निबन्ध : नारायणी बगिरह्यो म छाडिएँ - Naya Patrika
eNaya Patrika
  • ePaper

निबन्ध : नारायणी बगिरह्यो म छाडिएँ

गोधूलिसँग दिनको वियोग मात्रै हुँदैन, मिलनको योगसमेत हुँदो रहेछ ! त्यस दिन त्यस्तै भयो । सूर्यको बूढा किरणले आँपघारीलाई अन्तिम चुम्बन गर्दासम्म पनि उनी आइपुगिनन् । सडकमा मयुर, म्याजिक र मोटरसाइकलको आवाज निष्प्राणप्रायः थिए, वास बस्न गन्तव्यकृत भइसकेका थिए, सायद ।


फेबु्रअरी १४ । प्रणयमार्गीहरूको शुभ दिन । प्रेम गर्नेहरूका लागि त्यसदिनको वैशिष्ट्य बेग्लै छ ।
कसैको पर्खाइमा समय व्यतीत गर्नु अत्यन्त कष्टसाध्य कुरा हो । पर्खाइका ती सबा घन्टा जीवनको कालकोठरी प्रतीत भयो । सेन्ट्री बसिरहेका हतियारधारी सिपाही । एकअर्कालाई उछिन्न हतार गरिरहेका पूर्व–पश्चिम रुटका लामा सवारी । रातलाई स्वागत गर्न भयातुर झ्याउँकिरीको संगीत । सन्नाटालाई प्रिय ठान्ने जोरखोलाको लय । भरदिनको प्रेमालापपछि गुँड फर्किइरहेका चरा–बचेरा । बाटामा पैताला नापिरहेका प्रणयशील युगल जोडी । उच्चाटयुक्त प्रतीक्षाका साक्षी थिए ।
‘सरी !’ ओठबाट मादकतापूर्ण फक्रिएको हाँसो उछिट्टियो र शून्य निःस्तेज भयो । मुस्कान यस्तो अभौतिक रसायन हो, यसले जस्तै कठोर चिजलाई पनि पलभरमै पगालिदिन्छ । तरल भएँ म ।
सर्वकालीन पिङ्क ज्याकेट । खैरो र बुट्टेदार स्कार्फ । खैरो टि–सर्ट । कालो जिन्स । कालै जुत्ता । लयबद्ध लवाइ थियो उनको ।
अर्ध–श्यामल वर्ण । गुलाफी ओठ । काँध छिचोलेर पिठ्युँतिर लहराएका कपाल । काँक्राको चिरोजस्तो नाक र त्यसमाथि आयाताकार फुली । अर्धचन्द्राकृत तिलस्मी आँखा । कप आकारको चिउँडो । कानमा स्वर्णपल्लव । उनको सौन्दर्यका उपमा थिए । ओसुमको पफ्र्युमभन्दा बढी प्रेम बसाएकी थिइन्, सीमा ।
जस्तै बेफुर्सदमा पनि आफूलाई स्फुर्त राख्ने र स–साना चिजमा छरिएको खुसी बुटुलेर जिन्दगीलाई आलोकित तुल्याउँछिन्, उनी । र, उनकै पाठशालाको प्राथमिक तहको विद्यार्थी थिएँ म ।
‘मेरो काम त्यस्तै छ, तिमी बुझ्छौ नि !’
अगाडि नै ‘बुझ्छौ’ भनेर समझदारको पगरी गुथाइसकेपछि रातोमुख पार्नु उनीप्रति बेइमानी हुन्थ्यो । रिस कण्ठमा दबाएर ओठमा हाँसो छर्नु बाध्यता बन्यो । फिस्स मुस्कुराएँ । लघुचलचित्रको कुनै दृश्यमा त्यसरी हाँसेको भए ‘फिलिङ्स पुगेन’ भन्दै ‘कट्’को सिकार हुँदो हुँ ।
‘ज्याकेटको बटम माथिसम्मै किन लाएको ?’ टाँकतिर हात लम्काइन् उनले । यस्तै बहाना खोज्दै सीमाले मेरो रिसमाथि नियन्त्रण राख्थिन् र रुमानीमा मायाको अन्तर्तलमा पु¥याउँथिन् । उनका यस्तै कृत्यले त हो मैले आफूभित्र माया गर्ने मुटु पनि छ भन्ने चाल पाएको । यस्तो लाग्छ, उनी मायाकी महाविद्यालय हुन् । मचाहिँ कखरा सिक्दै छु ।
‘अचेल त केटाहरू पनि ड्रेसमा कन्सस् हुन्छन् नि, तिम्रो त जीवनको लय सधैँ एकनास !’
‘अपरिवर्तनीय चिजहरूले सृष्टिको नियमितता बचाएका छन् । खोइ हावा बदलिएको ? खै पानीको आकार फेरिएको ? खोइ प्रकाशको रङमा बदलाव आएको ? यो रातमा किन सूर्य उदाउँदैन ? कृष्णपक्षको अन्धकार जूनले किन चिर्दैन ?’ यस्तै सोचेर मैले जिन्दगीको लयलाई कहिल्यै बदलिनँ ।
तर, मायाको सागर लिएर समीपमा आएकी सीमाले जिन्दगीको धार बदलिदिइन् । विशृंखलित तुल्याइदिइन् । मानौँ उनी सीमा होइनन्, सुदूर सरिता हुन् । जसको माया परेलीमा मात्र सीमित छैन, मनका तरेलीतरेलीसम्म फैलिएको छ ।
‘ज्याकेटको टाँक नलगाए तिम्रा हातहरू बेरोजगार हुन्छन् । आफूलाई यस्तै लापरबाह राखे तिम्रो मुखले बिजनेस पाइरहन्छ नि !’ मनबाट खँदिलो हाँसो झिकेँ मैले ।
‘यस्तो कूटनीतिक जवाफ दूतावासमा काम लाग्ला, आज प्रेम–दिवस लेखक, यसवेला त मायाको अतृप्त आभास चाहिन्छ । ऊ पर हेर त, ताराहरूले आँखा उघारिसके, गन्थन होइन, प्रेम–मन्थन गर्न तयार बन !’ वाक्य भुइँमा खसेकै थिएन, प्रकाश वेगमा ओठको प्याला पो उठाइन् ।
‘समयले कस्तो व्याधी ल्याएछ, रात नढल्कँदै ओठमा आँधी !’
‘हा..हा..हा…!’

Narayani _ photo : gajendra chalise

म अचम्मित भएको देखेर बेस्करी खित्खिताइन् उनी !
सपनाको यायावरी गर्नु । दुःख–पीडासँग साक्षात्कार गर्नु । कथा–आलेखलाई आकार दिनु । पत्रपत्रिकामा छापिएका फुटकर रचनामा आफ्नो फोटो हेरर आह्लादित हुँदै जीवन प्रह्लादित तुल्याउनु, कति रूढ बाँचेको रहेछु म । आफ्नै बाटो फर्किहेर्दा छातीमा असन्तोषको भुंग्रो खडा हुन्थ्यो ।
सीमाको सान्निध्यतापछि गीतसंगीत प्रिय बने । प्रेमाख्यान, उपाख्यानमा मन जान थाल्यो । प्रकृतिका हरचिजहरू आफूतिर आकर्षित भएझैँ प्रतीत हुन थालेको थियो । जीवनको यो कस्तो कायाकल्प ? सूर्य होइन, ऊर्जाको स्रोत त प्रेम पो रहेछ । घाम लागे पनि कहाँ आलोकित थियो र जीवन !
‘थ्यांक यु सीमा !’ मनमनै कृतार्थ भएँ ।
० ० ०
थाहा छैन, यी बूढा आँपका रूखहरूले कति हिउँद व्यतीत गरे । थाहा छैन, कति झरीबादल छिचोले । दिउँसोको अचाक्ली गर्मीले मुर्झाएका तिनका पातहरू साँझको हावाको स्पर्शसँगै ताजा भएका थिए । वेलाबखत चल्ने सिरेटो ती अकिञ्चन पातमा ठोक्किँदा गज्जबको धुन निस्कन्थ्यो, प्रेमिल । मानौँ न यही नादले तिनको जीवनको लय जीवित तुल्याएका छन् ।
‘एउटै स्पर्श जीवन बदल्न कति काफी हुन्छ है,’ उनको आवाजमा अचानक भावुकता मिसियो । नारायणीको सुदूर किनारतिर आँखा डोलाइन् ।
‘प्रिय लेखक तिमी जति भावुक छौै, उत्तिकै कठोर पनि र’छौ ! तिमीले निरीह देउतीमाथि एकचिम्टी पनि दया देखाएनौ हगि ! अन्तिममा यही नारायणी तटमा देउतीलाई अलपत्र छाडेर लेखक भइटोपल्यौ !’
सीमाको बानी यस्तै छ, उनी वाक्यैपिच्छे गाली गर्छिन् या प्रशंसाका फूल बर्साउँछिन् ? म केही भेऊ पाउँदिन । पाऊँ पनि कसरी । उसको आवाज वाक्यांश हुन् कि जीवन–दर्शन ? बुझ्नै सक्दिनथेँ ।
‘२०–२१ कै उमेरमा यत्रो जीवन–दर्शनको मूल कसरी रसायो होला ?’ अचम्मित हुन्थेँ म । सीमाका पछिल्ला अभिव्यक्तिले आँखा सजल भए । पानीजस्तै मनका अन्तरकुन्तर बग्न थालेँ म ।
‘तिमीलाई यो मायावी साँझ नारायणीको तटमा लैजान चाहन्छु ! ता कि तिमीले अरू अलपत्र देउतीहरूको पनि जिन्दगी देख्लाऊ । मनमा कालिगण्डकीको विरह सुसाउला । के थाहा अर्को देउती पनि जन्माइहाल्छौ कि !’
जंगल छिचोलेर देवघाटको झोलुंगे पुल तर्दा रात निख्खर कैलो भइसकेको थियो ।
‘ऊ तिम्री देउती !’
‘हामी स्यानामा जूनलाई देउतीमाता भन्थ्यौँ र थालमा पानी राखेर आँगनमै ओह्राल्थ्यौँ ! औँसीपक्ष नहुँदो हो त आज देउती देखिँदी हुन् । यही पानीमाथिको धूमिल प्रतिविम्ब हेरेर भए पनि चित्त बुझाऊ लेखक,’ उनले त्रिशूलीको पानीमा अर्धचन्द्र देखाइन् ।
‘प्रिय लेखक, तिमीले केही आवाज सुन्यौ ? यो चिसो स्याँठ बाँचेर पनि न्यानो बन्न नसकेका तिनै देउतीहरूका कठोर सुस्केरा हुन् ! बुझ्यौ तिमीले ?’
‘यो परित्यक्तहरूको आश्रयथलो हो । तिमी जान्दछ्यौ नि, हामीलाई झोलुंगे पुल तर्न कत्ति पनि हतार भएन । हतार भएन चार किलोमिटर जंगल छिचोल्न पनि । तर, ऊ पर हेर त, ती बूढी आमै, जसलाई यो पुलको यात्रा कति कष्टसाध्य छ । जीवनमा कोही हुनु र नहुनुबीचको फरक यत्ति हो ।’
‘उनलाई यो देवघाट कालकोठरी लाग्दो हो । जहाँ उनले मृत्यु कुर्दै पट्यारलाग्दो दिनहरू बिताइरहेकी छन् । प्रिय लेखक यो सितारासरका तारा र म मिसिएको रंगिन साँझ उपहार तँलाई !’
उनले बेस्सरी हात समाइन् र पुनः ओठको प्याला उठाइन् ।
मनभित्रको भावुकताको स्याँठले बिथोल्यो मलाई । अनायास आँखा चिसा भए । सीमाको न्यानो र गहिरो निःश्वासले त्रिशूलीको सिरेटो पन्छाउन सकेन । अहँ सकेन । शीतांग भएँ म ।
महँगा वस्तु आदन–प्रदान गर्ने, तन–मन साट्ने, मनको क्यानभासमा भावनाको रङ पोतेर जीवनका प्रतिविम्ब उतार्ने स्वप्नशील युवापुस्ताबीच हुर्किएकी आगाकी फिलिंगीले जीवनको आखिरीपाटोसँग साक्षात्कार गराउन देवघाट लैजालिन् भनेर कसरी सोच्नु, अवाक् भएँ म ।
० ० ०
डाँडापारि तारा साक्षी राखेर घन्टाको सहारासँगै ब्युँझियो देवघाट । र, सुरु भयो बुढ्यौली चर्या । बामे सर्दै मन्दिर जाउ । खुइया… काढ्दै वृद्धाश्रम धाउ । निस्ता चिउरा आँसुले निल । समयक्रमसँगै आफ्नाहरू मात्रै होइन, शरीर पनि पराइ होइजाँदोरहेछ । कति कठोर नियति ! कति निर्दयी भाग्य !
भोलिपल्ट बिहान डेढ घन्टा तिनै बुढ्यौली–जीवन पढेपछि सीमाको अनुहारमा बादल देखा परे ।
‘यौवनावस्थामा सहाराको जरुरत पर्दछ ठान्थेँ, सहारा त बुढ्यौलीमा पो चाहिँदो रहेछ !’ अन्धकारपूर्ण अनुहारको बादल पन्छाउँदै वाक्य भुइँमा खसालिन् उनले ।
‘मानिस सहराबीना कहिल्यै पूर्ण हुँदैन । चाहे बाल्यावस्थामा होस्, चाहे वृद्धावस्थामा, चाहे तरुणमा होस् या प्रौढमा । एकअर्काको वैशाखी नटेकी टाढाको यात्रा तय गर्नु मूर्खता सिवाय केही होइन ।’
मेरो कुराबाट तुष्ट भइन् सायद, टाउको हल्लाइन् उनले ।
खोलाको सिरोटो पन्छाउँदापन्छाउँदा सूर्य पनि थाक्यो सायद, बिहानको १० बज्दासम्म घामले पिठ्युँ पोलेन ।
गलेश्वर आश्रमबाट ओरालो झर्दै गर्दा हरेराम हरेकृष्णको एकोहोरो नाद गुञ्जियो र झोलुंगे पुलमा पाइला राख्दासम्म पनि आवाज कानमा ठोक्किन छाडेन ।
झोलुंगे पुलको बीचमा पुगेपछि सीमा आवाजमिश्रित भई, ‘सानामा कार्टुन हेर्न असाध्यै मन पराउथेँ । किशोर–यौवनमा त्यो बानी पुस्तक पढ्नमा बदलियो । बुढेसकाल हरि–कीर्तन गाउँदै बित्छ होला !’
एक्कासि त्रिशूलीमा उछाल आएझैँ भयो उसको अनुहार । निधारमा ठाडा, तेर्सा धर्सा तयार भए । कञ्चटका नसा फुले । मुहारको ताप शून्यमा झर्यो । एकै रातमा बूढी पो देखिई सीमा !
आँपघारी छिचोल्दासम्म म आँसुमिश्रित भइसकेको थिएँ । चौबाटो आइपुगेपछि उनका औँलाहरू छुट्टिन मानेनन् । ओठहरू अत्यास मान्न थाले । अनुहारले अनुहार ढाकेर धेरैबेर भक्कानिइरहिन् ।
‘भेटिनु नै छुट्टिनु हो भन्ने ख्यालै गरिनछु प्रिय लेखक ! जीवनका यिनै आकस्मिकता र नियमितता तिम्रा लेखन–सुधा र लेखकीय क्षुदा बनून्, प्रेमको अन्त्यहीन शुभकामना !’
दृश्यपटांगिनीबाट उनी ओझेल परेपछि त्यही थलोमा उभिएर मैले ट्विट लेखेँ– जीवनका केही पल मसानघाटजस्तो उच्चाटयुक्त हुन्छन्, जहाँ प्रिय मानिस छुट्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु