नेपालको जितले अफगानिस्तान सुपर सिक्समा - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपालको जितले अफगानिस्तान सुपर सिक्समा

रोहितकुमार पौडेल र सोमपाल कामीले छैटौँ विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेपछि सोमबार नेपालले विश्वकप क्रिकेट छनोटको समूह बीको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेको छ ।

जितसँगै नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना यथावत् छ । यद्यपि, हङकङलाई हराए पनि कमजोर रनरेटका कारण नेपाल सुपर सिक्समा पुग्न असफल भयो । पहिलो ब्याटिङ गरेको हङकङ ४८.४ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । नेपालले ४०.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोड्यो ।

रोहित र सोमपाल नायक
हङकङविरुद्धको गर या मरको खेलमा मध्यक्रमका युवा स्टार सोमपाल र रोहितकुमारले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालको जित सम्भव भयो । पौडेलले ८६ बलमा ५ चौकाको मद्दतमा ४८ रन बनाए । सोमपालले ४० बलमा ३७ रन जोड्दा ५ चौका प्रहार गरे । ओपनर ज्ञानेन्द्र मल्लले १२, अनिलकुमार साहले २६, कप्तान पारस खड्काले ११ र दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए । यी ब्याट्सम्यान आउट हुँदा नेपाल ६६–५ को कमजोर स्थितिमा थियो । हङकङको ब्याटिङ इनिङमा निजाकत खानले ४७ रनको सर्वाधिक योगदान दिए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी र वसन्त रेग्मीले समान २–२ विकेट हात पारे ।

अब प्लेअफ
हङकङलाई हराउँदा नेपाललाई एउटा फाइदा भएको छ । समूह बीको चौथो स्थानमा रहेको नेपालले एकदिवसीय मान्यताका लागि अब क्रस प्लेअफ खेल्नेछ । नेपालले समूह एको पाँचौँ स्थानमा रहेको पपुवान्युगिनीसँग क्रस प्लेअफ खेल्नेछ । सो खेलमा विजयी भएमा नेपालले सातौँ स्थानका लागि अर्को खेल खेल्नेछ । त्यस खेलमा जित निकाल्दा नेपालले सन् २०२२ सम्म अस्थायी एकदिवसीय मान्यता प्राप्त गर्नेछ । यता, अर्र्को प्लेअफ हङकङ र नेदरल्यान्डबीच हुनेछ । हङकङ समूह बीको पाँचौँ र नेदरल्यान्ड समूह एको चौथो स्थानमा सीमित भए ।

सुपर सिक्स समीकरण पूरा
विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । समूह एबाट वेस्टइन्डिज, आयरल्यान्ड र युएईले अन्तिम ६ मा स्थान बनाए । अर्को समूहबाट आयोजक जिम्बावेसहित स्कटल्यान्ड र अफगानिस्तान छनोट भए । यता, हङकङ पराजित हुँदा रनरेटका आधारमा अफगानिस्तान सुपर सिक्समा छनोट भएको हो । नेपाल, हङकङ र अफगानिस्तानले समान चार खेलबाट समान २–२ अंक जोडे । रनरेटमा अफगानिस्तानले बाजी मार्‍यो ।

तपाईको प्रतिक्रिया