खलनायकभित्र नायकको खोजी ‘ओ नायक’ - Naya Patrika
eNaya Patrika
  • ePaper

खलनायकभित्र नायकको खोजी ‘ओ नायक’

मेरा लागि कविता हतियार हो । म समाजसँग कवितामार्फत संघर्ष गरिरहेको हुन्छु । त्यो संघर्षको सिलसिला चलेको लामो समय भइसकेको छ । जसकारण मेरा कविताका पाठक पनि बढेका छन् । कतिपय कार्यक्रममा जाँदा मेरा कृति खोज्ने र कृति प्रकाशनका लागि आग्रह गर्ने साथीहरूकै कारण ‘ओ नायक’ जन्मियो ।
हुन त मैले दुई वर्षअघि नै पुस्तक प्रकाशनको तयारी थालेको थिएँ । कविताहरूको क्रम मिलाउन थालेको थिएँ । तर, जब म आफ्नै कविताभित्र प्रवेश गर्न थालेँ, मलाई लाग्यो कि कतिपय कविता पुनर्लेखन गर्न जरुरी छ । समय परिवर्तन भइसकेको थियो र मैले समय पक्रन यस्तो निर्णय गरेँ ।
कविताको पाण्डुलिपि तयार भइरहँदा मैले पहिलो पृष्ठमा नाम लेखिसकेको थिएँ, ‘ओ नायक’ । यो मलाई चिनाएको कविता हो । कविताको शीर्षक नायक भए पनि पात्र भने खलनायक हो । मेरो खलनायक एउटा प्रेमी हुन सक्छ, एउटा नेता हुन सक्छ वा व्यापारी हुन सक्छ । यो बहुअर्थी कविता हो । त्यसैले पाठकहरूले मन पराए । कृतिको नाम यही राखेँ । कभरमा टाउको नभएको मान्छे छ । यसले खलनायकको खतरनाक सोचलाई देखाउँछ । यो कृतिमा परेका पाँच कविताका सन्दर्भ मेरो सम्झनामा अझै ताजा छन् ।

दुइटा पृथ्वी
नेपाललाई शान्तिभूमि भनिन्छ । यो बुद्धकै कारण हो भन्ने कुरा पनि हामी जान्दछौँ । बुद्धको देश भन्नेबित्तिकै उनले गरेका समानताका कुरा आउँँछन् । तर, देश त्यस्तो छैन । बुद्धको सन्देशलाई, बुद्धको दर्शनलाई हाम्रो देश नेपालले नै नकारेकोजस्तो भान हुँदै छ । दुइटा पृथ्वी कविताको अन्तिममा ‘बुद्ध मलाई तिम्रो नाममा शंका छ’ लेखेको छु । उनी कहीँ न कहीँ आफ्नै देशमा असफल भएको अनुभूति भएपछि मैले कवितालाई त्यसरी नै अन्त्य गरेको हुँ । उनले गरेको समानताका प्रचार स्थापित गर्न खोजेको दर्शनमा नै शंका लाग्छ ।
देश भयानक गतिमा विसंगतितर्फ गइरहेको वेला नै मेरो दिमागमा यी कुराहरूले डेरा जमाइरहेको थियो । कतिपय कुरालाई हामीले तुलनात्मक भाषामा धेरै बुझ्न सक्छौँ भन्ने लागेर नै मैले अर्को एउटा पृथ्वी खडा गरेकी हुँ । जुन मान्छेको पृथ्वीभन्दा निकै भिन्न छ । निकै प्रेम छ त्यहाँ । जहाँ रिस, राग र घमन्ड दूर–दूरसम्म पनि कतै देखिँदैन । हो, यस्तै स्वच्छ र स्वस्थ देशको परिकल्पनास्वरूप र बुद्धको दर्शनको सम्मानस्वरूप मैले यी शब्दलाई कविताको भाषामा उन्ने चेष्टा गरेकी हुँ ।

प्रोेफेसर किरात इतिहास पढाइरहेछन्
यो पहिचानको मुद्दामा केन्द्रित कविता हो । कवितामा गणतन्त्रअघि र पछिको समयलाई तुलना गरेको छु । गणतन्त्रअघि राजाहरूको शासन थियो । राजा आफैँ पनि हिन्दू भएका कारण त्यहाँ ब्राह्मणवाद हाबी थियो । अहिले गणतन्त्रपछि आदिवासी लडाइँ चलिरहेछ ।
पहिला राज्यसत्ताले आदिवासी अधिकार हडपेको थियो । धर्म, चाडबाडदेखि दैनिक रीतिरिवाज पनि राज्यसत्ताकै पालन गर्नुपर्ने थियो । यसो गर्दाखेरि उनीहरूका आफ्नै संस्कृति संस्कार छोपिँदै गए ।
तर, गणतन्त्र आइसकेपछि ती पहिचानको दाबी गर्दै गरेकाहरू मात्रै गणतन्त्रका कारक होइनन् । गणतन्त्र आएपछि सबैलाई सम्बोधन गर्नुपर्छ । म आफैँ पनि एउटा ब्रह्मण हुँ । यो देशमा मेरो पनि लगानी छ, तर मेरो मात्र लगानी होइन, देशवासीको लगानी छ । यहाँ किरात भन्ने शब्द कोड गर्नुको कारण सबै आदिवासी आन्दोलनको प्रतिनिधित्व गराएको हुँ । सबैलाई समेट्न नसकिने भएका कारण किरात मात्र उल्लेख गरेको हो । उनीहरूले आफ्नो इतिहास, पहिचान लेख्नका निमित्त उठाएकोे निब राजतन्त्रले भाँचिदिएको थियो । त्यसकारण अब गणतन्त्रपछि समान रूपमा उनीहरूको आ–आफ्नो हक र पहिचानको कुरालाई देशले सम्बोधन गर्नुपर्छ भन्ने मुद्दा कवितामा उठाएको छु । म आफू बाहुन भए पनि यो कविता लेख्दै गर्दा विशुद्ध जनजाति बनेर, उनीहरूको मन, मस्तिष्क छामेर नै रचना गरेकी हुँ ।

