मेराे प्रेम : श्री प्राणभन्दा प्यारो साथी बद्री ...... - Naya Patrika
eNaya Patrika
  • ePaper

मेराे प्रेम : श्री प्राणभन्दा प्यारो साथी बद्री ……

सुनिता खनाल, कविकल्पना र म एउटैठाउँका हौँ, पाल्पाको रामपुरका । उनको आफन्तको घर हाम्रो घरनजिकै रहेछ । त्यहाँ मैले उनलाई देखेको थिएँ । भर्खर गाउँमा ट्याक्टर जान थालेको थियो । पानी पर्ने समयमा ट्याक्टर फसेको रहेछ त्यहाँ । म हेर्न गएँको थिएँ । उनी पनि आएकी रहिछिन् । सामान्य बोलचाल भयो । त्यसको भोलिपल्ट स्कुल जाँदा थाहा भयो उनी पनि त्यही स्कुलमा पढ्दी रहिछिन् । उनले मलाई मन पराउन थालिछन् । मैले भने त्यस्तो केही पनि सोचेको थिइनँ । पर्सिपल्ट स्कुलबाट आउँदै गर्दा उनकी साथी थिइन् राधा । उनले बद्री ला तँलाई कल्पेले पठाएको चिठी भनेर दिइन् । चिठी खोलेर हेर्दा प्रेमपत्र रहेछ । त्यसवेलाको पहिलो चिठी श्री प्राणभन्दा प्यारो साथी बद्री, आकाशभन्दा फराकिलो, चिनीभन्दा गुलियो… माया, सम्झना यस्तै–यस्तै थियो । रमाइलो लाग्यो । हाँसो लाग्यो । मैले पनि प्यारी कल्पु असिम प्यार भनेर लेखेर रिप्लाइ गरेँ । त्यसपछि हाम्रो प्रेम बस्यो ।


हामी त्यो वेलाको हिट जोडी थियौँ । त्यसवेलाको अमिताभ बच्चन र जया बच्चनजस्तै थियौँ । विद्यार्थीहरूबीच सुपरहिट थियौँ । सरहरूलाई समेत थाहा थियो । दैनिक चिठीपत्र आदानप्रदान भइरहन्थ्यो । एकदिन आएन भने हामीबीच बाझो नै हुन्थ्यो । नौ कक्षामा पढ्दा म काठमाडौं आएँ । त्यसवेला पनि चिठी, फोन हुन्थ्यो । बीचमा ठेगाना गलत परेकाले चिठी आएन । त्यसैवेला पाल्पाको रामपुरमा बृहत् सांस्कृतिक कार्यक्रम थियो । कार्यक्रममा म पनि गएँ । तर उनले चिठीको रिप्लाई नदिएको रिसमा म उनीसँग बोलिनँ । त्यसले उनलाई चोट पु¥याएछ । घर गएर रोइछन् । आमाले सोध्दा साँचो कुरा बताइछन् । उनका आमाबुवालाई म मामामाइजू भन्थेँ । उहाँले भान्जा भोलि यहाँ आउनु भनेर गाउँकै एक ठाउँमा भेट गराउनुभयो र यथार्थ कुरा थाहा भयो । खासमा कल्पुले चिठी लेखेकी रहिछिन्, ठेगाना गलत भएकाले पत्र फर्किएर गएको रहेछ ।

मेरो प्रेमसाथीले ‘बद्री ला, तँलाई कल्पेले पठाएको चिठी’ भनेर दिइन् । खोलेर हेर्दा प्रेमपत्र रहेछ । चिठीमा ‘श्री प्राणभन्दा प्यारो साथी बद्री, आकाशभन्दा फराकिलो, चिनीभन्दा गुलियो’ यस्तैयस्तै लेखिएको थियो ।

आमाले पनि ल अहिले राम्रोसँग पढ्नु पछि विवाह गर्नु, तिमीहरूको प्रेमविवाह म गराउँछु भन्नुभयो । उनी पढ्न थालिन् । म काठमाडौं आए । त्यसपछि यत्तिकै चलिरह्यो । एक्कासि ससुराबाले मलाई छोरी नदिने हुनुभयो । उनी ब्राह्मण हुन् । अन्तै विवाह गर्दिन तयारी गर्दै हुनुहुन्थ्यो ।


त्यसपछि आमाले प्रेम सफल पार्छौ भने विवाह गर भन्नुभयो । त्यसवेला मैले भर्खर एसएलसी दिएको थिएँ । सानै थियौँ । अप्ठ्यारो अवस्था थियो । तर पनि विवाह गर्ने सोचका साथ उनलाई लिन गएँ । लिएर आएँ । यही काठमाडौंमा नै । शर्मिला गुरुङ दिदी हामीलाई देखेर रुनुभएको थियो । सानै थियौँ । विवाह गरेपछि आलाकाँचा भएकाले बीचमा हाम्रो सम्बन्धमा असमझदारीहरू पनि भए । सामान्य कुरामा झगडा हुन्थ्यो । शंका गर्ने बानीले अप्ठ्यारो परेको थियो । तर, समयसँगै उनी व्यावहारिक भइन् । बुझ्न थालिन् । बिस्तारै जीवन सहज हुँदै गयो । अहिले सहज छ । एक–अर्कामा समझदारी बढेको छ ।

खुसी छौँ । धेरै भयो हामीबीच खटपट नभएको । अब दुवै बुझ्ने भएका छौँ । एक छोरी, ९ कक्षामा पढिरहेकी छिन् । अहिले त एकदम सुमधुर सम्बन्ध छ । बच्चा वेलाकोजस्तो सबैबीच सुपरहिट त छैनौँ, तर माया र विश्वासचाहिँ एक–अर्काबीच पक्कै सुपर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु