सबै धर्मको सम्मान गरौँ : काकासाहेब - Naya Patrika
eNaya Patrika
  • ePaper

सबै धर्मको सम्मान गरौँ : काकासाहेब

कुनै समयमा काकासाहेब कालेलकर आफ्ना केही साथीभाइसँग विचारविमर्श गरिरहेका थिए । सोही समयमा उनको सानो छोराले छेउमा आएर सबैले सुन्ने गरी भन्यो, ‘बाबा, यी मुसलमानले सधैँ हिन्दूलाई मार्छन् । अब हामी पनि मिलेर यी मुसलमानलाई मारिदिऊँ, हुन्छ ?’

छोराको प्रश्न सुन्दा काकासाहेब एकछिन अकमक्क परे, एकछिन सोचे र आफ्नै पाराले उसलाई जवाफ दिए ।

उनले भने, ‘तिमीले एकदम ठीक भन्यौ । तर, हामीले सुरुवात कसबाट गर्ने ? आऊ, सबैभन्दा पहिले इमामबाट सुरु गरौँ । उनैको पहिले हत्या गरौँ ।’

यो सुन्नेबित्तिकै उनको छोराले भन्यो, ‘हैन हैन बुबा, उहाँ त हामीभन्दा पनि ठूला मानिस हुनुहुन्छ । उहाँलाई त कसरी मार्न सकिन्छ र ?’

छोराको भनाइ सुनिसकेपछि काकाले भने, ‘ठीक छ, त्यसो भए अमिनालाई मारिदिऊँ न त ।’ यो सुनेर बच्चा झनै चिन्तित भयो । उसले भन्यो, ‘हैन हैन, अमिना दिदीलाई कसैले मार्न सक्दैन, उनी त मेरी आफ्नै दिदी जस्तै हुन् ।’

काकाले एकछिन सोचेर भने, ‘ठीक छ, त्यसो भए छिमेकी हमिदको हत्या गरिदिऊँ न त ।’ बच्चा फेरि करायो, ‘हमिद मेरो साथी हो, म कुनै हालतमा हमिदको हत्या गर्न दिन्नँ ।’

तब त्यो सानो बच्चाको ढाड थुमथुम्याउँदै काकाले भने, ‘छोरा, मुसलमान पनि हाम्रै दाजुभाइ हुन् । जसले हिंसा गरिरहेका छन्, उनीहरू त न हिन्दू हुन् न मुसलमान ।

उनीहरू त गुन्डा हुन् र गुन्डाको कुनै नियम या धर्म हुँदैन । जसरी तिमी मुसलमान भाइबहिनीको हत्या सहन सक्दैनौ, त्यसरी नै कैयौँ यस्ता मुसलमान छन्, जसले हिन्दूको हत्या सहन सक्दैनन् ।

त्यसैले हामीले सबै धर्मको आदर गर्नुपर्छ र जुनसुकै धर्म माने पनि हामी सबै आपसमा मिलेर बस्नुपर्छ ।’

तपाईको प्रतिक्रिया