उत्तरसँगको वार्ता अभूतपूर्व सफल हुन्छ - Naya Patrika
eNaya Patrika
  • ePaper

उत्तरसँगको वार्ता अभूतपूर्व सफल हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग हुन गइरहेको वार्ता अभूतपूर्व रूपमा सफल हुने दाबी गरेका छन् । ‘उत्तर कोरियासँग हामीले गर्न लागेको वार्ता निकै सफल हुनेछ । वार्तामा दुवै पक्षले खुलेर विचार आदान–प्रदान गर्ने अवसर पाउनेछन्,’ ट्रम्पले भने । किमसँगको वार्ताका लागि आफू उत्साहित रहेको भन्दै यसका लागि जापान र दक्षिण कोरियाको पनि समर्थन र सहयोग रहेको उनले बताए ।

‘उत्तर कोरियाली नेताले मलाई आणविक परीक्षण रोक्ने आश्वासन दिएका छन्, त्यसैले प्रस्तावित वार्ताप्रति उत्साह जागेको छ,’ उनले भने । राष्ट्रपति ट्रम्प र किमबीच आगामी मेको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।

उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेका थिए । राष्ट्रपति ट्रम्पले किमसँगको भेट प्रस्तावलाई बिहीबार स्विकारेका थिए ।

दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत चुङ इयु योङ र दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख उत्तर कोरियाली नेताको सन्देश बोकेर अमेरिका पुगेका थिए । उनीहरूले संयुक्त राज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई हालै सम्पन्न प्योङयाङ भ्रमणका बारेमा ब्रिफिङ गरेका थिए ।

उत्तर कोरियाली नेताले वार्ताको वातावरण बनाउन सबै आणविक परीक्षण बन्द गर्ने बताएका छन् । ट्रम्प र किमबीचको प्रस्तावित भेटवार्ताको चीन, रसिया, बेलायत, युरोपेली युनियनलगायत अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ ।

‘वार्ता गर्न अनुभवी कूटनीतिज्ञ भएनन्’
अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्न ट्रम्प प्रशासनमा अनुभवी कूटनीतिज्ञ नभएको बताएकी छन् ।

‘यदि तपाईं किम जोङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्न चाहनुहुन्छ भने अनुभवी कूटनीतिज्ञको खाँचो छ,’ उनले भनिन् । वार्तामा सहभागी हुने अमेरिकी वार्ताकारले उत्तर कोरियालीको भाषा नबुझ्ने उनले बताइन् ।

‘अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको छ । उत्तर कोरियाली विषयमा वार्ता गर्न विभागमा विज्ञको कमी छ । किनकि धेरै अनुभवी कूटनीतिज्ञले विभाग छोडिसकेका छन्,’ उनले थपिन्, ‘कूटनीतिज्ञविना वार्तामा बस्नु जोखिमपूर्ण हुनेछ ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत बिल रिचार्डसनले उत्तर कोरियासँग वार्ता गर्न ट्रम्पले पर्याप्त तयारी नगरेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘राष्ट्रपतिले वार्ताका लागि आवश्यक तयारी नगरेको र उनको अनुशासनहीनता देखेर दुःख लागेको छ ।’

रिचार्डसनले भनेका थिए, ‘वार्तास्थल ‘तालिम लिने’ वा ‘प्रत्यक्ष टेलिभिजन कार्यक्रम’ होइन । किम जोङ उन तरंगी नेता हुन् । उनीसँग कम्तीमा २० आणविक हतियार छन् । हतियारको आडमा उनले अमेरिकालाई धम्की दिइराखेका छन् ।’

तपाईको प्रतिक्रिया