डेस्टिनेसन : आर्यघाट - Naya Patrika
eNaya Patrika
  • ePaper

डेस्टिनेसन : आर्यघाट

स्थान : पशुपतिको आर्यघाट
समय : साँझ ५ बजेतिर
‘दाइ, म त्यहाँ चिताको छेउमा उभिन्छु, मेरो फोटो खिच्दिनु न है ।’ म पुग्नेबित्तिकै आकासे रङको हाफसर्ट लगाएको एउटा केटोले मोबाइल निकाल्दै भन्यो ।

म उसको फोटो खिच्दिनुप-यो भनेर यसो हात तन्काउन खोज्दै थिएँ, अर्को मान्छेले नै मोबाइल लिएर उसको फोटो खिच्दियो । खिचिक्क, ‘यो मेरो हजुरबाको लास हो क्या, भरे इन्स्टाग्राममा ‘रेस्ट इन पिस बुबा’ लेखेर फोटो हाल्नुप-यो नि ।’

आकासे रङको हाफसर्टवाला केटोले फोटो खिच्दिने मान्छेलाई फोटो खिच्नुको स्पष्टीकरण दियो अनि उसको हातबाट मोबाइल लिएर एंगल–एंगल मिलाएर लाससँग सेल्फी खिच्न थाल्यो । ओर्तिरपर्तिरका मलामीले उसलाई हेरिरहे तर केही भनेनन् ।

मैले पनि केही बोलिनँ । हल्का साँझ पर्न आँटेकाले उसले फ्ल्यास बालेर लासको फोटो खिच्न थाल्यो । त्यो उज्यालोले लासको आँखामा केही असर ग-यो कि गरेन होला ? एकछिन सोचेँ । साँच्ची, लासको आँखाले केही देख्छ कि देख्दैन होला ?

देख्छ होला र त मरिसकेको मान्छेहरूको आँखा दानमा दिइन्छ । नातिको मोबाइलको फ्ल्यास आँखामा पर्दा लासले मनमनै नातिलाई गाली ग-यो कि गरेन होला ? कसैले मनमनै गरेको कुरा पनि सुन्न पाए कति गज्जब हुन्थ्यो होला हगि ? साँच्ची एउटा फ्रेस लासको अनुहार कत्तिको फोटोजेनिक हुन्छ ?

‘कपडा च्यातौँ अब ।’ एउटा बुज्रुकजस्तो देखिने प्रौढ व्यक्तिले उत्साहित हुँदै भन्यो । बुज्रुकको कुरा भुइँमा नझर्दै दुईजना मान्छेले पालैसँग लासको लुगा च्यात्न थाले । लासको लुगा खोल्न मान्छेहरू किन यतिबिघ्न उत्साहित भएका होलान् है ? म छेउबाट एकटकले हेरिरहेको थिएँ ।

सुरुमा सर्ट च्यातियो, अररिएको पातलो काया देखाप-यो । त्यो देखेपछि मलाई हल्का जाडो भयो । साँच्ची, लासलाई जाडो भयो कि भएन होला ? सहरमा दिउँसो हल्का गर्मी भए पनि साँझमा अझैसम्म पनि जाडो नै छ । त्यसपछि लासको सुरुवाल च्यातियो र जाँघे पनि खोलियो ।

लासको शुष्क लिंग देखियो । सारा सृष्टिको जिम्मा लिएको त्यो महान् लिंग अहिले शुष्क अवस्थामा थियो । साँच्ची, लासलाई लाज लाग्छ कि लाग्दैन होला ? मृत हजुरबाको लिंगको फोटो त्यो नातिले खिचेर इन्स्टाग्राममा हाल्छ कि हाल्दैन होला ?

त्यही लिंगबाट निस्किएको वीर्यबाट नै आफ्नो सृष्टिको रोडम्याप कोरिएको उसलाई कत्तिको थाहा होला ? मैले यसो घाँटी तन्काएर वरिपरि हेरेँ, नातिलाई देखिनँ । सायद फोटो अपलोड गर्न गयो होला ।
‘लौ अब दागबत्ती दिने वेला भयो ।’ एउटा बूढो टाइपको मान्छेले भन्यो ।

अघिसम्म लासको वरिपरि पानी बोकेर घुमिरहेको मान्छे (सायद लासको छोरा हुनुपर्छ)को हातमा आगोको एउटा पुल्ठो खै कताबाट ल्याएर थमाइयो ।

उसले बिहान–बिहान हाम्री आमैले सूर्यलाई अघ्र्य हालेजस्तै गरेर ठ्याक्कै लासको मुखैमा पर्ने गरी आगोको अघ्र्य हाल्यो । साँच्ची अनुहारमै आगो हालेर दागबत्ती दिने चलन कसले चलायो होला है ? मरेको मान्छेलाई आगोले पोल्छ कि पोल्दैन होला ?

‘आयो टप्प टिप्यो, लग्यो,
मिति पुग्यो टारेर टर्दैन त्यो…’
पर खोलापारिबाट अघिदेखि ध्यानपूर्वक हेरिरहेको असुहाउँदिलो गरी कपाल पालेको कालो लुगा लगाएको मान्छेले लासको मुखमा आगो हालिएको दृश्य हेर्दै लेखनाथ पौडेलको यो कविता भाका हाल्यो । कालको महिमा गाइएको योभन्दा जीवन्त अरू कुनै कविता मैले आजसम्म सुनेको छैन ।

परबाट अर्को मान्छे लास भएर जलेको हेर्दै आफ्नो मृत्यु कल्पिने मान्छेहरूको मनमा कस्ता–कस्ता कुरा खेल्छन् होला ? एउटा मान्छे लास भएर जल्दा चितामा मृतकाय मात्रै जल्दैन, शरीरसँगै हजार सपना जल्छन्, अहंकारहरू जल्छन्, अनि जल्छन् कैयौँ आशा र भरोसाहरू ।

मुखमा हालिएको आगोको अघ्र्यले बिस्तारैबिस्तारै लासको अनुहार डढाउन थाल्यो । संसारकै सबैभन्दा रूपवान् मान्छे मै हुँ भनेजसरी रूपको घमन्ड गर्नेहरूलाई हात समातेर छेउमा उभ्याई अनुहार जल्दै गरेको देखाइदिए कस्तो हुन्थ्यो होला भनेर एकछिन कल्पना गरेँ । हाम्रो हिन्दू धर्ममा मुखबाटै दागबत्ती दिनुपर्ने भयानक चलन कसले चलायो होला है ?

कसैको मुखमा आगो हाल्दाखेरी त्यो आगो हाल्ने मान्छेको दिमागमा कस्ता–कस्ता कुरा खेल्छन् होला है ? आफ्नै आँखाअगाडि कसैले आफूलाई जन्मदिने व्यक्तिलाई आगो लगाउँदा पनि चुपचाप बस्नुपर्छ । यो संसारमा लास मात्रै हैन, मलामी हुन पनि साह्रो छ ।

लासको अनुहार जल्दै गरेको उपस्थित सबैजनाले एकटकले हेर्दै गए । कतै कसैले पनि अहिलेसम्म रोएको सुनिएको थिएन । बाको अनुहारमा आगोको अघ्र्य दिनुअघि लासको सम्भावित छोराले दुई थोपा आँसु तुरुक्क चुहाएको थियो ।

तर, अहिले उसको अनुहार एकदमै सपाट थियो । त्यस्तो भावशून्य अनुहार आजसम्म मैले कसैको पनि देखेको थिइनँ । सायद आफ्नो बालाई दागबत्ती दिने वेलामा एउटा जवान छोराको अनुहार त्यस्तै हुन्छ होला ।

हाफसर्ट लगाएको नातिकेटो परबाट हजुरबा खरानी हुँदै गरेको हेरिरहेको थियो । सेल्फी खिच्ने मोबाइल खै कता राखेछ कुन्नि हातमा थिएन । उसको अनुहार रातोपिरो भएको थियो ।

‘आज ढिलो होला जस्तो छ, अझै त्यत्रो बाँकी छ,’ घाटको मान्छेले नाडीमा बाँधेको घडी हेरेर मलाई हेर्दै भन्यो । मैले उसको कुरा सुनेको नसुनेजस्तै गरिदिएँ । त्यसपछि खै कताबाट एउटा बाँस लिएर उसले लासलाई घोच्न थाल्यो । उसै त आगोले पोलेको झन् त्यसमाथि बाँसले घोच्दा लासले के सोच्यो होला ?

मान्छेहरूले न सुखसँग बाँच्न दिन्छन्, न सुखले मर्न । लास घोचिसकेपछि त्यो मान्छेले दुई पोका डाल्डा घ्यू आगोमा हाल्दियो र गोजीबाट लाइटर निकालेर चुरोट सल्काएर खान थाल्यो । पारिबाट दुइटा विदेशी पर्यटकले त्यो असुहाउँदो कपाल पालेको मान्छेको छेउमा बसेर फोटो खिच्दै थिए ।

मृत्युउत्सवको फोटो खिच्न मान्छेहरूले किन यतिसाह्रो मरिहत्ते गर्छन् ? ती पर्यटकको अनुहारमा देखिएको सन्तुष्टिको रेखा हेर्दा उनीहरूको नेपाल घुम्न आउनुको मुख्य उद्देश्य नै लास जलाएको हेर्नु थियो जस्तो देखिन्थ्यो । मरेको मान्छे त्यस्तो आकर्षक हुन्छ र ?

पर्यटकहरूले फोटो खिचेको देखेपछि मलाई लासको नातिको याद आयो । ऊ फोटो खिच्न छाडेर एउटा रजिस्टर बोकेर मलामी आएका मान्छेहरूको नाम टिप्दै हिड्दै रै’छ । त्यो रजिस्टरमा गएर आफ्नो नाम लेख्ने जाँगर ममा एकरत्ति थिएन । नातिकेटो पनि म भएतिर आएन । जे भो, राम्रै भो ।

‘अलिक छिटो गरौँ न हौ…’ एउटा मान्छे आएर लास घोच्दै चुरोट खाने मान्छेको कानमा आएर साउती मा-यो । त्यही मान्छेलाई चुरोट खान दिँदै उही पुरानो बाँस लिएर ऊ फेरि चितातिर अघि बढ्यो । अनि दयामाया त्यागेर लासको टाउकोमा बजा-यो । प्याट्ट आवाज आएर लासको टाउको फुट्यो ।

सायद लासको गिदी त्यही चिताको दाउरामा छरपस्ट भयो । उसले अहिलेसम्म आर्जन गरेको शिक्षा, बुद्धि, विवेक र अनुभव सबै छरपस्ट भएर चितामा पोखियो । एउटा मान्छेले जीवनभर आर्जन गरेको ज्ञानको अन्तिम बिन्दु कहाँ हो, जलिरहेको चितामाथिको दाउरा ?

रूपको, ज्ञानको, मानसम्मान, इज्जत, प्रतिष्ठाको घमन्ड गर्ने मान्छेलाई एकचोटि जल्दै गरेको चिता देखाउन पाए उसको मनोदशा केही फेरिन्थ्यो कि ? खैर, जे होस् । जबर्जस्ती बाँसले हानेर लासको खप्पर फुटाई गिदी छरपस्ट पार्नु हुँदैन थियो । खप्पर फुटेको आवाज आउनासाथ खोलापारिबाट हेरिरहेको कालो लुगा लगाउने त्यो जगल्टे अमिलो मुख बनाउँदै उठेर हिँड्यो ।

‘समात… समात…’ एउटा आत्तिएको आवाज आयो । चितामा दाउराको बीचबाट लासको एउटा खुट्टा बाहिर निस्केको थियो । आधा डढेको खुट्टा देखेपछि नातिकेटोले डराएर पित्रिक्क दुई थोपा आँसु झा-यो ।

लाखौँ पाइला हिँडेको त्यो खुट्टालाई पनि बाँसले घचेटेर फेरि चितामै राखियो । एउटा मान्छेले जिन्दगीभर गरेको यात्राको अन्तिम बिन्दु भनेकै घाट रहेछ । चिता नै रहेछ । लास ढिलो जल्दै थियो । डाल्डा घ्यू हालेर लासलाई जबर्जस्ती जलाइँदै थियो ।

धपेडीमा बाँच्ने मान्छेहरूको जिन्दगी पनि धपेडीमै सक्किने रैछ । धैर्यता भन्ने कुरा हिजोआज शब्दकोशबाटै बिलाएर गइसकेको हो र ? लास जल्दै थियो । मान्छेहरू हतारिँदै थिए ।

‘लौ अब सक्कियो, अर्को लास तयार पार्दै गर्नुस्’ बाँसले लास घोच्ने मान्छे करायो । अनि अलिअलि बाँकी रहेका हाडखोर र अलिअलि मात्रै जलेका दाउरा तल खोलामा घचेट्न थाल्यो । खोलामा तैनाथ रहेको एउटा टोलीले दाउरा झर्नेबित्तिकै टिप्न थाल्यो ।

अरू दुईजना मिलेर नयाँ चिता तयार पार्न थाले । चिता तयार पार्ने काम यति छिटो भयो कि मैले केही भेउ नै पाइनँ । मान्छेलाई मिलाई–मिलाई जलाउन अभ्यस्त हातहरू देखेर ताज्जुब लाग्यो । केही क्षणमै सिपालु हातहरूले अर्को एउटा फ्रेस चिता तयार पारे ।

‘लौ अब त्यो लासलाई यहाँ मिलाएर राख्नुस् त ।’ बाँसवालाले हतारिँदै भन्यो । त्यसपछि दुई जोडी बलिष्ठ पाखुराले अघिदेखि भुइँमा लम्पसार परेर पल्टेको मेरो कमजोर शरीरलाई जुरुक्क उचालेर चितामाथि राखे ।

तपाईको प्रतिक्रिया