त्रिभुवन आर्मी क्लब तेस्रो झापा गोल्डकपको फाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

त्रिभुवन आर्मी क्लब तेस्रो झापा गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी क्लबले तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा घरेलु टोली झापाको सामना गर्ने भएको छ । बिर्तामोडमा शनिबार सम्पन्न दोस्रोे सेमिफाइनलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै उपाधि भिडन्तमा झापासँग पक्का गरेको हो । आर्मीले पहिलो संस्करणको उपाधि जित्दा झापालाई नै फाइनलमा हराएको थियो ।

आर्मीको जितमा एक मात्र गोल स्ट्राइकर नवयुग श्रेष्ठले गरेका थिए । खेलको दोस्रो मिनेटमै मनाङका खेलाडी सम्हालिन नपाउँदै नवयुगले आर्मीलाई १–० को अग्रता दिलाए । विकास तामाङको लामो पासमा नवयुगले गोल गरेका हुन् । उनको त्यही गोल नै निर्णायक बन्यो ।

खेलको ११औँ मिनेटमा मनाङका भिक्टोरको प्रहार बारमा ठोकिएको थियो । ४६औँ मिनेटमा आर्मीका टंक बस्नेतले सुन्दर अवसर गुमाए । मनाङका गोलरक्षक बिट भइसकेको अवस्थामा उनले गोल गर्न सकेनन् । खेलमा आर्मीका गोलरक्षक विकेश कुथुले म्यान अफ दी म्याच हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीका प्रशिक्षक थापाले सुरुमा १० मिनेट विपक्षीलाई दबाबमा राख्ने रणनीति सफल भएको बताए । ‘सुरुको रणनीतिमै गोल लाग्यो,’ उनले भने, ‘त्यसपछिका रणनीतिले काम गरे पनि गोल भएन ।’ मनाङका प्रशिक्षक घलेले डिफेन्सले गल्ती गरेका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए । आफ्नो टोलीका स्ट्राइकरहरूले राम्रो प्रयास गरे पनि गोल हुन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया