बोक्सी प्रथाबारे प्रश्नैप्रश्न - Naya Patrika
eNaya Patrika
  • ePaper

बोक्सी प्रथाबारे प्रश्नैप्रश्न

नेपालमा एकातिर महिलाको प्रतिनिधित्व स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभामा बढ्दै छ । सरकारका विभिन्न महत्वपूर्ण ओहदामा महिलाको प्रतिनिधित्व बढ्दै गएको देखिन्छ भने अर्कोतिर महिलामाथि हिंसा घरेलु तहबाट सार्वजनिक स्थानसम्म पुगिरहेको छ ।

सामूहिक बलात्कारको सिकार हुनुदेखि लिएर सार्वजनिक रूपमा बोक्सीको आरोपमा महिलामाथि खुलमखुला हिंसा भइरहेको देखिन्छ ।

सन्दर्भ हो, हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिनमै कैलाली जिल्ला, घोडाघोडी नगरपालिकाकी कक्षा ११ मा पढ्दै गरेकी १८ वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा ६ घन्टासम्म गरिएको जघन्य कुटपिटको घटना ।

यतिखेर समाचार, लेख, रचना र सामाजिक सञ्जालमा यस घटनाका दोषी झाँक्री रामबहादुर चौधरी, पिट्ने कार्यमा सहयोग गर्ने पार्वती चौधरीमाथि कारबाही हुनुपर्छ भन्ने माग आइरहेको छ ।

घटना घटेको नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, जसले पीडक र पीडितबीच मेलमिलाप गराउन खोजे र सो घटनाको जाहेरी लिन नमान्ने प्रहरी नायब निरीक्षक (सई) दिनेश विष्टलाई समेत कारबाही गर्नुपर्छ भन्ने माग आइरहेको छ ।

यति मात्र नभई करिब एक सय ५० भन्दा बढीको जनसमुदाय, जसले मूकदर्शक भई ती कथित बाबाको कुकृत्यमा ताली पिटेर रमिता हेरिबसे ।

तिनले आफ्नै गाउँसमाजकी एउटी चेलीमाथि अत्याचार भइरहँदा पनि किन त्यस कृत्यविरुद्ध आवाज उठाउन सकेनन् ? प्रश्न चौतर्फी रूपमा उठिरहेको छ ।

हो, यस घटनाका दोषीमाथि कडा कारबाही हुनुपर्छ । तर, त्यससँगै, अचेतनामा परेका जनतामा बढीभन्दा बढी चेतना फैलाउनुपर्छ ।

देशभित्र बढ्दै गएको बलात्कार र बोक्सी आरोपका घटनालाई हामीले समग्रतामा बुझ्न जरुरी छ । अहिले विश्वमै विचारको संकट, आर्थिक असन्तुलन र आप्रवासले ल्याएको सामाजिक विखण्डनको सिकार प्रत्येक देशभित्रका महिला, अझ त्यसभित्रका गरिब, उत्पीडित समुदायका महिला हिंसाका सिकार भइरहेका छन् ।

चाहे त्यो नाइजेरियामा बोको हरामद्वारा स्कुले छात्रालाई अपहरण गर्ने विषय होस् वा अत्याधुनिक मानिने उपभोक्ता संस्कृतिमा चुर्लुम्म डुबेको अमेरिकामा सेतो छालाको वर्चस्वभित्र कालो छालाका महिलालाई उपभोग्य वस्तु बनाउने विषय होस्, सर्वत्र पीडित महिलाका कथाव्यथा उस्तैउस्तै छन् ।

उसो त बोक्सी प्रथा युरोपदेखि चीनसम्म इतिहासमा चल्दै आएको देखिन्छ । त्यतिवेला बोक्सी प्रथाबाट महिला मात्र नभई पुरुष र बालबालिका पनि पीडित हुने गर्थे ।

कतिपय विशिष्ट अवस्थामा घरानिया वर्गका सदस्य र पादरीसमेत त्यसका सिकार हुन्थे । यस्ता घटना प्रायः विपत्ति, प्रलय, युद्धको संघार, आमभोकमरी, अभाव र डिपे्रसन भएको वेलामा घटिरहन्थ्यो ।

आज पनि यस्तै अवस्थामा बोक्सी प्रथाले टाउको उठाएको देखिन्छ । यद्यपि, नयाँ रूप लिएर आजकल यस्ता घटना प्रायः महिलामाथि, अझ त्यो पनि एकल महिला, उत्पीडित समुदायका महिला र गरिब महिलामाथि भइरहेका देखिन्छ ।

जब कुनै समुदायको परम्परागत सामाजिक संरचना भत्कन थाल्छ, त्यहाँ विचार र सोचमा समेत संकट आउँछ । त्यस्तो अवस्थामा अग्रगामी निकास नपाउँदा पश्चगामी विचार पुरानो रीतिरिवाज वा धर्मका नाममा बलशाली बनेर आउन थाल्छ ।

अनि सामूहिक पहिचान, अस्तित्व, सुरक्षा वा देउताका नाममा कुनै व्यक्ति वा समूहले आफ्नो वर्चस्व कायम गर्ने कुत्सित मनशायले अनेकौँ आरोप लगाएर असहाय महिलामाथि बोक्सीको आरोप लाद्न पुग्छ ।

कुरा यत्तिमा मात्र सीमित नभई त्यस समुदायमाथि राज गर्ने राज्यसत्ता र राजनेता पनि यस्ता घटनामा मौन (कतिपय अवस्थामा खुलमखुला) समर्थकका रूपमा उभिदिन्छ । देशका लागि, समाजका लागि सबैभन्दा खतरनाक नै यस्तो संस्थागत निकायहरूको समर्थन हुने गर्छ, जनु निकै घातक हुन्छ ।

जबसम्म समाजभित्रका समस्या समाधानमा राज्यसत्ता, राजनीतिक पार्टी र नागरिक समाजले पहल लिँदैनन्, तबसम्म धर्मका नाममा पश्चगामी व्यक्ति र शक्तिले आमजनता र समुदायको भय, असुरक्षा तथा अभावलाई अदृश्य शक्तिका नाममा आफूमा दैवी शक्ति भएको भान दिएर समुदायलाई उज्यालो होइन, अँध्यारोतिर डो-याउन खोज्छन्

नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाल हाल राजनीतिक, आर्थिक, सामाजिक रूपमा अन्योल, अस्थिर र अभावको अवस्थामा छ । भर्खरै बनेको संघीय, प्रादेशिक र स्थानीय संरचना अधुरो छ । जनताको मतबाट जितेका मेयर, अध्यक्ष, सांसद, मन्त्रीहरू अलमलमा छन् ।

आर्थिक रूपमा देशभित्र उत्पादन शक्ति ह्रास हुँदै गएको छ । विदेशबाट पठाएको रेमिट्यान्सको भरमा देश चलिरहेको छ, जुन सरकार र देशभित्र वा बाहिर रहेका कामदारको नियन्त्रणमा छैन । सामाजिक रूपमा परिवारका आधाभन्दा बढी सदस्य बिदेसिएका छन् ।

अधिकांश त्यस्ता परिवार विघटनको स्थितिमा छ । यस्तो अवस्थामा मान्छे, समुदाय बढी असुरक्षित, शंकालु र भड्किने स्थितिमा हुन्छ ।

जब यस्तो समस्या समाधानमा राज्यसत्ता, राजनीतिक पार्टी र नागरिक समाजले पहल लिँदैन, तब धर्मका नाममा पश्चगामी व्यक्ति र शक्तिहरूले आमजनता र समुदायको भय, असुरक्षा तथा अभावलाई अदृश्य शक्तिका नाममा आफूमा दैवी शक्ति भएको भान दिएर समुदायलाई उज्यालो होइन, अँध्यारोतिर डो-याउन खोज्छन् ।

त्यसको सिकार समाजको सबैभन्दा कमजोर असंगठित गरिब परिवार हुन जान्छ, जस्तै– राधा चौधरीको परिवार गरिब परिवारभित्र पर्छ । उनका दुवै दाजु र बहिनी बिरामी भइरहँदा रहेछन् ।

त्यसमाथि ती कथित बाबाले बोलाएको सभामा जब राधा पुगिनन्, त्यसले कथित बाबाको शक्तिमाथि शंका गरेको ठहरियो । फलस्वरूप उनलाई पूरै समुदायको असुरक्षाको कारक बनाउन बाबालाई सहज भयो ।

सायद यसैले गर्दा उनीमाथि यस्तो अमानवीय यातना दिँदा पनि सो समुदायले मौन समर्थन दियो । र, प्रत्येक पिटाइ र चिच्याहटमा ताली बजाउँदै आफ्नो असुरक्षालाई भ्रमित निकासको संज्ञा दिन पुग्यो ।

अहिले आएर धर्मको आवरणमा महिलामाथि यौनशोषण गरेको थप समाचार पनि आएको छ । अर्थात्, सामन्तवाद र उपभोक्तावादको खतरनाक सम्मिश्रणका रूपमा अशिक्षा, अभाव र आधारभूत स्वास्थ्य सेवासमेत नपुगेको ग्रामीण भेगका जनता यसको सिकार हुन गएको देखिन्छ ।

सुरुसुरुमा सबैभन्दा खतरनाक स्थानीय सत्ताको नेतृत्व गर्ने मेयर र उनलाई जिताउने पार्टीको मौनता देखियो । त्यस्तै, राज्यसत्ताको वर्चस्व कायम गर्ने सुरक्षा निकायले उत्पीडितलाई राहत दिनुको सट्टा पीडकको शक्तिमाथि देखाएको भक्ति र बचावट देखियो ।

यद्यपि, अहिले आएर आमजनताको चासो र चिन्ता बढ्न थालेपछि सरकारी निकाय, सुरक्षा निकाय र सम्बन्धित पार्टीले समेत समस्या निवारण गर्न लागेको देखिन्छ । बढ्दै गएको बलात्कार र बोक्सीका घटनालाई न्यूनीकरण गर्न रणनीतिक र तात्कालीक कदमहरू चाल्नु जरुरी छ ।

रणनीतिक रूपमा देशको स्थायित्व कायम गर्नका लागि कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समावेशी संसद्का लागि निरन्तर संघर्ष गरिराख्नुपर्छ ।

आर्थिक रूपमा रेमिट्यान्सबाट आएको पैसा, त्यसबाट पैसा होइन, पैसाबाट उपभोग्य सामान पनि होइन, पैसाबाट श्रम अनि श्रमबाट थप पैसाको अवधारणा ल्याई देशलाई उत्पादनमूलक अर्थतन्त्रतिर धकेल्नुपर्छ । शिक्षा, स्वास्थ्य, सडक र स्वरोजगार बढाउने नीतिलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनुपर्छ ।

तत्कालीन कदममा दोषीमाथि कडा कारबाही गर्नुपर्छ । विधिको शासन कडाइसाथ कार्यान्वयन गर्नुपर्छ । ऐन नियमावली बनाई छिटोभन्दा छिटो कानुन बनाई कार्यान्वयनतिर लाग्नुपर्छ । सत्ताकेन्द्रित राजनीतिबाट उठेर परिवर्तनकेन्द्रित राजनीति संस्थागत गर्नुपर्छ ।

पार्टी र सरकारभित्र औपचारिक लोकतन्त्र नभएर समावेशी सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । नयाँ संविधानले माग गरेअनुसार समाजवादउन्मुख नयाँ पार्टी बनाउनतिर लाग्नुपर्छ ।

अनि मात्र नयाँ मान्छे, नयाँ समाज र नयाँ नेपाल बन्छ, जो हालको नयाँ समानुपातिक, समावेशी, धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक संविधानले माग गरेको छ ।

तपाईको प्रतिक्रिया