सातामा करिब ३१ अंक घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा करिब ३१ अंक घट्यो नेप्से

गत साता नेप्से परिसूचक करिब ३१ अंक घटेको छ । पाँच कारोबार दिनमध्ये चार कारोबार दिनका लागि खुला रहेको बजारमा, दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो ।

गत साताको पहिलो कारोबार दिन नेप्से साढे ४१ अंक ओरालो लागेको थियो । नवनियुक्त अर्थमन्त्रीले सेयर बजारलाई अप्रत्यक्ष रूपमा अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्ति दिएका कारण सो दिन बजार उच्च अंकले झरेको थियो ।

अर्थमन्त्रीबाट सेयर बजारसम्बन्धी नकारात्मक टिप्पणी आउनु, देशमा विद्यमान तरलताको समाधानमा कुनै प्रकारको चासो नदेखाउनु र सरकारको पुँजी बजारप्रति स्पष्ट धारण नहुनु निन्दनीय रहेको सोही दिन सेयर लगानीकर्ता संघले प्रेस विज्ञप्ति जारी गर्दै बताएको थियो । तर, अर्थमन्त्रीले त्यस्तो केही अभिव्यक्ति नदिएको भन्ने समाचारले बजार केही सम्हालिएको थियो ।

निरन्तर ओरालो लागेपछि बजारमा सेयर मूल्य सस्तिएको थियो । कतिपय कम्पनीहरूको सेयर मूल्य १ सयदेखि २ सय रुपैयाँको बीचमा रहेको थियो ।

सेयर मूल्य सस्तिएपछि बजारमा खरिदकर्ताहरूले प्रवेश गरेका कारण गत साताको अन्तिम दुई कारोबार दिन नेप्से उकालो लागेको थियो । सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर खरिद गर्न थालेपछि बजारमा केही उत्साह देखिएको थियो ।

साथै अर्थमन्त्रीले चालू आवको मध्यावधि समीक्षा गर्ने र सोलगत्तै श्वेतपत्र जारी गरी सो श्वेतपत्रमा सेयर बजारलाई पनि सम्बोधन गरिने कुराले लगानीकर्ताको मनोबल केही बढाएको छ ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३३ दशमलव ६१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । यद्यपि, गत साताको तीन कारोबार दिन नेप्से ओभरसोल्ड जोनमा रहेको थियो ।

गत साता १ सय ७१ कम्पनीको २२ हजार ४ सय ३७ पटकको कारोबारमा १ अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँबराबरको ४७ लाख ९३ हजार १ सय २० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम ८ दशमलव ६१ प्रतिशत घटेको छ । अघिल्लो साता १ सय ७४ कम्पनीको १८ हजार ७५ पटकको कारोबारमा १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँबराबरको ४५ लाख २६ हजार ५ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ४५ दशमलव ९९ बिन्दुमा बन्द भएको बजार गत साताको बुधबार १ हजार ३ सय १५ दशमलव १३ बिन्दुमा बन्द भएको छ ।

परिसूचक पहिलो दिनको तुलनामा १० दशमलव ७० अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ६६ अंक बढेर २ सय ७९ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

गत साता कारोबारमा आएका होटेल, उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ ।

बिमा समूहको परिसूचक सो साता सर्वाधिक ७७ दशमलव १९ अंक बढेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक २८ दशमलव ४८ अंक, वाणिज्य बैंक समूहको १६ दशमलव २२ अंक, व्यापार समूहको १२ दशमलव ८४ अंक, जलविद्युत् समूहको सात दशमलव ४ अंक, वित्त समूहको १ दशमलव शून्य ९ अंक र लघुवित्त समूहको शून्य दशमलव ८९ अंक बढेको छ ।

कारोबारमा आएको होटेल समूहको परिसूचक ४२ दशमलव ५४ अंक, उत्पादनमूलक समूहको ३७ दशमलव ६ अंक र अन्य समूहको १२ दशमलव ३९ अंक घटेको छ ।

गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अगाडि रहेको छ । सेयर संख्याका आधारमा भने सानिमा बैंक लिमिटेड अगाडि रहेको छ ।

सो साता नेपाल लाइफको १ हजार १ सय ८ पटकको कारोबारमा ११ करोड १८ लाख ६० हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सानिमा बैंकको गत साता २ लाख १ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया