'आई लभ यू भन्ने केटी धेरै छन्' - Naya Patrika
eNaya Patrika
  • ePaper

‘आई लभ यू भन्ने केटी धेरै छन्’

केदार घिमिरे ‘माग्ने बुढा’ हास्यकलाकारिता क्षेत्रका चर्चित पात्र हुन् । हास्य टेलिशृंखला ‘मेरी बास्सै’बाट दर्शकको मनमुटुमा बसेका घिमिरेले थुपै्र चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका अधिकांश चलचित्रले राम्रै सफलता हात पारेका छन् । ‘माग्ने बुढा’ पात्रले चर्चामा आएका घिमिरेका फ्यान पनि त्यत्तिकै छन् । कतिपय फ्यान त उनले भुलिसके, तर कुनै फ्यान यस्ता छन् जसलाई उनले वेला–वेला सम्झिन्छन् । तिनै फ्यानका विषयमा यहाँ चर्चा गरिएको छ :

फ्यानले नै चिन्दैनथे
टेलिफिल्ममा अभिनय गर्दा नक्कली जुँगा, दाँत लगाएर अभिनय गर्थें । बाहिर कार्यक्रममा जाँदा त जुँगा फुकालिन्छ । जसले गर्दा फ्यानहरूले नै मलाई चिन्नुहुँदैनथ्यो । कहिले त प्रहरीले नै नचिनेर कार्यक्रममा जान रोक्नुहुन्थ्यो । हामी कुनै कार्यक्रममा जान्छौँ भने हामीलाई आयोजकहरूले ब्याक स्टेजबाट लैजानुहुन्छ । जसले गर्दा प्रहरीले को मान्छे छि¥यो भनेर पछाडिबाट मलाई धेरैपटक तान्थे । अनि आयोजकले ‘उहाँ माग्ने बुढा हो’ भनेपछि छाडिदिन्थे ।

दाँत देखाउनुपर्ने फ्यान
यसरी निरन्तर कलाकारितामा लागिरहँदा फ्यानहरूले बिस्तारै चिन्न थाल्नुभयो । अनि मेरो हरेक पक्षमा चासो राख्न थाल्नुभयो । मैले स्टेज प्रोगाम पनि पाउन थालेँ । कार्यक्रममा जाँदा फ्यानहरूले मेरो दाँत छैन भन्ने ठान्नुहुँदो रहेछ । मेरो दाँत हेर्न आउनुहुन्थ्यो । मैले सबैलाई दाँत देखाउँदै हिँड्नुपथ्र्याे । टिभीमा देखेको दाँत र प्रत्यक्ष रूपमा देखेको दाँत देख्दा फ्याहरू अचम्म मान्नुहुन्थ्यो । किनभने मैले टेलिफिल्ममा अभिनय गर्दा नक्कली दाँत हालेको भन्ने थाहा रहेनछ । मैले कतिपय ठाउँमा अहिले पनि फ्यानहरूलाई गिजा देखाउनुपर्छ ।

लन्डन जाँदा एक युवतीले सुन दिइन्
आजभन्दा करिब ३ वर्षअघि म लन्डनको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ एउटी युवती मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । लन्डन आएको थाहा पाएपछि उहाँ त्यो प्रोगाममा आउनुभएको रहेछ । त्यही मौकामा उहाँले मलाई भेट्न खोज्नुभयो । मलाई सुन नै दिनुभयो उहाँले । त्यो सुनको औँठी, सिक्री बनाएँ । जुन अहिले पनि लगाइरहेको छु ।

विदेशका कार्यक्रममा जाँदा फ्यानहरूले सपिङ गरिदिनुहुन्छ
म विभिन्न देशमा कार्यक्रममा जाँदा त्यहाँ मेरा थुप्रै फ्यानलाई भेट्ने मौका पाउँछु । मलाई भेटेपछि धेरै फ्यान उत्साहित हुनुहुन्छ । अनि मेरो कामको प्रशंसा गर्नुहुन्छ । यसरी प्रोग्राममै जाने सिलसिलामा कतिपयले सपिङ गरिदिनुहुन्छ । जसमा कोहीले मोबाइल, ट्याब, ल्यापटप दिनुुहुन्छ । त्यस्तै, कपडा पनि किनिदिनुहुन्छ ।

फुटेको मोबाइल बनाइदिने हङकङकी युवती
केही वर्ष पहिला म हङकङको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ एकजना युवती मेरो फ्यान हुनुहुँदो रहेछ । मैले उहाँलाई भेटेँ । त्यसवेला मेरो विन्डोज एट मोबाइल थियो । जुन फुटेको थियो । त्यसको स्क्रिन नेपालमा पाइएन । अनि म हङकङ गएको समयमा त्यहाँ पाउँछ कि भनेर सोधेको बनाउन १५ हजार पर्दोरहेछ । उहाँले बनाइदिनुभयो । तर,
पैसा लिनुभएन ।

‘आई लभ यू’ भन्ने धेरै छन्
म कलाकारिता क्षेत्रमा चिनिँदा सामाजिक सञ्जालले व्यापकता पाइसकेको थियो । जसले गर्दा अघिल्लो पुस्ताहरूको जस्तो रगतले लेखेका चिठीहरू मलाई आएनन् । फ्यानहरूले फेसबुकमार्फत धेरै म्यासेज पठाउनुहुन्छ । जसमध्ये पनि युवतीले त मरिहत्ते नै गर्नुहुन्छ । मलाई फेसबुकमा आई लभ यू भन्ने युवती धेरै हुनुहुन्छ । कतिपय युवतीले त भेट्न मन लागेको छ भनेर भेट्नका लागि आग्रह पनि गर्नुहुन्छ । तर, म त्यस्तो कुराको वास्ता गर्दिनँ ।

युवतीले किस खाएर फोटो खिच्छु भनेपछि…
केही समयअघि मोरङ, पथरीको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ पनि मैले थुप्रै फ्यानलाई भेट्ने मौका पाएँ । जसमध्ये एउटी युवतीले मलाई च्याप्प अँगालो हालेर छाड्दै छाड्नुभएन । ‘किस खाएर फोटो खिच्छु’ भन्न थाल्नुभयो । मलाईचाहिँ अलि अप्ठ्यारो महसुस भयो ।

आमाले बिहे गर्न चाहेको छोरीले भनिन्
पूर्वमा एकजना महिला हुनुहुन्छ । उहाँलाई म असाध्यै मन पर्दोरहेछु । उहाँको छोराछोरी पनि भइसकेका छन् । उहाँको छोरी पनि मेरो फ्यान हुनुहुँदोरहेछ । म पूर्वतिर कार्यक्रममा जाँदा उहाँको छोरीले मलाई भेटेर ‘ममीले त तपाईंलाई पाए विवाह गर्छु भन्नुहुन्छ’ भन्नुभयो । म त यस्ता पनि फ्यान हुँदा रहेछन् भनेर छक्कै परेँ ।

जहाँ गएँ त्यहाँ एउटा ‘माग्ने बुढा’ भेटेँ
म देश–विदेशका विभिन्न ठाउँका कार्यक्रममा गइरहेको हुन्छु । त्यहाँ मैले विभिन्न प्रकृतिका फ्यानहरूलाई भेट्ने मौका पनि पाउँछु । अभिनय गरेको पात्र ‘माग्ने बुढा’लाई आमदर्शकले मन पराइदिनुभएको छ । त्यसैले म जुन ठाउँमा गएँ, त्यहाँ एउटा ‘माग्ने बुढा’ पाउने गरेको छु । उहाँहरूले चाहिँ मेरो नक्कल गरेर गाउँतिरको कार्यक्रममा प्रस्तुति देखाउनुहुँदो रहेछ । केही समयअघि अछाम गएको थिएँ । त्यहाँ पनि मैले एउटा ‘माग्ने बुढा’लाई भेटेको थिएँ । यस्तो देख्दाचाहिँ साह्रै गर्व महसुस हुन्छ ।

नेपालगन्जमा श्रीमतीलाई घचेटेर एक युवतीले अँगालो हालिन्
हालसम्म म श्रीमतीसँग २० वटाजति जिल्ला घुमिसकेँ । यो अवधिमा कहिलेकाहीँ फ्यानहरूले धेरै अप्ठ्यारो पनि पार्नुभएको छ । कतिपय फ्यानहरूले मेरो श्रीमती भनेर चिन्नुहुन्न । जसले गर्दा कहिले त श्रीमतीलाई नै घचेटेर अँगालो हाल्न आउँछन् । केही समयअघि म श्रीमतीसँगै नेपालगन्जको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ एउटी युवतीले श्रीमतीलाई घचेटेर ‘उता जानुस्’ भनिन् अनि मलाई अँगालो हालेर फोटो खिच्न थालिन् । उनले मेरो श्रीमतीलाई घचेटेर मसँग अँगालो हालेर फोटो खिच्न आएको देख्दा मलाईचाहिँ श्रीमतीले केही सोचिन् कि भन्ने निकै डर लाग्यो । तर, उनले मलाई बुझेकी छिन् ।

पथरीका केटाहरूले गालामा दाह्री दल्दा रातो भयो
म केहीसमयअघि पथरीको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँचाहिँ धेरै केटा मेरा फ्यान रहेछन् । उनीहरूले म आएको थाहा पाएपछि भेट्न आएर मेरो गालामा दाह्री दल्न थाले । उनीहरूको ठोसा दाह्रीले मेरो गालै रातो भएको थियो ।

पैसा दिनुपर्छ भनेर गाईघाटका फ्यानले नाराबाजी गरे
गाईघाटको रामपुर भन्ने ठाउँमा आजभन्दा ६ वर्षअघि एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ हामीलाई पारिश्रमिक दिनेबारे लफडा पर्याे। त्यो मिलाउनका लागि हामी पनि बस्नुपर्ने भयो । तर, बाहिरचाहिँ मेरा फ्यानहरू आएर कलाकारलाई पारिश्रमिक दिनैपर्छ भनेर नाराबाजी गर्न थाले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु