आइसिसी विश्वकप छनोट: हङकङसँग निर्णायक खेल खेल्दै नेपाल - Naya Patrika
eNaya Patrika
  • ePaper

आइसिसी विश्वकप छनोट: हङकङसँग निर्णायक खेल खेल्दै नेपाल

आइसिसी विश्वकप छनोटमा सोमबार नेपालले समूह बीको अन्तिम खेलमा हङकङविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लगातार तीन खेल गुमाएको नेपालले गणितीय आधारमा सुपर सिक्स पुग्ने सम्भावना जीवितै राख्दै हङकङविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने विश्वासका साथ प्रतिस्पर्धा गर्नेछ । एकदिवसीय मान्यताका लागि हुने प्लेअफमा स्थान बनाउन पनि नेपालले जित्नै पर्ने दबाब छ ।

सुपर सिक्सको अन्तिम आस
नेपालको पहिलो आस सुपर सिक्स नै हो । सुपर सिक्समा स्थान बनाउन नेपालले समान्य जित नभएर दुर्लभ नतिजा निकाल्नुपर्छ । ब्याटिङ वा बलिङमा चामत्कारिक प्रदर्शन भए मात्र नेपाल सुपर सिक्समा पुग्न सक्छ । समूह बीमा नेपालको रनरेट सबैभन्दा कमजोर छ । हङकङ र अफगानिस्तानले २–२ अंक जोडेका छन् । नेपाललाई हराएमा हङकङ सीधै सुपर सिक्समा पुग्नेछ ।

एकदिवसीय राष्ट्र बन्न जित
विश्वकप छनोटसँगै एकदिवसीय मान्यताका रूपमा पनि यो प्रतियोगिता रहेको छ । नेपाल हङकङसँग पराजित भए सातौँ स्थानको प्लेअफसमेत संकटमा पर्नेछ । समूह बीबाट हङकङ विजयी भएमा सुपर सिक्समा पुग्नेछ । स्कटल्यान्ड यसअघि नै सुपर सिक्समा पुगिसकेको छ । त्यस्तै, समूह एको नतिजाले पनि फरक पार्नेछ । युएई सुपर सिक्समा पुगे त्यसको असर नेपाललाई पर्नेछ । युएई र हङकङ दुवैले पनि सुपर सिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने आशा बन्द हुनेछ । प्रतियोगितामा तीन एसोसिएट राष्ट्रलाई चार वर्षका लागि एकदिवसीय मान्यता प्रदान गर्ने प्रावधान छ । हङकङ, स्कटल्यान्ड र युएई सुपर सिक्समा छनोट हुँदा नेपाल डिभिजन २ मा घटुवा हुनेछ । यसकारण पनि नेपालले हङकङलाई हराउनु जरुरी छ ।

हङकङ वा युएई सुपर सिक्समा पुग्न नसकेको अवस्थामा मात्र नेपालले प्लेअफ खेल्ने अवसर पाउँछ । एकदिवसीय मान्यताका लागि सुपर सिक्समा पुग्न नसकेका चार टोलीबीच सातौँ स्थानका लागि प्लेअफ खेल हुनेछ । प्लेअफमा समूह एको चौथो हुने टोलीले समूह बीको पाँचौँ हुनेसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह बीको चौथो टोलीले समूह एको पाँचौँ टोलीसँग प्लेअफ खेल्नेछ । खेल जित्ने दुई टोलीले सातौँ स्थानका लागि खेल्नेछन् । त्यस्तै, हार्ने दुई टोलीले नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हङकङ–नेपाल चिरपरिचित
नेपाल र हङकङ पुराना प्रतिद्वन्द्वी हुन् । नेपालभन्दा हङकङको अवस्था राम्रो छ । नेपाल र हङकङ समग्रमा १२ पटक एकअर्काविरुद्ध भिडेका छन् । नेपालले ६ र हङकङले ५ जित निकालेका छन् । अर्को एक खेल रद्द भएको छ ।

तपाईको प्रतिक्रिया