खेलाडीका 'साइड व्यवसाय' : कसको के मा लगानी ? - Naya Patrika
eNaya Patrika
  • ePaper

खेलाडीका ‘साइड व्यवसाय’ : कसको के मा लगानी ?

पछिल्लो समय खेलाडीहरू खेल करिअरसँगै विभिन्न पेसा व्यवसायमा पनि आबद्ध भइरहेका छन् । अधिकांश खेलाडीको ‘साइड व्यवसाय’मा पनि लगानी छ । कतिपयले परिवारका सदस्यका नाममा सानोतिनो व्यवसाय सुरु गरेका छन् भने कतिले ठूलै लगानी गरेर काम गरिरहेका छन् । अधिकांशले खेलपछिको जीवनलाई व्यापार–व्यवसायमा लगाएका छन् ।

व्यावसायिक खेल खेलिरहेका खेलाडीले समेत वैकल्पिक पेसाका रूपमा पछिल्लो समय काठमाडौं र मोफसलमा व्यावसायिक करिअर पनि सुरु गरेका छन् । राष्ट्रिय टिमका स्टार खेलाडीसमेत रहिसकेका र ‘ए’ डिभिजन क्लबकै भरपर्दा खेलाडीले फुटबलसँगै व्यवसायलाई डोर्याएका छन् ।

भविष्यका लागि दोस्रो अप्सन

नेपालको खेलकुद चलायमान नहुँदा खेलाडीले भविष्य सुनिश्चित गर्ने प्रयासस्वरूप व्यापारतिर ध्यान दिएको देखिन्छ । नेपालमै केही गरौँ भन्ने भावना राखेका खेलाडी यतै छन् । तर, नेपालको खेलकुदसँग दिक्क र धैर्य राख्न नसकेका खेलाडी भने विदेश पनि भासिएका छन् ।

नेपाललाई कर्मथलो बनाएका खेलाडीले आफू र परिवारको भविष्य सबल बनाउन व्यापार–व्यवसायमा पनि हात हालेका छन् । कोहीले डेढ लाखदेखि व्यापार सुरु गरेका छन् भने केहीले कराेडाैं लगानी गरेका छन् ।

क्रिकेटर शक्ति र ज्ञानेन्द्रले क्रिकेट एकेडेमी सञ्चालन गर्न करोडभन्दा माथि खर्चिए । नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र खेलकुदले मात्र जीवन धान्न नसक्ने भएका कारण एकेडेमी सञ्चालन गरेको बताउँछन् । ‘खेलकुदमै लागेर मात्र केही हुँदैन, आफू र परिवारको भविष्य पनि हेर्नैप¥यो, यसकारण खेलसँगै एकेडेमी सञ्चालन गरेको हुँ,’ ज्ञानेन्द्रको तर्क छ ।

नेपाली खेलकुदकै स्टार खेलाडी दीपक विष्टले सक्रिय खेलजीवनमा धेरै मानसम्मान पाए । सन्न्यासपछि शून्य जीवन रहने भएकाले त्यसलाई सदुपयोग गर्न खेलाडीले व्यापार–व्यवसायलाई दोस्रो वैकल्पिक क्षेत्र बनाउने गरेको बताए । ‘जीवन नै देशका लागि खेलेर बिताएपछि सन्न्यास लिँदा जीवन शून्यझँै हुन्छ, यसैकारण खेलाडी वैकल्पिक बाटोका रूपमा व्यवसायमा लागेका हुन,’ दीपकले भने ।

पूर्वका स्टार फुटबलर कर्ण लिम्बूले खेलकुद पूर्ण रूपमा व्यावसायिक नहुँदा खेलाडीले अन्य पेसामा जोड दिनुपरेको बताए । ‘नेपालको खेलकुद अहिलेसम्म प्रोफेसनल हुन सकेको छैन,’ उनले भने, ‘हामी खेलाडीहरूले खेलेर मात्र परिवार पाल्न सक्दैनौँ, त्यसकारण मजस्ता धेरैले व्यापार–व्यवसाय अंगाल्नुपरेको हो ।’

फुटबलकै योगेश गुरुङ खेलपछिको भविष्य सफल बनाउन व्यवसायमा हात हालेको बताउँछन् । ‘अहिलेको अवस्थामा हामीले खेलेरै बाँच्न सक्ने अवस्था छैन,’ योगेशले भने, ‘खेलकुदबाट सन्न्यास लिएपछि के गर्ने भन्ने पनि प्रश्न आउँछ ।’ यता टेबलटेनिसकी स्टार खेलाडी स्वेच्छा नेम्वाङले जीविकोपार्जन राम्रो बनाउन व्यापारमा लागेको बताइन् । ‘खेलले मात्र जीवन सफल नहुने देखे, त्यसैले जीविकोपार्जन गर्न व्यापारमा हात हालेकी हुँ,’ उनले भनिन् ।

व्यवसायमा फुटबलर
उपेन्द्रमान सिंहको हार्डवेयर
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान र गोलरक्षक उपेन्द्रमान सिंहले दुई क्षेत्रमा लगानी गरिरहेका छन् । मध्यपुर युथ एकेडेमी र हार्डवेयर पसलमा उपेन्द्रले व्यवसाय गरिरहेका छन । निर्माण सामग्रीको पसल उनले धेरै अगाडि नै खोलेका थिए । उनले यो पसल सञ्चालन गर्दा उनी राष्ट्रिय टोलीका प्रमुख खेलाडी नै थिए । घरपरिवारकै सहयोगमा हार्डवेयर खोलेको उनी बताउँछन् । परिवारका सदस्यले कमाएको रूपैयाँ नै हार्डवेयरमा लगानी गरेको उनको भनाइ छ ।

हरि खड्काको फुटसल
नेपाली फुटबलमा नीराजन रायमाझी र हरि खड्काको नाममा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल छ । कीर्तिमानी गोल गर्ने हरिले प्रशिक्षणसँगै व्यवसायमा पनि हात हालेका छन् । उनले सामाखुसीमा सामाखुसी फुटसल सेन्टरमा लगानी गरेका छन् । पाँचजनाको लगानीमा सामाखुसी फुटसल एक करोड २० लाखमा सञ्चालनमा आएको हो । युवा खेलाडीलाई लक्षित गर्दै फुटसल सेन्टर खोलेको हरिको भनाइ छ ।

कर्ण लिम्बूको स्पोर्टस् पसल
घरेलु लिग तथा फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाउन नसक्ने स्ट्राइकर हुन्– कर्ण लिम्बू । उनी झापा ११ का मुख्य खेलाडीसमेत हुन् । खेलमैदानसँगै लिम्बूले दैनिक जीवन उकास्न जन्मथलो चन्द्रगढीमा खेलकुदकै सामग्रीको व्यापार गरिरहेका छन् ।

लिम्बूले ०६८ मा फुटबलकै भाषामा दोस्रो हाफ भनेझँै व्यवसाय क्षेत्रमा पाइला सारेका थिए । सुरुमा १ लाख ५० हजार रूपैयाँ लगानी गर्दै व्यवसाय सुरु गरेको उनी बताउँछन् । ‘सुरुमा मैले व्यापार सुरु गर्दा करिब डेढ लाख मात्र थियो,’ लिम्बूले गज्जब साप्ताहिकसँग भने ।

यो आधा दशकमा कर्णको लगानी बढिसकेको छ । अहिले उनले स्पोर्टस् पसललाई आठदेखि १० लाखको हाराहारीमा पु¥याएका छन् । ‘अब मेरो पसलमा लगभग १० लाखजतिको सामान छ होला,’ उनले भने । पसलमा चाहिने सबै खेलकुदका सामग्री उनी काठमाडौंबाट लाने गर्छन् । कर्णले भने, ‘हामीले व्यावसायिकभन्दा पनि स्थानीयस्तरमा फुटबललाई प्रेरित गर्ने उद्देश्यका साथ सुरुवात गरेको पसल भए पनि अहिले व्यावसायिक नै भयो, मैले पूरै समय दिन नसके पनि राम्रो फाइदामा सञ्चालन भइरहेकाले सन्तुष्ट छु ।’

