ठूला नेताको प्यारो बन्न सकिनँ : मनीष सुमन - Naya Patrika
eNaya Patrika
  • ePaper

ठूला नेताको प्यारो बन्न सकिनँ : मनीष सुमन

मनीष सुमन, राजपा सहसचिव तथा प्रदेश सांसद

मनीषजी हुन चाहन्नँ
म हुनेखाने परिवारमा जन्मिएको व्यक्ति हुँ । तैपनि बाहिर प्रस्तुत हुँदा साधारण परिवारको जस्तो देखिन्छु । सधैँ सरल रूपमा प्रस्तुत हुन्छु । कतिपय अवस्थामा भएका गुणहरूलाई पनि लुकाएर झनै सरल हुन्छु । मेरो ‘ह्याभिचुअल एक्सन’ प्रस्तुत गर्छु । त्यसैले त मलाई ‘मनीषवा’ भनेर जनताले भोट दिए । मलाई मनीषजी हुन मन छैन । यदि कुनै दिनदेखि मैले मनीषजीजस्तो देखिन थालेँ भने जनताले भोट नदिने मात्र होइन, पहिले दिएको पनि फिर्ता माग्नेछन् ।

ठूला नेताको प्यारो बन्न सकिनँ
म पार्टीका ठूला–बडा सबैलाई उहाँहरूप्रतिको मेरो धारणा भनिदिन्छु । उहाँहरूका कमजोरीहरू औँल्याइदिन्छु । यहाँ ठूला नेताहरूको आफूअनुकूल कुरा मात्र सुन्न पाए हुन्थ्यो भन्ने हुन्छ । तर, म प्रतिकूल कुरा गरिदिने भएर ठूला नेताहरूको प्यारो बन्न सकेको छैन ।

दल परिवर्तन कहिल्यै गरिनँ
म स्थिर स्वभावको छु । यो स्वभावलाई परिवर्तन गर्न सकिनँ । राजनीतिमा त झनै स्थिर छु । मैले ९ कक्षा पढ्दा जुन दलको सदस्यता लिएँ हालसम्म पनि त्यसैमा छु । बरु म रहेको पार्टी फुट्ने–जुट्ने धेरैपटक भयो । म कांग्रेस, एमाले, माओवादी वा राप्रपा कहिल्यै थिइनँ र भइनँ । मधेस राजनीतिमा मजस्तो स्थिर कार्यकर्ता कोही छैन ।

परिवारसँग झोकिन्छु
म घरपरिवारका लागि अलि रिसाहा मानिस नै हुँ । राजनीतिमा कमै रिसाउँछु । यदि रिसाइहालेँ भने पनि मेरा भाइजस्ता कार्यकर्ताले मायाको रूपमा लिएको थाहा पाएको छु । स्कुल लाइफमा धेरै कुटाकुट गरियो । ग्याङ फाइट नै गरियो । राजनीतिमा लागेपछि चाहिँ कुटाकुटमा उत्रिएको छैन ।

मितव्ययी छु
म आफूलाई लोभी मान्दिनँ । सिम्प्लिसिटीमा विश्वास गर्ने मान्छे विलासी त पक्कै छैन । परेको वेला खर्च गर्ने मितव्ययी नै छु ।

आस्थिक हुँ
धार्मिक दृष्टिकोणले हेर्दा आफूलाई आस्थिक मान्छु । नियमित पूजा गर्छु । भगवान्लाई भरोसा गर्छु । ईश्वर सर्वव्यापी छन् भन्ने कुरा मान्छु ।

गीत गाउँछु
भगवती, सरस्वतीले मलाई गला दिनुभएको छ । म राम्रो बोल्छु । वाक्कला भएको मान्छे हुँ भन्ने आफूलाई लाग्छ । वक्तृत्वकलामा जिल्ला प्रथम भएको मान्छे हुँ । गीत गाउँछु । पियानो बजाउँछु । मेरो हिडन ट्यालेन्ट यही हो ।

अलि कालो छु कि भन्ने महसुस गर्छु
ऐना हेर्दा आफूलाई अलि कालो छु कि भन्ने महसुस गर्छु । शरीर पनि मोटाएको छ । कपाल झरेकोमा पीडा छ ।

म संघीयता पक्षधर पार्टीको कार्यकर्ता हुँ । त्यसैले आफ्नो जीवनको पहिलो चुनाव प्रदेश सभाबाट लड्न उपयुक्त छ भन्ने लाग्यो । संघीयता कार्यान्वयनमा आफ्नो भूमिकाको महसुस गर्दै यता लागेको हुँ । सप्तरी क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको सांसद निर्वाचित भएको छु । अहिले मैले कुनै ठूलो पदमा पुग्ने, यसो गर्ने भनेर सोचेको छैन । संघीयता संस्थागत गर्नु छ यत्ति नै हो ।

मधेसको प्रमुख मुद्दा राजनीतिक नै हो
मधेसमा सामाजिक शोषण छ । सामाजिक मुद्दालाई म ठूलो रूपमा लिन्नँ । किनकि, यो शिक्षाको अभावका कारण भएको हो । शिक्षित जेनेरेसन हुर्किएपछि यो त आफैँ समाधान हुन्छ । त्यस्तै, अर्को राजनीतिक मुद्दा छ । यसमा, पहुँच, पहिचान र प्रतिनिधित्व गरी तीन कुरा छन् । यी तीन कुरा मधेसी जनताले नपाएसम्म मधेस समस्या समाधान हुँदैन ।

पहिला मधेसी हुँ, अनि मात्रै नेपाली
म पहिले मधेसवादी हुँ अनि मात्रै नेपाली । यहाँ नेपालबारे सोच्ने धेरै छन् । तर, मधेसबारे सोच्ने असाध्यै थोरै छन् । सिंगो नेपालमा भन्दा मधेसमा धेरै समस्या छन् । तसर्थ, ती समस्या समाधानका लागि मधेसवादी भएको हुँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु