उत्तर कोरियाको जवाफ खै ? - Naya Patrika
eNaya Patrika
  • ePaper

उत्तर कोरियाको जवाफ खै ?

दक्षिण कोरियाका तर्फबाट सोमबार उत्तर कोरिया र अमेरिकाबीच आगामी संवादका विषयमा विशेष जानकारी अगाडि आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार उत्तर कोरियासित प्रत्यक्ष संवाद गर्ने विषयमा सहमति जनाएका थिए ।

दक्षिण कोरियाली अधिकारीका अनुसार किम जोङ उन आफ्नो आणविक हतियार समाप्त गर्न तयार थिए ।यद्यपि, यस कुराकानीलाई लिएर कुनै पनि प्रकारका जानकारी उपलब्ध छैनन् ।

यसका साथै यस शिखर सम्मेलनका एजेन्डा र आयोजनास्थललाई लिएर पनि अहिलेसम्म कुनै प्रकारको सहमति बनेको छैन ।यस्तोमा विशेषज्ञहरू यस शिखर सम्मेलनको जटिलता देखेर यसको परिणामप्रति सशंकित छन् ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ताले सोमबार भने, ‘हामीलाई उत्तर कोरियाली सरकारका तर्फबाट अमेरिका–उत्तर कोरिया सम्मेलनबारे कुनै आधिकारिक प्रतिक्रिया र कुनै जानकारी प्राप्त भएको छैन ।

मलाई लाग्छ, उनीहरू यस मामिलालाई सावधानीपूर्वक हेरिरहेका छन् । उनीहरूलाई ठीक ढंगमा आफ्नो पक्ष राख्नका लागि केही समय आवश्यक छ ।’

ट्रम्पसित यसबारे कुराकानी गर्ने दक्षिण कोरियाली अधिकारी अहिले चीन र जापानको यात्रामा छन्, जहाँ उनले दुवै देशका नेतालाई यस सम्मेलनबारे जानकारी दिनेछन् ।

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकार चंग इयु योङ चिनियाँ राष्ट्रपति सी जिनपिङसित भेट गर्न गइरहेका छन् भने गुप्तचर सेवाका प्रमुख सुह हुन जापानमा सिन्जो अबेसित भेट गर्न गइरहेका छन् ।

संसारलाई चकित पार्ने घटना
उत्तर कोरिया र अमेरिकाबीच गत वर्ष तिखो वक्तव्यबाजीको एउटा लामो सिलसिला चलेको थियो । यस्ता वक्तव्यबाजी चल्दै गर्दा संसारका नेताहरूले सैनिक युद्ध हुने आशंका व्यक्त गरेका थिए ।

उत्तर कोरियाले गत वर्ष कैयौँ परीक्षण गर्नुका साथै लामो दूरीका मिसाइल पनि विकसित गरेको थियो । उत्तर कोरियाका अनुसार यी मिसाइलले अमेरिकासम्म आणविक बम लैजान सक्छन् ।

दुवै देशका नेताबीच आगामी संवाद एक अप्रत्याशित घटना हुनेछ । किनकि, अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले पदमा रहँदारहँदै कुनै पनि उत्तर कोरियाली नेतासित कुराकानी गरेका छैनन् ।

तर, यस संवादसित जोडिएका जानकारी अहिलेसम्म सार्वजनिक भएका छैनन् । प्यासिफिक फोरम (पिएसआइएस)मा अनुसन्धानरत एन्ड्र अब्राहमियनले बिबिसीलाई बताए, ‘प्योङयाङ सायद यस प्रस्तावलाई लिएर अमेरिकाबाट आइरहेका प्रतिक्रिया हेर्न चाहन्छ ।

ह्वाइटहाउसका तर्फबाट यसबारे पर्याप्त भ्रमपूर्ण स्थिति पैदा गरिएको छ । यस्तोमा ठीक यसै विषयमा सार्वजनिक घोषणा गर्नुअघि स्थिति प्रस्ट पारियोस् भन्ने उसको अपेक्षा हुन सक्छ ।’

उत्तर कोरियाली सरकारका तर्फबाट अमेरिका–उत्तर कोरिया सम्मेलनबारे कुनै आधिकारिक प्रतिक्रिया र कुनै जानकारी प्राप्त भएको छैन । सायद उनीहरू यस मामिलालाई सावधानीपूर्वक हेरिरहेका छन् ।

उत्तर कोरियालाई प्रतिबन्धबाट राहत
सबै कुरा ठिकठाक रह्यो भने उत्तर कोरियाली नेता किम जोङ उनको ट्रम्पसित मेको अन्त्यसम्म भेटवार्ता हुनेछ । यसपछि किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच अलग्गै बैठक हुनेछ ।

अमेरिका र उत्तर कोरियाली सम्बन्धमाथि विशेष ध्यान राख्नेहरू यस बैठकलाई लिएर दुई धारमा बाँडिएका छन् । एक धारका अनुसार यस बैठकबाट प्योङयाङको आणविक हतियार अन्त्य गर्ने बाटो खुल्नेछ ।

अर्को धारका अनुसार उत्तर कोरिया लामो समयदेखि चल्दै आएको अन्तर्राष्ट्रिय प्रतिबन्धमा छुट पाउने कोसिसमा छ ।

अब्राहमियन भन्छन्, ‘यस सम्मेलनमार्फत उनको तात्कालिक उद्देश्य प्रतिबन्धबाट राहत हासिल गर्नु नै हुनेछ । कैयौँ विशेषज्ञका अनुसार किम जोङ उनले यस शिखर सम्मेलनको उपयोग प्रोपोगान्डाका लागि गर्नेछन् । यो त्यति ठूलो चिन्ताको विषय होइन ।

यसको अर्थ यो होइन कि अमेरिका उत्तर कोरियाको राजनीतिक प्रणाली र मानवअधिकारको क्षेत्रमा उनीहरूको प्रदर्शन र हतियारको भण्डारणमा आफ्नो सहमति दिइरहेको छ ।’

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डटकम/हिन्दीबाट

तपाईको प्रतिक्रिया