लिम्बूको पसलमा नाम चलेका ब्रान्डका खेलकुद सामग्री छैनन् । तर, सबै ब्रान्डसँगै चलेका सामानहरू लगेर बिक्री गर्दै स्थानीय खेलप्रेमीलाई लाभाम्भित गराएका छन् । लिम्बूले फुटबलमैदानमै बढी समय दिनुपर्ने भएकाले पसल उनकी श्रीमतीले हेर्छिन् । ‘पसलमा बस्न पर्याप्त समय छैन, यसैले पसलको सबै रेखदेख श्रीमतीले गर्छिन्, मैले पसलमा पर्याप्त समय दिन सके अझ योभन्दा राम्रो बिजनेस हुने थियो होला,’ उनले भने ।

भक्तपुरमा असिमको हार्डवेयर पसल
नेपाली फुटबलका अर्का नाम चलेका खेलाडी हुन्– असिमजंग कार्की । छोटो समयमै ख्याति कमाएका असिमले भक्तपुरको सूर्यविनायक चोकमै हार्डवेयर पसल खोलेका छन् । लगभग दुई वर्षदेखि असिमको ‘ए एन्ड जे बिल्डिङ मेटेरियल्स टे«डर्स’ नामको हार्डवेयर पसल चलिरहेको छ । उनले सुरुवातमा पसल खोल्न २५ लाख रुपैयाँ लगानी गरेका थिए । असिमले हार्डवेयर व्यापारलाई वैकल्पिक बाटोका रूपमा लिएका छन् । ‘मेरो पहिलो कर्म नै फुटबल हो, पसललाई दोस्रो विकल्पका रूपमा लिएको छु,’ उनले भने ।

योगेश गुरुङको साझेदारीमा व्यापार
घरेलु फुटबलका झापाका नगेन लिम्बू र योगेश गुरुङ चर्चित नाम हुन् । दुवै अति मिल्ने साथी पनि । यसकारण योगेश र नगेनले संयुक्त लगानीमा बिर्तामोडमा स्पोर्टस्कै सामग्रीको व्यवसाय सुरु गरेका छन् । राष्ट्रिय लिग नहुनु र तीन महिना मात्र गोडल्कप प्रतियोगिता हुने भएकाले दुवैले आफ्नो अधिकांश समय व्यवसायमा नै फोकस गरेका छन् ।

नगेन र योगेशलाई अर्का फुटबलर भूपेन लिम्बूले पनि साथ दिएका छन् । अहिले ‘स्पोर्टस् आइटम’को व्यापारमा तीनजनाको लगानी देखिन्छ । हनुमान सेन्टरको पहिलो तलामा नेभर इन्डिङ वेयरएवल सप्लाई ‘न्युज’ नाम दिएर व्यवसायलाई सञ्चालनमा ल्याएको योगेशले जानकारी दिए । तीनैजनाको सोच फुटबललाई पहिलो प्राथमिकतामा राख्ने हो । तर, फुटबलबाट बचेको समय व्यवसायमा लगाउँदा दुवै क्षेत्रमा सहयोग हुने मत उनीहरूको छ ।

खेलाडीले खेलेरै बाँच्ने अवस्था सिर्जना हुँदै गए पनि सबैको अवस्था त्यस्तो नभएको तर्क गर्छन् उनीहरू । त्यही भएर आफूहरूले वैकल्पिक बाटोका रूपमा व्यवसायमा हात हालेको नगेनले बताए । उनीहरूले पसल सुरु गर्न ४५ लाख रूपैयाँ लगानी गरेका छन् । ‘रिटायर्ड लाइफ के गर्ने भन्ने थियो, आपूmले जानेको, यहाँको आवश्यकता र नयाँ आइटम गर्न स्पोर्टस् हाउस सञ्चालनमा ल्याएका हौँ,’ योगेशले भने । यस पसलमा ब्रान्डअनुसारकै सामग्री बिक्री गर्ने भएकाले पनि बढी लगानी गर्नुपरेको उनले बताए ।

अहिले उनीहरूको पसलमा एडिडास र नाइक ब्रान्डको सामग्री रहेका छन् । उनीहरूले पसललाई डायनामिक बनाउन पनि अझै विस्तार गर्दै लगिने र सबै खेलकुदका सामग्री पाउने पसलका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

बालगोपाल महर्जनको सुन्धारामा होटेल
नब्बेको दशकमा नेपाली राष्ट्रिय टोलीकै स्टार मिडफिल्डर बालगोपाल महर्जनले पनि काठमाडौंको मुटु मानिने सुन्धारामा होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । दुई वर्षअघि बंगलादेशको ए डिभिजन क्लब ब्रदर्स युनियनका प्रशिक्षकमा नियुक्तिको सम्बन्धमा उनले आफ्नै घरमा खोलेको रेस्टुरेन्टमै पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । नेपाली खेलकुद जगत्मा बालगोपालजस्ता खेलाडीले भविष्य राम्रो बनाउन कुनै न कुनै व्यवसायमा हात राखेका पाइन्छन् ।

अनिल गुरुङले रेस्टुरेन्ट चलाएर छाडे
दुई वर्षयता राष्ट्रिय टोलीमा आउने र जाने भएपछि अन्ततः अनिल गुरुङले यसै वर्ष सन्न्यास घोषणा गरे । एएफसी कप छनोट खेलमै अनिलले सन्न्यास लिए । सन्न्यासपछि उनको दिनचर्या रेस्टुरेन्टमा बित्ने उनलाई नजिकबाट चिन्नेहरूको अनुमान थियो । तर, त्यसो भएन । तीनजना साथीहरूको लगानीमा अनिलले पोखरा लेकसाइडमा ‘नमस्ते एयरनान्डेज रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका थिए । जसमा दुई करोड ५० लाख लगानी भएको थियो । रेस्टुरेन्टमा दुई दर्जनले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तर, अनिलले भने रेस्टुरेन्टबाट हात झिकेको उनका पूर्वसहकर्मी रेस्टुरेन्ट सञ्चालकहरू बताउँछन् ।

अन्य खेलाडीको केमा लगानी ?
करातेका पर्शुरामको रंगशालामै स्पोर्टस् लिंक
करातेको कातामा नाम चलेका खेलाडी हुन्– पर्शुराम बास्तोला । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते विधाअन्तर्गत कातामा पदक जितेका पर्शुरामको दशरथ रंगशालाको मुखैमा स्पोर्टस् लिंक नामको पसल छ । एक दशकअघि उनले २५ लाख रुपैयाँ लगानी गरी यो पसल खोलेका थिए । करातेको रिङमै व्यस्त भएकाले उनले पसलमा त्यति समय दिन सकेका छैनन् । खेलले मात्र जीवन बिताउन नसक्ने भएकाले अर्को क्षेत्रमा हात राखेको उनले बताए । ‘खेलेर मात्र जीवन बाँच्न सकिन्न, यसैकारण व्यवसायमा हात हालेको हुँ,’ उनले भने, ‘पसलमा खेलकुकै सामग्री पाइन्छ ।’

ओलम्पियन दीपक विष्टको व्यवसाय ब्रान्डेड बन्दै
खेल करिअरको अन्त्यसँगै प्रशिक्षक बनेका दीपक विष्टले पछिल्लो समयमा सफल बिजनेसम्यानको छवि बनाइरहेका छन् । कीर्तिमानी तेक्वान्दो खेलाडी विष्टले सामान्य अवस्थाबाट सुरु गरेको व्यवसाय बिस्तारै ब्रान्डका रूपमा स्थापित भइरहेको छ ।

६ वर्षअघि दीपकले नयाँ बानेश्वरमा स्पोर्टस् युनिभर्स नाम दिँदै व्यापार सुरु गरेका थिए । आधा दशकपछि दीपकको स्पोर्टस् युनिभर्समा विश्वप्रसिद्ध ब्यान्डका खेल सामग्री पाउन सकिन्छ । साथीहरूसँगको सहकार्यमा सुरु गरेको स्पोर्टस्का विभिन्न ब्रान्डको व्यवसाय बिस्तारै राम्रो लयमा जान थालेपछि विष्टको व्यावसायिक सफलतासमेत सुरु भएको छ ।

खेलकुदबाट सन्न्यास लिएकै वर्ष व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘व्यापारी बन्नु रहर नभई बाध्यता हो,’ उनी भन्छन् । त्यसो त उनले खेलसँग सम्बन्धित व्यवसाय नै गरेकाले यसलाई पनि खेल क्षेत्रमा उपयोग गरेको बताए ।

दीपकको व्यवसाय चल्नुको एउटा कारण स्वयं दीपक नै हुन् । नेपाली खेल क्षेत्रमा सर्वाधिक सफल खेलाडीका रूपमा चिनिएका उनलाई हेर्न पनि मानिस पसलसम्म पुग्ने गर्छन् । ‘मलाई चिन्नेहरू आउनुहुन्छ, मेरो पसलमा मन परेको चिज किन्नुहुन्छ, अनि फोटो खिचाउनुहुन्छ,’ पसलमा आउने ग्राहकबारे सुनाउँदै दीपकले भने, ‘व्यापारीको हिसाबले मैले उहाँहरूलाई सेवा दिइरहेको छु भने मैले उहाँहरूको माया पाइरहेको छु ।’

ग्राहकसँग राम्रो सम्बन्ध राख्दा दीर्घकालीन रूपमै स्थापित हँुदा भविष्यमा राम्रो हुने उनको विश्लेषण रह्यो । उनले सबै कुरामा अनुशासन लागू भएजस्तै व्यापारमा पनि घाटा–नाफा गर्ने भनेको अनुशासनमा भर पर्ने बताए । खेलाडीले आफ्नो सारा जीवन देशका लागि खेलेर नै बिताउने र रिटायर्ड हुँदा शून्य अवस्था आउने गरेको तीतो यथार्थ आफूहरूसँग भएको दीपकले बताए । उनले अब समयक्रमअनुसार सबै बेथितिहरूलाई चिर्दै खेलाडीले पलायन अथवा अरू विकल्पका विषयमा सोच्नुपर्ने दिन आउन दिन नहुने बताए ।

दीपकले दक्षिण एसियाली सार्क राष्ट्रबीचको तेक्वान्दो प्रतिस्पर्धामा चारपटक लगातार स्वर्ण पदक जितेर इतिहास बनाएका छन् । उनले सन् १९९९ देखि २०१० सम्म सागमा स्वर्ण पदक हात पार्दै नेपालकै वैकुण्ठ मानन्धरको नाममा रहेको तीन स्वर्ण पदकको कीर्तिमान तोडेका थिए । दीपकले २००२ को बुसान र २००६ को दोहा एसियाडमा ब्याक टु ब्याक नेपाललाई कास्य दिलाएका थिए । नेपाली तेक्वान्दो प्रतिस्पर्धामा कहिल्यै पराजित नभएका दीपकले ०७१ देखि औपचारिक रूपमा खेलजीवनबाट सन्न्यास लिएका थिए ।

टेबलटेनिसकी स्वेच्छाको ज्वेलरी
टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले एक औपचारिक कार्यक्रम गर्दै आफ्नो व्यवसाय सञ्चालनमा ल्याएकी छिन् । स्वेच्छाले केही समयअघि मात्र ‘शौभाग्य ज्वेलर्स’ प्रालिको नामबाट पसल सञ्चालनमा ल्याएकी हुन् । पुरानो बानेश्वरमा उनले विधिवत् रूपमा ज्वेलर्स सञ्चालनमा ल्याउँदा ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन फुपुल्हामु खत्री र नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठद्वारा संयुक्त रूपमा आफ्नो ज्वेलरी पसल उद्घाटन गराएकी थिइन् ।

स्वेच्छाले सुन पसल खोल्दा त्यहाँ उपस्थित पत्रकारलाई भनेकी थिइन्, ‘खेलाडीजीवनले मात्रै जीविकोपार्जन नहुने भएकाले यस क्षेत्रमा हात हालेकी हुँ ।’ भन्छिन्, ‘म खेललाई छाड्न सक्दिनँ, तर जीविकोपार्जनका लागि खेलेर मात्रै पुग्दैन । त्यसैले व्यापार–व्यवसायमा हात हालेकी हुँ । समय मिलाएर खेल र व्यवसायलाई अघि लैजानेछु ।’

नेम्वाङले केही समयअघि जर्मनीमा सम्पन्न विश्व टेबलटेनिस च्याम्पियनसिप २०१७ मा सहभागिता जनाएकी थिइन् । ज्वेलर्समा स्वदेशी तथा विदेशी गुणस्तरीय गरगहना सहज रूपमा उपलब्ध हुने, सुनचाँदी, हीरा, मोती र पत्थरलगायतका गरगहना अर्डरबमोजिम बनाइने र रेडिमेड स्वदेशी तथा विदेशी गहना पनि उपलब्ध रहेको उनले बताइन् ।

पोखराको बगरमा करणको एकेडेमी
आइसिसी विश्व डिभिजन–२ मा क्यानडामाथि सनसनी ४१ रन बटुली नेपाललाई विश्वकप छनोटमा पु¥याएका बलर करण केसीको पोखराको बगरमा क्रिकेट एकेडेमी सञ्चालनमा छ । पछिल्लो समय राष्ट्रिय टोलीमै व्यस्त भएकाले उनले एकेडेमीलाई पर्याप्त समय दिन सकिरहेका छैनन् । यसकारण यो एकेडेमी सोचेजस्तो चल्न नसकेको उनको भनाइ छ । ‘यहाँ मैले त्यति राम्रो समय दिन पाइरहेको छैन, यसकारण आशा गरेअनुसार एकेडेमी चल्न सकेको छैन,’ जिम्बावे प्रस्थानअघि करणले भने । उनले सरकारी अनुमतिको प्रक्रिया पनि चलिरहेकाले बिस्तारै एकेडेमीले नयाँ रूप लिने विश्वास व्यक्त गरे ।

पृथु बास्कोटाको नाइट क्लबमा
कुनै वेला नेपाली यू–१९ का चर्चित कप्तानका रूपमा रहेका पृथु बास्कोटाको नाम एकाएक विवादमा आयो । अक्सर पृथुलाई अभागी क्रिकेटर भन्ने गरिन्छ । नेपालले सफलता चुमिरहँदा पृथु कहिल्यै पनि सारथि बन्न सकेनन् । चोटका कारण उनी लामो समय राष्ट्रिय टोलीमा पर्न सकेनन् । राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन मिडियामा आइरहँदा एक सफल क्रिकेटर पृथु गुमनाम नै बने । तर, काठमाडौंमै भएको एभरेस्ट प्रिमियर लिग सुरु हुन एक साताअघि पृथुको नाम सञ्चारमाध्यममा एकाएक चुलियो । त्यो उनको उत्कृष्ट प्रदर्शनका कारण नभएर उनको लगानी भएको दरबारमार्गस्थित नाइट क्लबका कारण थियो । अमेरिकी डिजेलाई ल्याउन भनी पृथु र उनका साथीहरूले लाखौँ रूपैयाँ टिकटका रूपमा लिएका थिए । तर, अन्तिम समयमा ती अमेरिकन डिजे नाइट क्लबमा उपस्थित नभएपछि हुलदंगा नै भयो । दरबारमार्ग प्रहरी कार्यालयले नाइट क्लबका सञ्चालकलाई ठगी आरोपमा हिरासतमा लियो । हिरासतमा रहने व्यक्तिमध्ये पृथु पनि एक थिए । यसै घटनाबाट पृथुले साइड बिजनेसका रूपमा नाइट क्लब सञ्चालनमा गरिरहेको आमसमर्थकले थाहा पाए ।