आगोको ठेगाना
१० वर्षे जनयुद्धमा धेरैको सपना जोडिएको थियो । तर, त्यो पूरा हुन सकेन । क्रान्तिपछि पनि उनीहरूको अवस्था जस्ताको तस्तै रह्यो । यो देशले सबैलाई समान सम्बोधन गर्न सक्दैन भने आफूलाई आगोको शेष घोषणा गर्नुप¥यो । ताकि त्यो शेषबाट फेरि नयाँ पुस्ताले आफ्नो इतिहास निर्माण गर्न सकुन् । नयाँ पुस्ताले फेरि देश निमार्णका लागि सोच्न सकुन् । उनीहरू आफू पनि केही नगर्ने र अरूलाई पनि सम्बोधनमा नराख्ने भन्ने कुराले सधैँ देशमा संकट निम्त्याउँछ । यो संंकटबाट छुटकारा पाउनुछ भने देशको शासन प्रणाली केन्द्रले सबैलाई बराबर रूपमा न्याय दिनुपर्छ भन्ने सवालमा यो कविता लेखेँ ।
यो कविता जन्मिनुपूर्व मेरो दिमागमा दौडिरहेको कुरो के थियो भने, किन सामन्त र पुँजीवादकैै चाकरी गर्छ दुनियाँ ? कि सबै गरिबैगरिब भैदिए हुने कि सबै धनी नै धनी भैदिए हुने । यस्तै छटपटीले जन्माएको कविता हो यो ।

भूतपूर्व प्रेमी
यो कवितामा भएको प्रेम अहिले चलिरहेकोभन्दा निकै भिन्न तरिकाको पे्रम हो । पहिले प्रस्ताव राखेर, प्रेमीप्रेमिका भइसकेको पे्रम होइन । कहिल्यै भौतिक रूपमा नजिक नभए पनि पछि उसलाई स्मृतिमा ल्याउँदा वास्तवमा मेरो प्रेमी रहेछ भन्ने अनुभूति जो हुन्छ । यो एउटा अनुभूतिजन्य प्रेम हो । पछि जब प्रेमको अनुभूति हुन्छ तब थाहा हुन्छ कसलेचाहिँ मलाई निश्चल प्रेम गरेको रहेछ भन्ने । छुटेको प्रेमलाई सम्झँदा बडो आनन्दको अनुभूति हुन्छ । प्रेमी छुटे पनि पे्रम नछुटेको एउटा मीठो अनुभूति र काउकुतीले छटपटिइरहेका वेला तिनै अनुभूतिहरूले प्रेम कविता बनेर जन्मने अवसर पाएका भने पक्कै हुन् ।

गर्भिणी थियो मेरो नाम
यो एउटा महिला पहिचानको सवाल उठाउने कविता हुनेछ भन्ने सोचले नै रचना गरिएको हो । पुरुषसत्ता यो देशमा हाबी छ । पुरुषसत्तालाई प्रश्रय दिनमा विभिन्न दर्शन, धर्मग्रन्थ, शास्त्र इत्यादिले पनि सहयोग पुर्याइरहेको छ । तर, जब एउटा सृष्टि निर्माण हुन्छ, देश निर्माण गर्ने, घर सञ्चालन गर्ने सवाल उठ्छ त्यसमा महिलाको पनि उत्तिकै योगदान हुन्छ ।
देश स्वतन्त्र भएपछि आ आफ्नो पहिचानको सवाल उठाउनेचाहिँ जति पनि आए, तर महिलाकै पहिचानको कुरा गर्न कोही पनि आएनन् । यो समय म अर्थात् महिलाको नाम जुन गर्भमा थियो त्यो अहिलेसम्म पनि जन्मन सकेको छैन भन्ने कुरा कवितामा उठाएको छु । यो देशमा महिलाको पनि उत्तिकै भूमिका छ भन्नुपर्योे, कि त महिलालाई लिएर राजनीति गर्न बन्द गर्नुपर्यो । म आफैँ एक महिला भएका कारण पनि मेरो अन्तस्करणमा यी कुराले नराम्ररी सताइसकेपछि कविता लेखेँ ।

  • सुनिता खनाल, कवि

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु