संसारको सैनिक शक्ति - Naya Patrika
eNaya Patrika
  • ePaper

संसारको सैनिक शक्ति

सैनिक शक्तिको हिसाबमा भारत संसारकै चौथो सबैभन्दा ठूलो सेना बनिसकेको छ । सामरिक हतियारको बन्दोबस्ती र सशस्त्र सैनिक शक्तिका आधारमा भारत अमेरिका, रुस र चीनभन्दा मात्र पछि छ भने फ्रान्स र बेलायत भारतभन्दा पछाडि छन् ।

संसारका आधुनिक सुरक्षा बल र सैन्य शक्तिको विश्लेषण गर्ने शोध संस्थान ‘ग्लोबल फायर पावर’ले २०१७ मा सैनिक शक्तिको हिसाबबाट एक सय ३३ देशको सूची जारी गरेको छ । सूचीमा पहिलेझैँ अमेरिका यसपटक पनि सबैभन्दा ठूलो सैन्य शक्तिका रूपमा पहिलो नम्बरमा छ ।

सेनाका लागि जुन–जुन सैन्य हतियारको विश्लेषण गरिएको छ, त्यसमा पारम्परिक युद्ध हतियार र उपकरणलाई मात्र समावेश गरिएको छ । यसमा आणविक हतियारलाई समावेश गरिएको छैन ।

पाकिस्तान १३ औँ स्थानमा
बिबिसी संवाददाता सकिल अख्तरका अनुसार यस सूचीमा पाकिस्तान संसारकै १३औँ सबैभन्दा ठूलो सैन्य शक्तिका रूपमा समेटिएको छ । रक्षाबलको विषयमा पाकिस्तानले पछिल्ला केही वर्षको तुलनामा २०१७ मा आफ्नो शक्तिमा पर्याप्त बढोत्तरी गरेको छ र शीर्ष १५ देशभित्रको सूचीमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

अमेरिकाको रक्षा बजेट पाँच सय ८७ अर्ब डलर थियो, जब कि चीनले एक सय ६१ अर्ब डलर रक्षा बजेट छुट्याएको थियो । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख र रिजर्भ सैनिकको संख्या १४ लाख छ । ऊसित तीन हजार लडाकु विमान र साढे ६ हजार ट्यांक छन् ।

यद्यपि चीन अमेरिका र रुसभन्दा पछि छ । तर, ऊ बडो तीव्रगतिमा माथि आइरहेको छ र ऊ छिटै दोस्रो स्थामा आउन सक्छ । यसको रक्षा बजेट भारतको भन्दा तीन गुणा बढी छ । भारतको रक्षा बजेट ५१ अर्ब डलर थियो ।

१३ लाखभन्दा बढी सक्रिय जवान
ग्लोबल फायर पावरका अनुसार अमेरिकाको साथमा १३ हजारभन्दा बढी जहाज छन् । जसमा लडाकु, परिवहन र हेलिकोप्टर सामेल छन् । चीनको साथमा करिब तीन हजार लडाकु जहाज छन् ।

भारतसित लडाकु जहाजको संख्या दुई हजारभन्दा बढी छ । सक्रिय सैनिकको संख्या १३ लाखभन्दा बढी छ । यसका अतिरिक्त २८ लाख रिजर्भ जवान पनि छन्, जसले आवश्यकता परेको खण्डमा सेनालाई मद्दत गर्न सक्छन् ।

भारतमा ट्यांकको संख्या करिब चार हजार चार सय छ । युद्धपोतको संख्या तीन बताइएको छ । यद्यपि, यसमा कमसेकम एक युद्धपोत समुद्रबाट हटाइएको छ ।

युद्धपोत छैन पाकिस्तानसित
यस सूचीअनुसार पाकिस्तान संसारकै १३औँ शक्तिशाली देश रहेको छ । उसको रक्षा बजेट सात अर्ब डलर छ र सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार छ । यसका अतिरिक्त करिब तीन लाख रिजर्भ सैनिक पनि छन् ।

हेलिकोप्टर र ट्रान्सपोर्ट जहाजसमेत लडाकु जहाजको संख्या करिब एक हजार र ट्यांकको संख्या तीन हजारनिकट छ । पाकिस्तानसित युद्धपोत छैन । तर, अन्य प्रकारका समुद्री जहाजको संख्या भने करिब दुई सयजति छ ।

यस सूचीअनुसार ८१ लाखको जनसंख्या भएको देश इजरायल नवौँ नम्बरमा छ । उसको साथमा ६ सय ५० लडाकु विमान र अढाइ हजारभन्दा बढी ट्यांक छन् ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया