आर्थिक समृद्धिको ढोका कालीगण्डकी करिडोर - Naya Patrika
eNaya Patrika
  • ePaper

आर्थिक समृद्धिको ढोका कालीगण्डकी करिडोर

ट्र्याक खुलेका र यातायातसमेत सञ्चालन भएका सडक खण्डमा आर्थिक चहलपहल

कालीगण्डकी करिडोरले प्रदेश ४ र ५ को आर्थिक समृद्धिको ढोका खुलेको छ । करिडोरअन्तर्गत ट्र्याक खुलेका र यातायातसमेत सञ्चालन भएका खण्डमा आर्थिक चहलपहल सुरु भइसकेको छ । प्रदेश ४ र ५ का ६ वटा जिल्ला हुँदै करिडोरले चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने भएकाले समृद्धिको आधारका रूपमा लिइएको छ ।

कोरलादेखि सुनौलीसम्म करिब ४ सय ३५ किमि लामो करिडोरले दुई प्रदेशलाई मात्र होइन देशकै आर्थिक समृद्धिको ढोका खोल्ने अधिकारी बताउँछन् । करिडोरसँग जोडिएका स्थानीयले फाइदा लिन सुरु गरिसकेका छन् भने सम्पन्न भएपछि नेपाल, भारत र चीनले समेत फाइदा लिनेछन् । कोरलादेखि सुनौलीसम्मको कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको छ ।

करिडोरले नदी वारिपारिका जिल्लाहरूको कृषि, पर्यटन, विद्युत्, उद्योग र व्यवस्थित बसोवासका लागि धेरै अवसर सिर्जना भइरहेको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी बताउँछन् । ‘सडक सञ्जाल जोडिएपछि करिडोरमा पर्ने जिल्लाका अधिकांश गाउँ बजारमा परिणत भएका छन्,’ भारीले भने, ‘विभिन्न स्थानमा सडक पुगेपछि व्यापार केन्द्रमा परिणत भएका छन् । जिल्लाको व्यावसायिक सम्भावना फराकिलो भएको छ ।’ व्यापारिक मार्गका रूपमा करिडोरलाई विकास गरी विभिन्न ठाउँमा बस्ती बसाइ बाग्लुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने उनले बताए ।

करिडोरले प्रदेश ४ र ५ का ६ वटा जिल्लाका १० लाख ३० हजार जनतालाई सडक सञ्जालमा जोड्नेछ ।

रोजगारी र कृषिको बजार बढ्दो
पहिले दैनिक गुजारा चलाउन कठिन हुने करिडोर क्षेत्रका सर्वसाधारण अहिले व्यवसायी भएका छन् । जिल्लाका पुराना बजारमा भन्दा करिडोर बनेपछि बसेका नयाँ र सडकछेउमा बढी व्यापार हुन थालेको व्यापारीहरू बताउँछन् । करिडोरको ट्र्याक खुलेसँगै यस क्षेत्रमा रोजगारीको सम्भावना देखेर विदेश जाने र रोजगारीका लागि सहर धाउने गाउँमै फर्किन थालेका छन् । व्यावसायिक रूपमा गाई, बाख्रापालन, कुखुरापालन, तरकारी खेती गर्ने बढेका छन् । ‘गाउँमै सडकको पहुँचले रोजगारीका धेरै सम्भावना खुलेको छ,’ जैमिनी ७ जैदीका विष्णुराज पौडेलले भने, ‘अहिले धेरैलाई आफ्नै ठाउँमा केही काम गरौँ भन्ने सोच जागेको छ ।’ यातायातको सुविधाले कच्चा पदार्थ र तयारी वस्तु ढुवानीसमेत सहज भएको छ ।

गाउँमा उत्पादन भएका तरकारीलगायत कृषिउपजले बजार पाउन थालेका छन् । सहरबाट आयात मात्र नभएर निर्यातसमेत भइरहेको छ । ‘सहर बजारबाट मात्र एकहोरो आयातको अवस्थामा सुधार आउने सम्भावना बलियो बन्न थालेको छ,’ जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज शर्माले भने, ‘स्थानीय कृषिउपज बिक्री, पर्यटन प्रवद्र्धन, आयस्तरमा सुधार, व्यावसायिक सोचको विकासमा करिडोरले सकारात्मक उभार ल्याएको छ ।’

बाग्लुङबाट बुटवल ४ घन्टामै
करिडोरले बाग्लुङबाट बुटवलसम्मको यात्रालाई छोटो बनाएको छ । पोखरा–मुग्लिङ–नारायणगढ र स्याङ्जा–पाल्पा हुँदै बुटवल पुग्न गाडीमा झन्डै १२ घन्टा लाग्ने जिल्लाको दक्षिण क्षेत्रका बासिन्दा अब चार घन्टामै बुटवल पुग्ने भएका छन् । करिडोरले मुख्य सडक सञ्जालबाट वञ्चित जैमिनी ८ छिस्तीलाई सडक सञ्जालसँग जोडेको छ । त्यसैगरी जैदी, बिनामारे, अर्जेवा, कुस्मिसेरा, नारायणस्थान, अमलाचौरलगायतका दर्जनभन्दा बढी स्थानलाई सुगमसमेत बनाएको छ । करिडोरमा बाग्लुङको कुस्मिसेरादेखि बुटवल हुँदै सुनौलीसम्म सीधा बस सञ्चालनमा आएका छन् । गुल्मीको रिडीदेखि पुर्तीघाटसम्मको ट्र्याक खुलेपछि बाग्लुङ, पर्वत, स्याङ्जा, गुल्मीका बासिन्दाको दैनिकीसमेत फेरिन थालेको छ ।

करिडोरका कारण आएको परिवर्तनले स्थानीयसमेत दंग छन् । बाग्लुङको जैमिनी–५ बिनामारेका ७० वर्षे देवीदत्त पौडेल यति छिटो आएको परिवर्तन अहिले सपनाजस्तो लाग्छ । उनले आफ्नै घरनजिकबाट कालीगण्डकी करिडोर जान्छ र मोटर गुड्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।

बाग्लुङ–रिडी खण्डलाई थप ६० करोड आवश्यक
०३९ देखि करिडोरको ट्र्याक खोल्न सुरु भएको थियो । लामो समयसम्म कामै नभई अल्झिएको करिडोरको बाग्लुङदेखि रिडीसम्मको ८० किमि सेनाले गत असोजमा ट्र्याक खोलेको हो । करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने, ‘तीन दशकदेखि अलमलमा परेको ट्र्याक तीन वर्षमै खोलेर करिडोर निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।’ करिडोर निर्माणका लागि करिब ८८ करोड रुपैयाँ खर्चिएको छ । सो खण्डमा केही स्थानमा बेलिब्रिजसमेत निर्माण सम्पन्न भएका छन् । १५ करोडको लागतमा ५ वटा बेलिब्रिज र २ वटा काठेपुल निर्माण सम्पन्न भएको भट्टराईले बताए । अहिले करिडोरको ८ मिटर चौडाइ रहेको छ । बाग्लुङको मालढुंगादेखि गुल्मीको रिडीसम्मको सडकलाई थप स्तरोन्नति गरी १० मिटर चौडाइको बनाउने योजना रहेको छ । स्तरोन्नतिका लागि झन्डै ६० करोड रुपैयाँ थप आवश्यक पर्ने भट्टराईले बताए ।

२२ अर्ब लागत
२२ अर्ब रुपैयाँ लागत अनुमान गर्दै सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर ०५९ देखि निर्माण सुरु गरेको थियो । त्यतिवेला २० वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । योजनाअनुसार आगामी पाँच वर्षभित्र करिडोरको जोमसोम–कोरला खण्डमा ग्राभेल र बाँकीमा पिच सम्पन्न हुँदै छ । यो करिडोर सम्पन्न भएपछि प्रदेश ४ र ५ का ६ जिल्लाका दुर्गम क्षेत्रमा समेत यातायात सुविधा हुनेछ । यो सडकले हिमालदेखि पहाड र तराई हुँदै व्यापार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

धार्मिक पर्यटनका लागि समेत महत्वपूर्ण
करिडोरले धेरै धार्मिक क्षेत्रलाई समेत जोडेको छ । यसअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पुर्तीघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बाग्लुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन सुरु गरिसकेका छन् । कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम मानिएको छ । हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै भगवान् शिवको तपोभूमि कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटनको सम्भावनासमेत यसले जोड्नेछ । लुम्बिनी पुग्ने पर्यटकलाई मुक्तिनाथ र मुक्तिनाथ जानेलाई लुम्बिनी पुर्‍याउन यो करिडोर राम्रो विकल्प हुनेछ । हिन्दू र बौद्ध धर्मावलम्बीले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन् ।

हिमालदेखि भारतको त्रिवेणीसम्म नुन बोक्ने प्राचीन रेशम मार्गमा यो करिडोर निर्माण भइरहेकाले यसले ऐतिहासिक महत्व राख्ने सरोकारवालाहरू बताउँछन् ।

सहरीकरण र बस्ती विकास
करिडोर सहरीकरण र बस्ती विकासका लागि नयाँ गन्तव्य बनेको छ । कालीगण्डकी किनार वारिपारि गरी १५ ठाउँमा नयाँ बस्ती विकास गरेर पहाडी र तराई क्षेत्रमा एक लाख ५० हजार धरधुरीलाई नयाँ बस्तीमा राख्न सकिने सरोकारवाला बताउँछन् । करिडोर सञ्चालन भएसँगै बाग्लुङको बलेवामा रहेको विमानस्थल पनि सञ्चालनमा आउने भएको छ । विभिन्न वायुसेवा निगमले उडान सञ्चालनका लागि बाग्लुङ नगरपालिकासँग सम्झौतासमेत गरेका छन् । आगामी चैतको दोस्रोे साता विमानस्थल सञ्चालनमा आउने नगर प्रमुख जनकराज पौडेलले बताए ।

करिडोरअन्तर्गत बाग्लुङको बलेवा, अर्जेवाको सुम्सादेखि जैदी, छिस्ती, पर्वतको फलेबास, बाच्छा, रानीपानी, बर्राचौर, गुल्मीको अर्वेणी, अस्लेवा, स्याङ्जाको मिर्मी, बिर्घा, चापाकोट, पाल्पाको रामपुर, अर्गली र नवलपरासीको गुग्लिङटारदेखि कुस्टारसम्म नयाँ बस्ती विकास गर्न सकिने विज्ञको भनाइ छ ।

कालीगण्डकी करिडोरका रूपमा काम सुरु हुनुपूर्व नै सरकारले व्यापारिक पारवहन मार्गका रूपमा देशभर ८ वटा उत्तर दक्षिण करिडोरको परिकल्पना गरेको थियो । मुस्ताङको कोरलाबाट बेनी, कुश्मा, मिर्मी, पाल्पा हुँदै रुपन्देहीको बेलहिया जोड्ने योजना थियो । पछि कालीगण्डकी करिडोर योजना बनेपछि राम्दी पुल, गुल्मीबाट कालीगण्डकी किनारैकिनार पाल्पा हुँदै बुटवल झरेर भारतको सुनौली पुग्न सकिने गरी काम अघि बढाइएको छ ।

करिडोरमा विविधता
करिडोरआसपासमा नेपालमा भएका प्रायः सबै संस्कृति र जातजातिको बसोवास छ । ‘जलस्रोत, पर्यटन, जैविक विविधता र कृषि नै करिडोर निर्माणपछिका विकासका सूचक हुन्,’ स्थानीयको जीवनस्तर उकास्न यो मार्ग कोसेढुंगा साबित हुने पूर्वसांसद प्रकाश शर्मा पौडेल बताउँछन् । करिडोरले सर्वसाधारणदेखि समग्र देशलाई नै फाइदा हुने पौडेलको भनाइ छ । यो सडकमा पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गसँग पनि जोडिने हुँदा आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिएको छ । विभिन्न क्षेत्रमा रहेका फलामखानी, सिसाखानी र कालीगण्डकी किनारमा पाइने सुुनबाट धेरै फाइदा लिन सकिनेछ ।

ट्र्याक खुल्न ४५ किमि बाँकी
सुनौलीदेखि कोरलासम्मको खण्डमा ४५ किमि ट्र्याक खोल्न बाँकी रहेको छ । पाल्पामा ३२ र मालढुंगा–बेनीसम्मको १३ किमि ट्र्याक खुल्न बाँकी रहेको छ । यो खण्डमा ट्र्याक खोल्ने विषयमा नीतिगत निर्णय नै भएको छैन ।

कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बाग्लुङसम्म ९५ किमि, बाग्लुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोरअन्तर्गत पर्छ । यीमध्ये बाग्लुङ र गुल्मी खण्डमा ८० किमि ट्र्याक नेपाली सेनाले नै खोलेको हो । करिब ३ सय २५ किमि अहिले सवारी सञ्चालनमा छन् । कोरलादेखि १७ किमि उत्तरमा चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ ।

तपाईको प्रतिक्रिया