हेलो लक्ष्मण गाम्नागे सञ्चै ? - Naya Patrika
eNaya Patrika
  • ePaper

हेलो लक्ष्मण गाम्नागे सञ्चै ?

हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे नेपाली साहित्य लेखनमा प्रायः सुनिने नाम हो । तीन दशकदेखि निरन्तर लेखनमा रहेका गाम्नागेका आधा दर्जन कृति प्रकाशित छन् । जसमध्ये तीनवटा कविता र तीनवटा निबन्धका कृति छन् । हुन त उनी फुटकर लेखनमा झनै सक्रिय छन् । ९ वर्षदेखि सिस्नुपानी नेपालका अध्यक्ष रहेका गाम्नागेसँग नयाँ पत्रिकाका कृष्ण कट्टेलले कुराकानी गरेर तयार पारेको फिचर :

जस्तो होस्, लक्ष्मण गाम्नागेलाई जागिर खानु थियो । त्यसैका लागि उनी ४० सालको वैशाख–जेठतिर रसुवाको दुर्गम पहाड उक्लिए । उनलाई सहज कहाँ थियो र ! आइस र खोपले भरिएका झोला बोकेर दिनभर हिँड्नुपथ्र्यो । कतै खोला, कतै जँघार त कतै साँघुरो बाटो । कतै नाकै ठोकिएलाजस्तो उकालो अनि कतै पट्यारलाग्दो लम्पसार तेर्सो ।

साँझ ढल्किँदै गर्दा उनको मनमा वास बस्ने ठाउँ आइपुगियो कि भन्ने आशा जाग्थ्यो । जंगलको बाटो हिँड्दा साथीहरूसँगै पाइला चाल्न नसक्दाको पीडा बेग्लै थियो । बल्लतल्ल वास बस्ने पातलो बस्तीमा पुग्दाको मलीन खुसीको आनन्द अर्कै हुन्थ्यो । तर, चारैतिरबाट तर्साइरहने चितुवाजस्तै बडेमानका कुकुरहरूको नाराजुलुसले दिक्क लगाउँथ्यो, उनलाई ।

वास बसिसकेपछि भोको पेटलाई खुसी दिलाउन ग्रहण गरिने त्यो क्षेत्रको मिष्ठान्न भोजन अर्थात् गहुँको बाक्लो रोटी अनि नुन–खुर्सानी । ०३९ सालमा झापाबाट एसएलसी परीक्षा दिएर नयाँ वर्ष अर्थात् ०४० साल लाग्दै गर्दा रसुवातिर चढ्दाको क्षण त्यस्तो थियो, लक्ष्मीप्रसाद भट्टराईको अर्थात् हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेको ।

हास्यव्यंग्यकार भन्दैमा जीवनशैली रसिलो र भरिलो कहाँ हुँदो रहेछ र ! पहरामा मालीविना नै फुलिरहेको फूल उति नै सुवासमय र आकर्षक हुन्छ, जति बगैँचाको फूल हुन्छ । आफैँ चट्टान छेडेर उम्रिने पीपल पनि उति नै पवित्र र शीतल हुन्छ, जति चौतारामा रोपेर हुर्काइएको पीपल हुन्छ । हो, यस्तै अप्ठ्यारा गाँैडा र गल्छी पार गर्दै धेरैले देख्ने डाँडोमा अर्थात् सफलताको चुलीमा पुग्ने मानव उदाहरणमध्ये एक हुन्, हास्यव्यंग्यकार गाम्नागे ।

पञ्चायतकालमा प्रगतिशील धारका कवि, कलाकारले वास्तविक नामलाई लुकाउनुपर्ने बाध्यता थियो । वास्तविक नाम राखेर तत्कालीन शासनसत्ता तथा शासकवर्गको नकारात्मक प्रवृत्तिमाथि केही लेखेमा ज्यान जाने वा जेल जानुपर्ने खतरा थियो ।

उनकै बुझाइमा उनको सरकारी नाम हो– लक्ष्मीप्रसाद भट्टराई । पुख्र्यौली थलो ओखलढुंगाको गाम्नाङटार । तर, उनी ०२१ सालमा भुटानमा जन्मिए । खेतीकिसानी तथा जजमानी गर्ने उनका बा–आमा भुटान पुग्ने क्रममा उनको जन्म भएको थियो । ओखलढुंगा हँुदै ताप्लेजुङबाट भुटान गए पनि ०३३ सालमा गाम्नागेको परिवार झापा फर्कियो ।

‘पुख्र्यौली थलोलाई आधार बनाएर नामको पछाडि गाम्नागे राख्नुभएको ?’ यो प्रश्नअघि पूरापुर जवाफ दिन तम्सिए, उनी । भने, ‘ओखलढुंगाको गाम्नाङटार भन्ने एक प्रसिद्ध गाउँ । जहाँ हाम्रो पितापूर्खालाई उहिलेका राजामहाराजाले बिर्ता दिएका रहेछन् ।

भट्टराईहरूको ठूलो बस्ती भएको क्षेत्र हो, त्यो । त्यहाँबाट हुर्किएका भट्टराईहरूले आफूलाई गाम्नाङटारको भन्न रुचाउँदा रहेछन् । त्यही भएर मैले पनि गाम्नागे राखेको ।’

हुन त पञ्चायतकालमा प्रगतिशील धारका कवि, कलाकारले वास्तविक नामलाई लुकाउनुपर्ने बाध्यता थियो । वास्तविक नाम राखेर तत्कालीन शासनसत्ता तथा शासकवर्गको नकारात्मक प्रवृत्तिमाथि केही लेखेमा ज्यान जाने वा जेल जानुपर्ने खतरा थियो ।

अनेक धम्की तथा गालीगलौज त सामान्य नै हुन्थ्यो । गाम्नागे सम्झिन्छन्, ‘आफ्नो सुरक्षाका लागि पनि छद्मनाम राख्नुपर्ने परिस्थिति थियो । रोजीरोटीका लागि कोही सरकारी जागिरमै झुन्डिएका हुन्थे, तर उनीहरू नै शासकको व्यवहारबाट आकुल भएर लेख–रचना लेख्थे । यस्तै क्रमको म पनि एउटा पात्र हुँ ।’

एसएलसीको रिजल्ट आएपछि उनी रसुवाबाट काठमाडौं फर्किए । तर, जागिरविना स्वतन्त्र बस्न उनलाई छुट थिएन । उनी ४ दाजुभाइमध्येका साइँला, ६ जना दिदीबहिनी । आफूसँगै भाइबहिनीको अध्ययन अघि अगाडि बढाउनु थियो ।

जीवन निर्वाहका लागि पनि कुनै न कुनै जागिर त गर्नैपर्ने थियो । सोही क्रममा उनले धादिङमा डेढ वर्ष पढाए । त्यतैबाट लोकसेवा आयोगमा नाम निकाले । ०४२ सालदेखि निरन्तर काठमाडौँ बसे । उनको जागिर थियो, कृषि विभागमा मुखियाको भूमिकामा ।

जसलाई अहिले कृषि सञ्चार महाशाखा भनेर चिनिन्छ । यसरी उनी लक्ष्मीप्रसाद भट्टराईका रूपमा सरकारी जागिरे जीवन बाँचिरहेका थिए । अर्कोपट्टि लक्ष्मण गाम्नागेका नाममा व्यंग्यकारको छवि छिपाइरहनुपरेको थियो । ‘परिस्थितिले जन्मायो, लक्ष्मीप्रसाद भट्टराईबाट लक्ष्मण गाम्नागे,’ उनले नाम राख्नुको रहस्य उप्काए ।

पत्रपत्रिका निकाल्ने, लेखरचना कोर्ने उनको सहायक काम थियो । मुख्य काम त कृषि विभागअन्तर्गतको ‘जेटिए र बूढीआमा’ नामक रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन गर्नु थियो । ‘जेटिए र बूढीआमा कार्यक्रम निकै लोकप्रिय थियो,’ उनले सम्झिए, ‘लक्ष्मी भुसालसँगै कति कार्यक्रममा बोलियो पनि ।

त्यो कार्यक्रम लेखन तथा सञ्चालनमा मेरो भूमिका हुन्थ्यो । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ दाइ पनि त्यसवेला त्यहीँ काम गर्नुहुन्थ्यो ।’ तर, गाम्नागेले डेढ वर्षभन्दा बढी त्यहाँ काम गरेनन् ।

नेपाल दूरसञ्चार संस्थानमा चौथो तहमा नाम निकालिसकेपछि भने उनले लामो समय सो संस्थानमा काम गरे । अनि स्वैच्छिक अवकास लिए ।

कृषि विभागमा जागिरे रहँदा कलाकार मदनकृष्ण श्रेष्ठलगायतसँगको संगत र कलासाहित्यतर्फकै कर्मले उनलाई हास्यव्यंग्यलगायत लेखनमा अभिप्रेरित गर्दै लग्यो । दूरसञ्चारको जागिरबाट स्वैच्छिक अवकास लिइसकेपछि त उनी झन् पूर्णकालीन लेखनमै छन् ।

कुराकानीकै क्रममा उनलाई स्मरण गराएँ, ‘एसएलसीपछि रसुवा चढ्दाको पल मात्रै तपार्इंको जीवनको कठिन क्षण थियो र ?’ उनले नकार्दै जवाफ फर्काए, ‘निम्न मध्यमवर्गीय परिवार, त्यसमाथि ठूलो परिवारको सदस्य भएर हुर्किनु अत्यन्त सुखद थिएन ।

तैपनि बुबाआमाको संरक्षणमा रहुन्जेल सुखी र खुसी नै रहन पाइयो । एसएलसीपछि जागिर खोज्दै हिँड्दा भने दुःख पनि पाइयो ।’ उसो त भुटानमा ३ कक्षासम्म पढ्दा जंगलको बाटो घन्टाैं हिँडेर विद्यालय जाने–आउने गर्दाका क्षण पनि उनको जीवनमा अविस्मरणीय र दुःखदायी नै रहेछन् ।

भन्छन्, ‘भुटानको दुर्गम गाउँमा हुर्किंदाको क्षण, त्यहाँका जंगल छिचोलेर स्कुल जाँदाको क्षणलगायतका दुःखद क्षण विस्मृतिमा गइसके ।’

‘काठमाडौंमा डेरावाल भएर जीवन बिताउँदाका सम्झिनलायक क्षण पनि छन् कि ?,’ ‘घरबेटीसँगको त्यति धेरै तिक्ततापूर्ण अवस्था त रहेन । तर, सरकारी भए पनि तल्लो तहको जागिरे जीवन ।

भाइबहिनी पढाउनुपर्ने, विवाहपछि त झन् आफ्नो व्यावहारिक पक्षलाई समेत अघि बढाउनुपर्ने जिम्मेवारी आइलाग्यो । त्यो क्रममा कहिले एक प्याकेट दूध किन्ने पैसासमेत नहुने अनि भएभरका सबैको गोजी खोतल्नुपर्ने हुन्थ्यो ।’

बा–आमाका धेरै सन्तानमध्ये बीचतिरको आफू परेकोबारे पनि उनले कवितामा बोलेका रहेछन् । परिवार नियोजनको जमाना त्यति नभएकाले आफ्नो जन्म भएकोमा उनले खुसी जनाएका छन् । ‘हेलो लक्ष्मण गाम्नागे ! सञ्चै ?’ शीर्षक कविताको पहिलो हरफमा उनी लेख्छन् :
लक्ष्मण गाम्नागे एउटा साधारण नाम
प्रकृतिको एकछिनको एउटा काम
परिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएको
पहाडबाट तराई र तराईबाट सहरतिर अन्मिएको
सुखी जीवन बाँच्ने थुप्रै लक्ष्मीप्रसाद भटराईहरूका
रुमानी रहरहरूमध्येको एक रहर
लक्ष्मण गाम्नागे !
झन्डै यो २२ वर्षअघि लेखिएको कविता रहेछ, यो । अभाव र तनाव त उनले पनि भोगेछन्, विगतमा । तर, पनि उनले कहिल्यै प्रकट गरेनन् । बरु आफ्नो संघर्षको दुखाइमा दुखिरहनुको सट्टा उनी दौडी मात्र रहे, अघिल्तिर मात्रै ।

कला, साहित्यमा उनले जागिरे जीवनमा हुँदासमेत कहिल्यै विश्राम लिएनन् । परिणामस्वरूप हालसम्म उनले तीनवटा कवितासंग्रह र तीनवटा निबन्धसंग्रह निकालिसकेका छन् । ०५५ सालदेखि नियमित रूपमा उनी केही पत्रपत्रिकामा स्तम्भकारका रूपमा छाइरहेका छन् ।

हास्यव्यंग्यलगायत साहित्य लेखनमा संगठित केही युवा जमात भएर ०५५ सालमा गठन गरेको ‘सिस्नुपानी नेपाल’ नामक संस्था अहिले निकै लोकप्रिय छ । उनी तेस्रो कार्यकालका लागि हाल सो संस्थाको अध्यक्ष छन्, अर्थात् विगत ९ वर्षदेखि निरन्तर ।

जुन संस्थाले तिहारको समयमा मुलुकका विशिष्ट व्यक्तित्वको उपस्थितिमा हास्यव्यंग्य प्रस्तुतिमा देउसी–भैलो खेल्ने गर्छ ।

हास्यव्यंग्यको चर्चा हुनु भनेको मुलुकमा विकृति बढ्नुको संकेत हो भन्ने उनको बुझाइ छ । ‘मुलुकमा जति विकृति बढ्यो उति हास्यव्यंग्यको चर्चा हुन्छ र कलाकारले वाहवाही पाउँछन्,’ गाम्नागेले अनुभव सुनाउँदै भने, ‘भूकम्पपछिको पुनर्निर्माणमा सरकारको ढिलाइ, नाकाबन्दीलगायतले ०७३ सालको हाम्रो देउसीको निकै चर्चा भयो ।

गत वर्षको देउसीले कम चर्चा पायो ।’ यसपालि के व्यंग्य गर्ने भन्ने विषयवस्तु नै नभेटिएको उनले बताए । ‘बरु हामीलाई हास्यव्यंग्यकार बन्नु छैन । मुलुक बिग्रिएको भन्दा समृद्धितर्फ लागेको नै प्यारो लाग्छ,’ उनले सुधारको अपेक्षा गरे ।

संघर्षपूर्ण जीवनले डोहो-याउँदाडोहो-याउँदै अहिले भने त्यसको प्रतिफलस्वरूप सुखद समय अनुभूत गरिरहेको गाम्नागे बताउँछन् । भन्छन्, ‘अहिले सुखद नै छ, समय । छोरी भारतमा डिप्लोमा पढ्दै छिन् । छोरो एसइईको तयारी गर्दै छन् ।

श्रीमती र मसहित हामी काठमाडौंमै छौँ । बा–आमा झापातिरै हुनुहुन्छ । दाजुभाइ, दिदीबहिनी आ–आफ्नो परिवारसहित कोही कता, कोही कता, कोही लेखक, साहित्यकार, वकिल, अधिवक्तालगायत हुनुहुन्छ ।’

आफ्नो पारिवारिक पृष्ठभूमि र संघर्षको यात्राबारे गाम्नागेले बताइरहँदा अनि पछिल्लो पारिवारिक सुखशान्तिको सन्दर्भ जोडिरहँदा महसुस भयो, ‘कर्म गरे फल अवश्य मिल्छ भनेको यहि रहेछ ।’ कलाकारिता, लेखनमा निरन्तर सक्रिय गाम्नागेले भने, ‘लेखन निरन्तर अघि बढिरहेकै छ । छिट्टै एउटा पुस्तक निकाल्ने तयारीमा छु ।’

तपाईको प्रतिक्रिया