यो काम एप्रोच शाखाले गर्छ भने ५० नटिकल माइलदेखि नेपालको अन्तिम सीमारेखासम्मको बाँकी काम एअर कन्ट्रोल सेन्टर (एसिसी)ले पूरा गर्छ ।

आ–आफ्नो दूरीगत क्षेत्रमा सम्बन्धित निकायले जहाज चालकसँग भिएचएफबाट सम्पर्क गरिरहेका हुन्छन् भने राडार (रेडियो डिटेक्सन एन्ड -यांगिङ)बाट जाने तरंगले जहाज र विमानस्थलबीचको सम्बन्धलाई कायम गरिरहेको हुन्छ । यस्ता तरंगहरू दुई प्रकारका हुन्छन् । प्राइमरी वेभ जहाजमा ठोकिँदै राडारमा फर्किंदै गर्छ ।

यही वेभका आधारमा राडारले जहाज कति टाढा पुग्यो र कति उचाइमा छ भन्ने थाहा पाउँछ । उता, सेकेन्डरी वेभले भने जहाजको ट्रान्सपोन्डर उपकरणमा ठोकिन्छ र ट्रासपोन्डरले जहाजका बारेमा खबर अर्को फ्रिक्वेन्सीबाट पठाउँछ । नेपालका केही जहाजहरू र सबै अन्तर्राष्ट्रिय उडानमा सेकेन्डरी वेभ प्रणालीको व्यवस्था छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा जाने उडानका लागि नेपालको हवाई नियन्त्रण केन्द्र (एसिसी)ले नेपाली आकाश पार गरेपछि विमान सम्बन्धित देशको विमानस्थललाई हस्तान्तरण गर्दछ । यता, स्वदेशी र अझ छोटा उडानका लागि भने ५ नेटिकल माइलसम्म टावरले ५० नटिकल माइलसम्म एप्रोचले सीधै विमानस्थलको जिम्मा पनि लगाउँछ ।

विमानस्थलमा जाने जहाजको लागि जसरी टावर, एप्रोेच र एसिसीबीच क्रमिक हस्तान्तरण हुन्छ, अन्य विमानस्थलबाट आउने जहाजका लागि एसिसी, एप्रोच र टावरबीच हस्तान्तरणको विपरीत प्रक्रिया चल्छ ।

जहाज अवतरण गराउने क्रममा कहिलेकाहीँ एकैपटक धेरै जहाज आए भने विमानस्थलमा ट्राफिक जाम पनि हुन सक्छ । यस्तो अवस्थामा टावरले केही जहाजलाई आकाशमै घुम्न (हेल्ड अन) लगाएर क्रमशः अवतरण गराउँछ ।

विमानस्थलका प्राविधिक र विमानको महत्वपूर्ण संवाद कहिलेकाहीँ विच्छेद पनि हुन सक्छ । सम्बन्धविच्छेद, सञ्चारमाध्यममा आउने गडबडी, अपहरण अथवा जहाज दुर्घटनाका कारण हुने गरेको कुरा अनुभवी प्राविधिकहरू सुनाउँछन् ।

‘सम्बन्धविच्छेद भएको दुई घन्टासम्म सञ्चारमाध्यमको गडबडीले हो कि भन्ने शंका रहन्छ । दुई घन्टासम्म पनि सञ्चार सम्पर्क हुन सकेन भने जहाज दुर्घटनामा परेको मानिन्छ र खोजी सुरु हुन्छ,’ प्राविधिकहरू भन्छन् ।

तपाईको प्रतिक्रिया