क्रिकेटरको दोस्रो इनिङ क्रिकेटमै लगानी
यतिवेला राष्ट्रिय पुरुष क्रिकेट टोली एकदिवसीय विश्वकप छनोट खेलका लागि जिम्बावेमा छ । आइसिसी विश्व डिभिजन–२ मा उपविजेता हुँदै नेपालले एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर पाएको हो । घरेलु क्रिकेट विवादित बन्दा क्रिकेटर मैदानमा त्यति चलायमान हुन सकिरहेका छैनन् । तर, उनीहरू चन्द्र र सूर्य झन्डाका लागि अन्तर्राष्ट्रिय मैदानमा नेपालको नाम उच्च पार्न मिहिनेत गरिरहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै नाम कमाएका धेरैजसो नेपालका क्रिकेटर बिजनेसम्यान छन् भन्दा त्यति फरक नपर्ला । लामो समय क्रिकेटमा योगदान दिएका प्रसिद्ध क्रिकेटरले यसै क्षेत्रमा लगानी गरी दोस्रो इनिङ सुरु गरेका छन् । नेपालले आइसिसी डिभिजन–५ को यात्रा थालेपछि मात्र क्रिकेटरले खेलेर कमाउन थालेका हुन् । क्रिकेटमा नै करिअर बनाउने र बनाउन चाहनेका लागि भन्दै आफूले कमाएको केही हिस्सा लगानी गर्ने क्रम सुरु भएको हो ।
राष्ट्रिय टिमबाट व्यावसायिक क्रिकेट खेलेका तीन क्रिकेटरले क्रिकेट एकेडेमी खोली खेलसँगै व्यवसाय सुरु गरेका छन् । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र करण केसीले क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् ।

भैरहवामा शक्तिको अढाई करोडको एकेडेमी
वर्तमान राष्ट्रिय टोलीकै सिनियर खेलाडीका रूपमा शक्ति गौचन छन् । सन् २००१ मा यू–१९ टोलीदेखि डिभिजन–२ को उपविजेता हुँदासम्म शक्तिले त्यत्तिकै जोसमा नेपाली राष्ट्रिय टोलीलाई योगदान दिइरहेका छन् । भैरहवामा क्रिकेटको राम्रो आकर्षण रहेको भेट्रान शक्तिको अनुभव छ । यसैकारण उनले भैरहवामै स्टार क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएका छन् । स्थानीयका अनुसार यो एकेडेमी लगभग २ करोड ५० लाख लगानीमा निर्माण भएको हो । जसमा शक्तिको ७५ प्रतिशत लगानी रहेको स्रोतको भनाइ छ । स्टार क्रिकेट एकेडेमी सञ्चालनमा आएपछि भैरहवामा ट्रेनिङ अभावकै कारण प्रतिभाहरू पलायन हुनुपर्ने अवस्थाको केही हदसम्म अन्त्य भएको गौचनको बुझाइ छ ।

शक्तिले खोलेको एकेडेमीमा इन्डोर र आउटडोर क्रिकेट अभ्यास मैदान छन् । यहाँ १२ महिना नै प्रशिक्षण लिन सक्ने शक्तिले बताए । अन्तर्राष्ट्रिय स्तरकै रूपमा स्थापित गर्न उनले जिम हलको पनि व्यवस्था गरेका छन् । यस एकेडेमीमा एकैपटक ७० जना खेलाडीले प्रशिक्षण लिन सक्छन् ।

ज्ञानेन्द्रकाे केसिटीसी एकेडेमी
ज्ञानेन्द्र मल्लले सानेपामा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) एकेडेमी सञ्चालन गरिरहेका छन् । उनले १० वर्षयता निरन्तर रूपमा केसिटिसी चलाइरहे पनि व्यावसायिक रूपमा भने पछिल्ला केही वर्षमा सफलता मिलेको उनको अनुभव छ ।

पछिल्लो समय क्रिकेटको सफलतासँगै एकेडेमीमा पनि निरन्तर अभ्यास गर्ने बच्चाहरूको संख्या बढेको ज्ञानेन्द्र बताउँछन् । भन्छन्, ‘पछिल्लो समय क्रिकेट क्रेज बढेसँगै एकेडेमीमा सिक्न चाहनेको संख्यामा पनि वृद्धि भएको छ जुन स्वाभाविक हो । तर, क्रिकेटमा पूर्ण खेलाडी बन्न निकै लामो अभ्यास जरुरी छ, त्यसका लागि लगाव र धैर्य जरुरी छ ।’

सुरुका दिनमा केही घाटाको व्यापार भए पनि क्रिकेटको क्रेजसँगै एकेडेमीको आम्दानी पनि बढेको उनको अनुभव छ । पछिल्ला केही वर्षयता एकेडेमीले ७ देखि ८ लाखसम्मको आम्दानी गरेको अनुमान ज्ञानेन्द्रको छ ।

ज्ञानेन्द्रले एकेडेमीका सुरुवाती ६ वर्ष निकै संघर्षपूर्ण रूपमा बिताएको बताए । भने, ‘कहिले बन्द हुने हो टुंगो थिएन, एउटा पवित्र उद्देश्यसहित स्थापना गरेकाले हामीले आफ्नै खल्तीबाट निरन्तर खर्च धान्दै गयौँ । तर, पछिल्लो समय निकै राम्रो रहेको छ ।’

नेपालमा आफू र अन्य क्रिकेटरजस्तै खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी सुरु गरेको उनले बताए । ‘हामीजस्तै खेलाडी उत्पादनमा सहयोगी हुने भनी लगानी गरेका हौँ,’ ज्ञानेन्द्रले भने, ‘क्रिकेटरले त्यत्रो लगानी गर्ने गरी कमाएका नै कहाँ छन् र ? पहिला आफ्नो जीवन चलाउन संघर्ष गर्नुपथ्र्यो, पछिल्लो समय केही सहज भएको छ, यति मात्रै हो ।’

सुरक्षित भविष्य र व्यवसाय
क्रिकेटरले अन्य क्षेत्रमा लगानी गर्न हुन्न भन्ने तर्क आफूलाई ठिक नलाग्ने ज्ञानेन्द्र बताउँछन् । भन्छन्, ‘यहाँ हरेक क्षेत्रका मान्छेको लगानी बढ्दै गएको छ । त्यसैले सकिन्छ र टाइम म्यानेज गरिन्छ भने क्रिकेटरले झनै राम्रो व्यवसाय गर्न सक्छ, तर व्यवसाय सेकेन्डरी कुरा हो । मुख्य कुरा भनेको क्रिकेट नै हो ।’ नेपालको खेलकुदमा त्यति भविष्य नभएकाले आफ्नो भविष्य सुरक्षित गर्न नै यस क्षेत्रमा पाइला टेकेको उनले बताए । ‘भविष्य सुरक्षित गर्न पनि लगानी गर्नुपर्ने अवस्था आएको छ, यसमा शंका गर्नुपर्ने केही कारण छैन । व्यवसाय र लगानी गरेर कसैलाई रोजगारी दिने क्षमता बनाउनु भनेको जोकसैका लागि पनि सानो उपलब्धि होइन,’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु