गर्मी मौसमका अप्ठ्यारा - Naya Patrika
eNaya Patrika
  • ePaper

गर्मी मौसमका अप्ठ्यारा

डा. जेबिना लामा , छाला विशेषज्ञ

गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञ जेबिना लामाले बताएकी छिन् :

घमौरा
गर्मी मौसममा जोकोहीको शरीरबाट पनि पसिना बग्ने गर्छ । यस्तो वेला सचेत नभए घमौराको समस्या निम्तिन सक्छ । त्यसैले गर्मी मौसममा सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्ने हुन्छ । किनकि, छालाबाट निस्किने पसिना भित्रै गुम्सने अवस्थामा घमौराको समस्या निम्तिन्छ ।

फंगल इन्फेक्सन
गर्मी मौसममा देखिने अर्को समस्या हो, फंगल इन्फेक्सन । गर्मी मौसममा भागदौड गर्दा शरीरबाट पसिना बग्ने गर्छ ।

यदि पसिना सफा नगरेको, नियमित ननुहाएको, कपडा परिवर्तन नगरेको अवस्थामा पसिना शरीरमै सुक्छ र फंगल इन्फेक्सन हुने सम्भावना अत्यधिक हुन्छ । फंगल इन्फेक्सन दुई प्रकारका हुन्छन् ।

एउटालाई फुस्रो दुबी भन्छौँ, जुन प्रायः छाती, घाँटीलगायतका ठाउँमा देखिन्छ । पसिना भित्रै गुम्सिएको अवस्थामा यस्तो समस्या निम्तिने गर्छ ।

अर्कोचाहिँ छालामा स–साना डल्लो नै देखिने हुन्छ, जुन काखी, शरीर र खुट्टाको छालामा देखिन्छ ।

छालामा समस्या
धेरै मानिसको गर्मी मौसममा पानीको प्रयोग गर्ने बानी हुन्छ । कहिलेकाहीँ स्विमिङ पुलमा पौडी खेल्न पनि पुग्ने गरिन्छ । यसरी स्विमिङ पुलमा जाँदा विचार पु-याउन आवश्यक हुन्छ ।

नत्र, विभिन्न प्रकारका छालासम्बन्धी रोग पनि लाग्न सक्छ । स्विमिङ पुलमा क्लोरिन प्रयोग गरिएको हुन्छ ।

जसले कपालको रङ परिवर्तन गर्ने, छाला ड्यामेज हुनेलगायतका समस्या देखिन सक्छ । त्यसैले, पौडीपछि सफा पानीले नुहाउन अनिवार्य हुन्छ ।

सनबर्न
कतिपयलाई गर्मी मौसममा सनबर्नको समस्या हुन्छ । यस्तो समस्या हुँदा छालाको पत्र–पत्र उक्किएर जाने समस्या हुन्छ ।

कतिपयलाई सन एलर्जी पनि हुन्छ । त्यस्ता मानिसमा शरीरको जहाँजहाँ घाम पर्छ, त्यहीँ एलर्जी हुने समस्या हुन्छ ।

क्रिमको प्रयोग
डन्डिफोर आएर ब्युटिपार्लर गएको अवस्थामा अधिकांशले चाइनिज, थाई, मलेसियन क्रिमको प्रयोग गर्न सल्लाह दिन्छन् । उक्त क्रिमले केही समय निकै राम्रो गर्छ ।

यस्ता क्रिमले एकदेखि तीन हप्तासम्म राम्रै पनि गर्छ । त्यसपछि नियमित प्रयोग गर्दा छाला नै ड्यामेज हुन सक्छ । किनकि, त्यस्ता क्रिममा छाला ड्यामेज गर्ने केमिकलको प्रयोग गरिएको पनि हुन सक्छ ।

त्यति मात्र होइन, यस्ता क्रिमको प्रयोगले पहिला त छाला पातलो बनाउँछ । त्यसपछि डन्डिफोर निकाल्छ र गालाबाट लामा–लामा रौँ निस्कन्छ । त्यसैले छाला विशेषज्ञसँग सल्लाह नलिई कुनै पनि क्रिम प्रयोग गर्नु हुँदैन ।

स्किन क्रिम जस्तै : फेसवास, भिटामिन सी सेरम, सनब्लकलाई जहिले पनि औषधि पसलमै किन्नुपर्ने हुन्छ । सुपरमार्केट, कस्मेटिक पसलहरूमा पाइने क्रिमलाई कमर्सियल भनिन्छ ।

त्यस्ता क्रिमले छालालाई पानी दिने काम त गर्छ तर केही समयपछि छाला नै ड्यामेज हुने समस्या निम्तिन्छ ।

सजगता
घामबाट भिटामिन डी प्राप्त हुन्छ । गर्मी मौसममा भने यसका लागि बिहान ९ बजेसम्म मात्र घाम ताप्ने गर्नुपर्छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको घाममा कहिल्यै बस्नु हुँदैन ।

घाममा बस्नुपर्ने बाध्यता भएमा अनिवार्य रूपमा सनब्लक क्रिम प्रयोग गर्नुपर्छ । नेपाल हाई अल्टिच्युडमा पर्ने भएकाले घामको किरण निकै कडा हुन्छ ।

त्यसैले ३० भन्दा माथि एफपिएस भएको सनब्लक क्रिम प्रयोग गर्नुपर्छ । यस्तो क्रिम छालाको रङअनुसार पनि प्रयोग गर्न सकिन्छ ।

मान्छे धेरै गोरो छ भने ५० एफपिएससम्मको लगाउनुपर्छ । मान्छे गहुँगोरो अथवा कालो वर्णको छ भने ३० एफपिएससम्मको लगाए हुन्छ ।

घामका निस्कनुभन्दा २० मिनेटअगाडि एफपिएसको प्रयोग गर्नुपर्ने हुन्छ । लामो समय घाममा बस्ने अवस्था सिर्जना भएमा दुई–दुई घन्टाको अवधिमा सनब्लक क्रिम प्रयोग गर्दा राम्रो हुन्छ ।

सकेसम्म छहारी भएको ठाउँबाट हिँड्ने प्रयास गर्नुपर्छ । कहिल्यै पनि सीधा घाममा बस्नु हुँदैन । घाममा हिँड्दा सनग्लास प्रयोग गर्दा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया