कवि अजम्बरध्वजलाई ‘न्यू होराइजन साहित्य सम्मान’ - Naya Patrika
eNaya Patrika
  • ePaper

कवि अजम्बरध्वजलाई ‘न्यू होराइजन साहित्य सम्मान’

काव्य (कविता) विधाका अग्रज साहित्यकार अजम्बरध्वज खातीलाई ‘न्यू होराइजन साहित्य सम्मान’ प्रदान गरिएको छ ।

यस क्षेत्रको प्रतिष्ठित अग्रणी शैक्षिक संस्था न्यू होराइजन मावि बुटवल मातहतको न्यू होराइजन साहित्य परिषद्द्वारा पहिलोपटक आयोजित प्रदेशस्तरीय साहित्य सम्मेलनमा खातीलाई नगद २० हजार १ सय एकावन्न रुपैयां नगद र ताम्रपत्रसहित सम्मान गरिएको हो ।

न्यू होराइजनमा आयोजित कार्यक्रममा कवि खातीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. अमर गिरी र संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले दोसल्ला ओढाई ताम्रपत्र र नगद राशी सहित सम्मान गरे ।

पाल्पा तानसेनको गैरागाउँंमा १९९२ सालमा जन्मेका ८२ वर्षिय खाती लामो समय यता बुटवलमा रहेर साहित्य साधनामा क्रियाशील छन् ।

कविता लेखनमा महाकाब्य समेत लेखेका खाती प्रगतिवादी, लोक लय र क्रान्तिकारी धारका स्रष्टा हुन् । बयोबृद्ध उमेरमा पनि युवा पुस्ताका स्रष्टाको जस्तै नवीन सिर्जना हुनु खातीको विशेषता मानिन्छ ।

कक्षा ५ मा पढ्दा २०१२ सालमा नै उनले ‘सम्झनामा’ कविता लेखेका थिए । २०१३ सालदेखि औचिारिकरुपमा कविता लेख्न शुरु गरेका खातीका एक दर्जन कृति प्रकाशित छन् ।

साहित्य सम्मेलन र स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ डा. अमर गिरीले साहित्यले समाज रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले राज्यले साहित्य र साहित्यकारलाई उपेक्षा गरेको गुनासो गर्दै अब प्रदेश सरकारले सम्मान गर्नुपर्ने बताए ।

उनले बदलिंदो समय अनुसार साहित्य पनि परिमार्जित हुनुपर्ने भन्दै साहित्यका माध्यमबाटै सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरण गर्न सकिने डा. गिरीले बताए ।

न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले लामो समयसम्म निरन्तर साहित्य क्षेत्रमा लागेर समाजलाई योगदान पु-याएको मूल्याङकन गरी कवि खातीलाई सम्मान प्रदान गरिएको उल्लेख गरे ।

सो अवसरमा प्रदेश नंं ५ का १२ जिल्ला सहित स्याङजा, तनहुं, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाका गरी सयजना भन्दा बढी स्रष्टाहरुले कविता, गजल, शायरी र क्यारिकेचर प्रस्तुत गरेका थिए ।

स्रष्टा सम्मानका लागि साहित्यकार डा. मुरारि पराजुलीसहित संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, साहित्यकार समेत रहेका पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दीपक ज्ञवाली, न्यू होराइजन साहित्य परिषद्का अध्यक्ष हरिप्रसाद पौडेल र सचिव मिनबहादुर राना रहेको एक समिति नै बनाइएको सचिव मिनबहादुर रानाले बताए ।

कार्यक्रममा प्राध्यापक डा. हिरण्यलाल ज्ञवालीले स्रष्टा खातीको साहित्यीक जीवनीबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया