डाक्टरको खेल प्रेम - Naya Patrika
eNaya Patrika
  • ePaper

डाक्टरको खेल प्रेम

मान्छेले चाहेको सबै पाइँदैन । सोचेजति सबै पुग्दैन । तैपनि मान्छेको चाहना हुन्छ– सधैं प्रगति भइरहोस् । सफलता हात लागिरहोस् । नेपाल मेडिकल कलेजमा विभागीय प्रमुखका रूपमा कार्यरत जनरल सर्जन डाक्टर मनोहरलाल श्रेष्ठको भने चाहना पूरा भएको छ । त्यो सफलता उनले डाक्टरी पेसामा मात्रै होइन, अन्य क्षेत्रमा पनि हासिल गरेका छन् । पाल्पा जिल्लामा जन्मिएका डा. मनोहरलालका संघर्षका दिन भने एसएलसी पढाइपछि सुरु भएका हुन् । उनले नयाँ पत्रिकाकर्मी सरला कट्टेलसँग आफ्ना अनुभव साटे :

 

१३ वर्षको उमेरमा ०१७ सालमा एसएलसी पास गरेँ । आईएससी भारतको भोपालमा गएर अध्ययन गरेँ । त्यो वेला नेपालमा पढ्ने खासै चलन थिएन वा वातावरण नै कम थियो । त्यही भएर आइएससी पढ्न भारत जानु मेरो बाध्यता थियो ।’ स्कुल/क्याम्पस जीवनमा मेरो ध्यान पढाइमा थियो । भारतबाट आइएससी अध्ययन गरेर फर्केपछि मेरो रुचि खेलमा बढ्दै गयो ।

खेलमा मेरो लगाव भए पनि मुख्य पेसा डाक्टरी नै बनाउँछु भन्ने थियो । आइएससी गरेर गृहजिल्ला पाल्पा फर्किएँ । त्यसपछि म आफ्नो पढाइ पूरा गर्न १९६५ तिर काठमाडौं आएँ । एमबिबिएस पढ्न इजरायल जाने तयारीमा थिएँ । तर, त्यहाँबाट कन्फर्मेसन लेटर आएन । एक वर्ष त्यसै गयो । यो खाली समय मेरो खेल जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

प्रा.डा. मनोहरलाल श्रेष्ठ शल्यचिकित्सा विभाग प्रमुख नेपाल मेडिकल कलेज काठमाडौं

 

आइएससी पास गरेपछि मेरो रुचि बिस्तारै ब्याडमिन्टनमा बढ्दै गयो । एक वर्ष पढ्न नपाएपछि मैले ब्याडमिन्टन खेलेँ । बिहान बिएससी पढ्न त्रिचन्द्रमा जान्थेँ । दिउँसोको समय अहिले निर्वाचन आयोग भएको ठाउँनजिकै टेनिस बोर्ड थियो, त्यहाँ खेल्न जान्थेँ । एक वर्ष मेरो समय खेल्दैमा गयो । त्यस क्रममा मेरो खेलको विकास भयो । खेल हेर्न पनि जान्थेँ ।

एक वर्षपछि फेरि एमबिबिएस पढ्न म इन्डिया गएँ । सिनियरहरूले -याकिङ गर्थे । खेलमा खासै खुल्न सकिनँ । बिस्तारै मैले आफूलाई अरूसँग घुलमिल बनाएँ । इन्डियामा पढ्दै खेलजीवनको पनि सुरुवात गरेँ । त्यहाँ कलेजका एकजना प्रोफेसरले मलाई सपोर्ट गर्नुभयो । उहाँसँग खेल्न थालेपछि मलाई खेलमा सहज भयो । खेल मलाई भगवान्ले दिएको गिफ्टजस्तो लाग्छ ।

एमबिबिएस गर्दा होस्टेलमा बस्नुपथ्र्यो । जहाँ जाँदा पनि मेरो ब्यागमा ब्याडमिन्टन, टेबलटेनिस, टेनिसको ब्याट हुन्थ्यो । दिनभरि कलेज पढ्थेँ, ४ बजे होस्टेलबाट निस्केपछि म खेल्न निस्किन्थेँ । एक घन्टा ब्याडमिन्टन, टेबलटेनिस खेल्थेँ । खेल्दाखेल्दै बढी ब्याडमिन्टनमा रुचि भयो ।

होस्टेलमा राति पनि खेल्ने गरिन्थ्यो । बिस्तारै बाहिरका कलेजमा गएर पनि खेल्न थालियो । सबैले मलाई खेलाडी भनेर चिन्न थाले । शिक्षकहरूसँग पनि राम्रो सम्बन्ध बन्यो । पढाइमा पनि धेरै सहयोग पुग्यो । शिक्षकहरू पनि विद्यार्थीसँग खेल्ने गर्थे ।

कलेजमा हुने ब्याडमिन्टन प्रतियोगितमा सधैँ जित मेरै हुन्थ्यो । विसं ०३० मा मैले कलेज च्याम्पियन्स जितेँ । त्यसपछि मलाई खेलप्रति झन् रुचि बढ्दै गयो । कलेज लाइफमा यो नै मेरो अन्तिम प्रतियोगिता थियो । त्यहाँ शिक्षक र विद्यार्थीबीच प्रतियोगिता हुन्थे ।

खेलेको खेल हारेको अनुभव छैन । मैले त्यहाँ बसुन्जेल विद्यार्थी र शिक्षकबीच हुने सबै प्रतियोगितामा जित हात पारेको छु । मलाई सबैले ब्याडमिन्टन खेलाडी भनेर नै चिन्न थाले ।

एमबिबिएस सकेपछि म इन्टर्न गर्न पाल्पा फर्किएँ । त्यो वेला पाल्पामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु हुनै लागेको थियो । त्यसमा पनि सहभागिता जनाएँ । त्यहाँ राष्ट्रिय खेलाडीसँग खेल्ने मौका पाएँ । प्रतियोगिताको उपाधि मेरै पोल्टामा प-यो । म खेल जित्ने उद्देश्यले भन्दा पनि स्वास्थ्य राम्रो हुन्छ भनेर खेल्ने गर्थें ।

त्यसपछि काठमाडौँको वीर अस्पतालमा काम गर्न थालेँ । त्यसको एक वर्षपछि मेरो जिल्लामा सरुवा भयो । त्यहाँ पनि खेलमा रुचि राखेँ । बैतडीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुन थाल्यो । त्यसमा जित त हासिल गरेँ, तर उपाधि जिते पनि मलाई चित्तबुझ्दो लागेन । त्यसपछि मैले त्यहाँ हुने प्रतियोगितामा भाग लिन छाडेँ, बरु विद्यार्थीलाई प्रोत्साहित गरेँ ।

२०३२ सालमा गुल्मीको जिल्ला अस्पतालमा सरुवा भयो । त्यो समयमा अस्पताल कम्पाउन्डभित्र ब्याडमिन्टन कोर्ट बनाएर खेल्न थालेँ । ३ वर्ष त्यहाँ रहँदा वीरेन्द्र सिल्डको आयोजना गर्ने मौका पाएँ ।
०३६ सालमा काठमाडौँ आएँ । त्यो समय मैले खेलकुद परिषद्मा पनि सदस्य भएर काम गरेँ ।

०४५ सालमा काठमाडौँमा भएको नेसनल भेट्रान्स च्याम्पेनसिप पनि मैले जितेँ । सूर्यबहादुर थापा प्रधानमन्त्री भएका वेला उनको हातबाट च्याम्पेनसिपको उपाधि थापेको थिएँ । ०४६ सालमा विराटनगरमा भएको नेसनल भेट्रान्स कप पनि खेलेँ । त्यहाँ उपविजेता बनेँ ।

मैले नेपालमा भएका थुप्रै नेसनल प्रतियोगितामा सहभागिता जनाएँ । आफूभन्दा सिनियरसँग खेल्थेँ, त्यसले गर्दा मेरो खेलमा धेरै सुधार भयो । मैले खेलेका कुनै पनि खेल हारेको छैन । कतिपय खेलमा जानी–जानी हारेको छु ।

खेलमा समय दिन थालेपछि डाक्टरी पेसालाई निरन्तरता दिन गाह्रो भयो । अनि खेलभन्दा काममा समय दिन थालेँ । स्पोटेर्स मेडिसियनका रूपमा पनि धेरै काम गरेँ । स्पोट्र्स मेडिसियनको तालिम लिन म सिंगापुर पुगेँ ।

मैले डाक्टरका रूपमा खेलकुद क्षेत्रमा धेरै वर्ष भोलेन्टियर्स गरेँ । पैसाका लागि कहिल्यै खेलिनँ । सिंगापुर स्पोर्ट मेडिसिनमा ३ महिना तालिम गर्न गएँ । त्यही वेला साउथ एसियन फेडेरेसनको खेलमा मलाई मेडिकल इन्चार्जको जिम्मेवारी दिइएको थियो ।

म नेपाल फर्किएँ । स्वस्थ हुनका लागि खेल्न थालेँ । सन् १९८३ मा एमएस गर्न म कोलकाता गएँ । त्यहाँ पनि अन्तरकलेज हुने ब्याडमिन्टन प्रतियोगिमामा उपाधि हात पारेँ । त्यहाँ हुने हरेक प्रतियोगितामा भाग लिन्थेँ । त्यही वेला पाकिस्तानमा भएको सार्कको खेलमा मेडिकल टिमको नेतृत्व गरेर त्यहाँ पुगेँ ।
मलाई खेलमा रुचि बढ्नुको मुख्य कारण स्वस्थ्य थियो ।

ब्याडमिन्टनले दिमाग र हातको राम्रो सम्बन्ध बनाउँछ । दिमागलाई एक्टिभ राख्न ब्याडमिन्टनले सहयोग गर्छ । साथीहरू बीच सहकार्य राम्रो हुन्थ्यो । एमबिबिएस गरेर फर्केपछि बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा काम गरेँ । त्यहाँ पनि तमाम स्थानीय स्तरका प्रतियोगिता जितेँ । आफँै जित्छु भनेर कतिपय खेल खेल्दिन थिएँ ।

त्यसपछि म बुटवल गएँ । बुटवलमा काम गर्दा धेरै समय खेलमा दिन सकिनँ । ०५५ मा म फेरि काठमाडौँ फर्किएँ । वीर अस्पतालमा काम गर्न थालँे । मेरो खेल खेल्ने क्रम पातलिँदै गयो ।

अहिले म ७१ वर्षको भएँ । अचेल पनि दैनिक दुई घन्टा ब्याडमिन्टन खेल्ने गरेको छु । जाडो याममा पनि पसिना निकाल्ने गरी १ घन्टा नियमित खेल्छु । स्वास्थ्य सुधारका लागि सिंगापुरमा सरकारले नै पहल गरेर खेल्ने वातावरण बनाइदिन्छ । जसले गर्दा जनतामा रोग कम लाग्ने हुन्छ । गलत आचरण पनि कम हुन्छ । यसो गर्दा त्यहाँ आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ ।

खेल मेरो प्यासन बनेको छ । खेलले स्वस्थ हुने, उमेरभन्दा योङ देखिने, फुर्तिलो बनाउने गर्छ । वंशाणुगत रूपमा लाग्ने रोग पनि केही वर्ष पर सार्न सकिन्छ । स्वस्थ रहन नियमित शारीरिक व्यायाम गरे उमेरभन्दा कम उमेरको देखाउन सकिन्छ । व्यायाम गर्दा आफ्नो शारीरिक अवस्थालाई भने ख्याल गर्नुपर्छ । स्वस्थ रहन महँगा र आधुनिक व्यायाम आवश्यक छैनन् ।

प्रमुख भएको दुई दिनसम्म थाहा पाइनँ
म ०५४ सालमा वीर अस्तालको प्रमुखमा नियुक्त भएँ । मलाई मन्त्रालयमा बोलाइयो । मन्त्रीले ‘डाइरेक्टर बनाउन तपाईंभन्दा अरू राम्रो मान्छे भेटिएन’ भन्नुभयो । मलाई त्यसवेला नै डाइरेक्टर हुने चाहना थिएन ।

पालो पनि थिएन । रिटायर्ड हुने वेला डाइरेक्टर भएर निस्किछु भन्ने विचार थियो । म अहिले नै यो जिम्मेवारी लिन सक्दिनँ भनेर हिँडे । मन्त्रीले एक हप्ताको समय दिनुभएको थियो । मैले जवाफ नदिएपछि ७ दिनमा फेरि बोलाइयो ।

‘तपार्इं चिठी बुझ्नुस्’ भन्नुभयो । छक्क परेँ । केको चिठी हो हेरिनँ । तर, बुझेर गोजीमा हालेँ । त्यो बुधबारको दिन थियो । म शुक्रबार अफिस गएँ । रामकृष्ण ताम्राकार मन्त्री हुनुहुन्थ्यो । कृष्णमान डंगोल सहायकमन्त्री ।

‘चिठी बुझेर लगेपछि पनि किन हाजिर नभएको ?’ भनेर मन्त्रीले फोनमै हप्काउनुभयो । ‘म काम गर्ने मान्छे, अहिले नै यो जिम्मेवारी लिन सक्दिनँ’ भनेर मन्त्रीलाई भनेँ । पत्र निकालेर हेर्दा त नियुक्तिपत्र पो रहेछ । अरू अस्पताल प्रमुख बन्न पैसा लिएर जान्छन् भन्ने सुनिथ्यो । तर, मलाई नचाहँदानचाहँदै अस्पताल प्रमुख बनाइयो । केही बेर त अलमल्लमा परेँ । त्यसपछि हाजिर गरेँ, अनि सीधै अप्रेसन कोठामा गएर अप्रेसन गरेँ ।

मन्दिरलाई मूर्ति उपहार
पाल्पामा भैरवको मन्दिर थियो । त्यो मन्दिरमा पूजा गर्न गइरहन्थेँ । मलाई भैरव मन्दिरसँग नजिकको सम्बन्ध अनुभूति हुन्थ्यो । त्यहाँ पुग्न तानसेनबाट ८—१० घन्टा लाग्थ्यो । करियरमा लागेपछि खासै वास्ता भएन ।

५ वर्षअघि त्यहाँको भैरवको मूर्तिमा प्वाल परेको खबर पाएँ । साथीलाई मैले त्यो मूर्ति बनाउने प्रस्ताव गरेँ । त्यो १ सय १० वर्षअघिको मूर्ति थियो । मैले काठमाडौंबाट कालिगढ बोलाएर मूर्ति बनाएँ । १ वैशाख २०७२ मा ५ केजी ५० ग्राम चाँदी लगाएर बनाइएको मूर्ति मन्दिरलाई हस्तान्तरण गरेँ ।

तपाईको प्रतिक्रिया