प्रेम गर्ने फुर्सद भएन : अर्जुननरसिंह केसी, कांग्रेस नेता - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रेम गर्ने फुर्सद भएन : अर्जुननरसिंह केसी, कांग्रेस नेता

अर्जुननरसिंह केसी कांग्रेसका नेता हुन् । विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका केसी कक्षा १० पढ्दै विद्यार्थी युनियनको अध्यक्ष भएका थिए । यसका साथै, विभिन्न विद्यार्थी आन्दोलनमा पनि सक्रिय सहभागिता जनाउँदै आए । विद्यार्थी आन्दोलनका क्रममा पटक–पटक जेल परेका केसीको विद्यार्थी जीवन विशेषगरी कलेजका दिनका बारेमा यहाँ चर्चा गरिएको छ ।

प्रारम्भिक शिक्षा घरबाटै सिकेँ
मैले प्रारम्भिक शिक्षा घरमै लिएँ । प्रारम्भिक तहको शिक्षा संस्कृतबाट सुरु भएको हो । त्यो वेलामा अहिलेकोजस्तो पर्याप्त मात्रामा विद्यालयहरू थिएनन् । जसले गर्दा मेरो हजुरबुवाले बुवाहरूलाई पनि पढाउने दृष्टिकोणले गोकर्णबाट शास्त्री पास गरेको केशवराज पौडेल पण्डित ल्याउनुभएको थियो । उहाँलाई मेरो हजुरबुवाले भाइसरह अंश पनि दिनुभएको थियो । जसले गर्दा मैले पनि उहाँबाटै शिक्षा लिएँ ।

एसएलसी पास हुँदा गाउँभरि चर्चा
गुरुसँग प्रारम्भिक शिक्षा लिएपछि म नुवाकोट सदरमुकाममा भैरवी भाषा पाठशालामा पढ्न गएँ । त्यहाँ कक्षागत पढाइभन्दा पनि पाठ पढ्ने भन्ने हुन्थ्यो । मैले एक वर्ष पढेँ । त्यसपछि म २०१५ सालमा काठमाडौंको शान्ति विद्या गृहमा आएर कक्षा ७ मा भर्ना भएँ । जुनवेला म ११ वर्षको थिएँ । मैले त्यही विद्यालयबाट २०१८ सालमा एसएलसी दिएँ । द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । त्यो वेलामा गाउँघरमा पढेलेखेका मानिस एकदमै कम हुन्थे । त्यसैले त्यो अवस्थामा मैले एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि गाउँभरि मेरोबारे चर्चा सुरु भयो । अनि म गाउँमा जाँदा त्यहाँँका मान्छेहरूले सम्मान गर्न थाले ।

कक्षा १० पढ्दै जेल परेँ
एसएलसी दिनुभन्दा पहिलादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय हुन थालिसकेको थिएँ । जसले गर्दा कक्षा ९ अध्ययन गर्दा शान्ति विद्या गृह विद्यार्थी युनियनको सचिव भएँ । त्यस्तै कक्षा १० मा पुग्दा युनियनको अध्यक्ष भएँ । यसरी विद्यार्थी राजनीतिमा होमिएपछि म बिस्तारै आन्दोलनतर्फ पनि सक्रिय बन्दै गएँ । त्यो वेला भर्खरै राजा महेन्द्रले कु गरेका थिए । त्यही कुको विरुद्धमा ०१८ वैशाख १ गते स्कुलमा पर्चा वितरण गर्दै थिएँ । त्यहीवेला मलाई प्रहरीले पक्राउ ग¥यो । अनि म जेल परेँ । त्यसपछि बुवा आएर मलाई निकालेर लैजानुभएको थियो ।

आइएस्सी पढ्दा ४५ दिन जेल परेँ, प्राक्टिकल छुट्यो
त्यसपछि म आइएसी अध्ययनका लागि अमृत साइन्स क्याम्पसमा भर्ना भएँ । त्यो वेलामा म नेपाल विद्यार्थी संघमा सक्रिय भइसकेको थिएँ । जेल परेपछि झनै सक्रिय भएर आएँ । यहीक्रममा म फेरि सरकारविरोधी आन्दोलनकै क्रममा साढे २ महिना जेल परेँ । जसले गर्दा मेरो साइन्स विषयको प्राक्टिकल छुट्यो । त्यसपछि म अहिलेको शंकरदेव क्याम्पस त्यो वेलाको नेसनल कलेजमा आएर आइएमा भर्ना भएँ ।

आइए पढ्दा युनियनको उपाध्यक्ष भएँ
नेसनल कलेजमा आइएमा भर्ना भएपछि त्यहाँ पनि राजनीतिमा सक्रिय हुन थालेँ । म त्यहाँ आइए पढ्दै गर्दा युनियनको उपाध्यक्ष भएँ । अनि मैले बिस्तारै आफ्नो अध्ययनलाई पनि अघि बढाउँदै गएँ । त्यहाँबाटै मैले स्नातक तह पनि उत्तीर्ण गरेँ ।

साथीहरूले झगडा गर्दा मिलाउँथेँ
कलेजमा अध्ययन गर्दा मण्डले, कम्युनिस्ट र कांग्रेसका विद्यार्थीबीच निरन्तर भिडन्त हुन्थ्यो । त्यस्ता कतिपय भिडन्तमा म पनि परेर सामान्य घाइते भएको छु । तर, मेरो भने झगडा गर्ने स्वभाव थिएन । त्यसैले साथीहरूले झगडा गर्दा मिलाउथेँ । आफैँ झगडा गरिनँ ।

परिवारको आर्मी बनाउने चाहना
मेरो जिजुबुवा आर्मीको कर्नेल हुनुहुन्थ्यो । ठूलोबुवा पनि लेफ्टिनेन्ट हुनुहुन्थ्यो । जसले गर्दा आर्मीको प्रभाव हाम्रो परिवारमा पनि थियो । जसले गर्दा मेरो बुवाले मलाई पनि एसएलसी पास हुनेबित्तिकै आर्मीको अफिसर बन्नुपर्छ भन्नुभएको थियो । तर, म एसएलसी दिनुभन्दा पहिलादेखि नै राजनीतिमा प्रवेश गरेको हुनाले मलाई आर्मीमा जागिर खान मन लागेन । मैले आर्मीमा जागिर खान नमान्दा बुवाआमाको ठूलो गुनासो हुन्थ्यो । मैले राजनीतिका बारेमा पनि बुझाउँथे । जसले गर्दा बुवाआमाले मेरो राजनीति यात्रामा सहयोग गर्नुभयो ।

कलेजमा कसैसँग प्रेम गर्ने फुर्सद भएन
म परिवारको जेठो सन्तानका रूपमा थिएँ । जसले गर्दा ममाथि थुपै्र जिम्मेवारी थियो । कतिपय साथीहरू कलेजबाट विभिन्न ठाउँहरू घुम्न जान्थे । एक–अर्कालाई मन पराएर पे्रमीप्रेमिकाका रूपमा रहन्थे । तर, मलाईचाहिँ परिवारको जिम्मेवारी र राजनीति संघर्षले गर्दा कसैसँग प्रेम गर्ने फुर्सदै भएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु